कविता: "चोट"  

२ पौष २०७४

banner

चोटबाट नै पलाउछन् सम्भावनाहरु
यदि जराले माटो छाडेको छैन भने
ठक्कर पछि नै खुल्छ चेतनाका ढक्कनहरु
यदि ईमान र ईख हारेको छैन भने । 
 
नियती भोग्नु धर्म हो हाम्रो
चोखो नियत कर्म हो राम्रो
सहनेहरु हार्दैनन् कहिले 
अहंकारी र असहिष्णु हार्छन बरु ।
 
माया त केवल भिक्षा हो 
पाउन्जेल सम्मलाई न्यानो हो
चोट नै जीवनको हरेक पलमा 
हिड्न सिकाउने शिक्षा हो ।
 
नरोकियोस् हिम्मतिला पाईलाहरु  
नथाकोस् सकारात्मक सोंचहरु
थाकोस् बरु ति चोट दिने 
कुँडा कर्कट खोटहरु ।
 
जिन्दगी त पाठशाला हो 
बाँचुन्जेल सबथोक सिक्नुपर्छ 
जिउंदो मान्छे बाँच्ने हो भने 
चोटमा पनि मुस्कुराउनु पर्छ । 
 
मरेर जाला यो हाडछाला 
आत्मा त कहिले मर्दैन 
पलाउछ संभावना चोटमा सधै
जराले जबसम्म छाड्दैन ।

- ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »