याद 

६ पौष २०७४

banner

•कविता-

-रेखा पन्त

गैरी खेतको रोपाइँ 
जमदार बाको मेला
उखेलेर धानको बिउ 
झमझम पानीको वर्षा
वर्षासंगै
सुमधुर आवाजमा गाएको असारे गित 
रिमी र झिमी पानी है पर्यो असारे मासैमा
कोइलीले कागको फुल चोरे झैँ मौका छोपी छोपी रोपाहरलाई   
हिलो छ्याप्ने लाठेहरु 
तिनै लाठे मध्यको एक उनी !!

खेतको आलीमा बसेर  
निथ्रुक्क भिजेको शरीर   
खाइन्थ्यो खाजा 
एउटै पछेउरीमा थापेर 
झिकेर पालै पालो    
मगमग बास्ना आउने 
दारको ठेकीमा जमेको एकराते दही
ढिकीमा कुटेको चिउरा 
तामाको अचारको साथ   
जमदारनी आमाको हात 
प्रत्यक गाँसमा जुधिरहन्थे नजर 
उनको  मेरो  !!

छुट्टीको दिन
खोलामा पौडी खेल्दै  
बालुवामा बनाएका 
सुन्दर स–साना घरहरु 
सानो घरभित्र
झनै सानासाना 
बनावटी 
ढुंगाको दुलहा–दुलही 
बालुवाको भतेर 
जन्तीमा जम्मा दुइजना 
म र उनि  !! 


बनपाखामा 
दाउरा घाँस 
सालको पात बजाउँदै 
सुसेल्दै 
रनबन घन्किने गरि गाएका गीतहरु 
कलकल बगेका स्वच्छ मूलको पानी 
अन्जुलीमा उबाएर मेटिएको 
तिर्खा
भोक
थकान 
घाँसको भारी होस् या मनको भारी 
बिसाउन पुग्छ डाँडाको चौतारी 
सिरसिर बतासले छिनमै मेटिने थकान 
तल दोबाटोमा देखिने 
भरियाको लर्को 
चौतारी पेटीमा बिछ्याएका 
सेता सेता छपनी 
छपनिमा खेलिने 
बागचाल बुद्दिचाल 
खेलको प्रतिसपर्धामा 
  उनि र म !!

गोधुली साँझको संकेत गथ्र्यो  
झ्याउँ झ्याउँ झ्याउँकिरीले 
लाहुरे बाको घरमा बसेको रोधी 
जोर मादलको घिन्तांग घिन्तांग 
मंसिरको सोमबार लाग्ने झ्याल्ला भूमे थान 
जाडोको मौसममा एउटा पछेउरी
काफी थियो दुइजनालाई 
ढोडेनी बजारमा लाग्ने 
एकादशी मेला
किनेर खाएको 
सुन्तला बदाम 
फूलैफूलको डोली 
भजन गाउँदै 
दरौदी नदीमा टाँगेको फूलकै तोरण
फूलका गुच्छा नदीमा बगाउँदै
मुस्कुराउने 
उनी र म   !!

भनौला कुनै दिन भन्दा भन्दै
मनभरी उकुसमुकुस भएर बसेका 
प्रेमका अंकुराहरु ब्यक्त गर्न 
नसक्दा 
दिन बिते,
महिना बिते  
ऋतु फेरिए,
भित्तामा झुन्ड्याएको पात्रो फेरियो  
कतै उसैले पो भन्छ कि भन्ने आशा गर्दा गर्दै
समयले नेटो काट्यो 
अहिले लाग्छ 
मन दरिलो बनाएर उसकै सामु 
आफ्नो प्रेम ब्यक्त गरौँ  
तर न त्यो समय आउँछ फर्केर 
न उही मान्छे !!

(गोरखा, हालः ईजरायल)

Leave a reply

HTML Tags are not supported

Post My Comment »