पोखरामा सडक महोत्सव हुँदै

९ पौष २०७४

banner

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा १९ औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले यही पुस १३ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक संस्थाका अनुसार स्वदेशी खानाका परिकारका साथमा सांस्कृतिक रहनसहनको प्रदर्शन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति तथा महोत्सव तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव पोखराको मुख्य पर्यटकीयस्थल शहीद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किमी क्षेत्रमा आयोजना गरिने संयोजक गुरुङले बताए । पोखराका रेस्टुरेन्ट व्यवसायीले सडकमै विभिन्न खानाका परिकार पस्कने हुँदा महोत्सवबाट समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुग्ने उनको विश्वास छ ।

पत्रकार सम्मेलनमा बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, रेबानका अध्यक्ष प्रमोदकुमार जैसवाललगायतले आन्तरिक तथा विदेशी पर्यटक आकर्षणका लागि महोत्सव उपयोगी हुने बताए । महोत्सवको मुख्य आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकार, नेपालका सात प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । त्यसैगरी भारत, चीन, जापान र दक्षिण कोरियाका सांस्कृतिक प्रदर्शनी समेत प्रदर्शन गरिनेछ । रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »