नेपाली साहित्य, भाषा र हाम्रो विडम्बना

२१ पौष २०७४

banner

  • विकास थापा

हामीले हाम्रै भएको उचाइ पनि छाम्ने सकेनौँ । हामीले कहिल्यै हाम्रै खुबीलाई पनि नाप्न सकेनौँ । हामीले हाम्रै महान् कवि र साहित्यकारहरूको बारेमा पनि लेख्न सकेनौँ। प्रचारप्रसार गर्न सकेनौँ । हामी यत्रो समयसम्म दीनहीन भएर केही नभए जस्तो, केही नगरेजस्तो दमित स्वर र आवाज बोकेर बाँचिरह्यौँ, हिँडिरह्यौँ, शिर झुकाइरह्यौँ हामीसँग सबैथोक छ र थियो। तर, हामीले कहिल्यै न त चिन्न सक्यौँ न त चिनाउन नै सक्यौँ चिनाउनलाई त पहिला आफूले चिन्न र जान्न पनि त सक्नु पर्यो। 

हामी आफैँमा भएको आफ्नै खुबीलाई विश्वसामु देखाउन पनि किन हिच्किचायौँ ?  हामीले आफ्नै प्रसिद्धिको लागि पनि अन्तर्राष्ट्रिय साहित्य जगतको अगाडि केही बोल्न पनि सकेनौँ र केही अझै गर्न सकेका छैनौँ । के हामीसँग बोल्नको लागि, गर्व गर्नको लागि केही नभएरै हो त ? के विश्वस्तरको साहित्य हाम्रा पूर्वज साहित्यकारहरूले नलेखेकै हुन् त ? त्यो त अवश्य पनि होइन। हामीले हाम्रै खुबीको उचाइलाई नाप्न नसकेको र चिन्न नसकेको मात्र हो। 

नोबेल पुरुस्कार पाएको साहित्य मात्र विश्वको उच्च साहित्य हो भन्ने जुन भ्रम हामीले पालेर बसेका छौँ त्यो नै हाम्रो सबभन्दा ठूलो गलत बुझाइ हो । गलत मान्यता हो । गलत प्रवृत्ति हो । गलत मानसिकता हो । यो मानसिकताले हामीलाई सधैँ पछाडि धकेलिरहेको छ र हुनेछ । कुनै एउटा पुस्तकले नोबल पुरस्कार पाउँदैमा त्यो साहित्य नै महान र उच्च कदापि हुँदैन । विश्व साहित्यको गुणस्तरीयताको मापन नोबेल पुरस्कार मात्र हो भनी धारणा राख्नु गलत दृष्टिकोण हो। नेपाली साहित्यको इतिहास त्यति लामो त छैन । राणाकालमा राणाहरूको आँखा छलेर लेख्नुपर्ने बाध्यता । लेखी हाले पनि उनीहरूकै चाकरी र गुणगानमा नेपाली साहित्य सीमित र साँगुरिएको थियो । वि. सं. २०४६ साल भन्दा अघिसम्म पनि दरबार र पन्चायत विरूद्ध लेख्यो कि भनी छाप्नुभन्दा अगाडि केस्राकेस्रा हेरेर मात्र छाप्ने अनुमति हुन्थ्यो । अर्को कुरा अहिलेको जस्तो छाप्नको लागि सहज परिस्थिति, पढ्ने पाठक र छापाखाना पनि थिएनन् । यसले गर्दा पनि हाम्रो भाषासाहित्यको अभिवृद्धि जुन रूपले हुनुपर्ने थियो त्यसरी हुन सकेन, पाएन पनि । वि.सं. २०४६ मा प्रजातन्त्र आएपछि लेख्न र छाप्नको लागि सहज परिस्थिति बन्यो तर सबैभन्दा बढी आक्रमण नेपाली भाषा र साहित्यमाथि नै भयो । यसले गर्दा दिनप्रतिदिन हाम्रो भाषासाहित्य पनि खुम्चँदै गयो र यो क्रम जारी पनि छ । कुनै पनि देश सिध्याउनुअघि पहिला भाषा, साहित्य र संस्कृतिमाथि आक्रमण हुन्छ। 

यदि यी तीन चीजलाई सिध्याइदिने हो भने त्यो देशको अस्मिता र परिचय समाप्त हुन धेरै बेर लाग्दैन । पछिल्ला समयमा पटकपटक नेपाली भाषासाहित्यमाथि अनेकौँ तरिकाले आक्रमण गर्ने प्रयास जारी छ । तसर्थ, पनि हामीले हाम्रो भाषासाहित्यलाई जोगाउन एकजुट हुन जरुरी छ ।

भाषा यो कुनै देशको साँघुरो राजनीतिक घेरामा मात्र सीमित हुने विषयवस्तु पनि होइन । हाल संसारभरि नेपालीभाषी मानिसहरू कति छन् त्यसको आधिकारिक तथ्याड्क त कसैसँग छैन । नेपाली भाषीहरू नेपालबाहेक ठूलो संख्यामा भारत त्यसपछि बर्मा, भुटान, थाइल्याण्डलगायत देशमा बसोबास गरिआएका छन् र अहिले संसारका विभिन्न विकसित मुलुकमा समेत पुगेका छन् र आफ्नो भाषासाहित्यलाई मुटुभरि बोकेर हिँडिरहेका छन् । आफ्नो भाषासाहित्य जोगाउन नेपाल बाहिरका देशमा पनि तल्लीन भएर लागि परिरहेका छन् । जब भाषा लोप हुन्छ आफ्नो पहिचान र अस्तित्व पनि लोप हुन्छ भन्ने कुरा अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत विकसित देशमा बसोबास गर्ने नेपालीभाषीहरूले भाषाको दीर्घकालीन महत्त्वलाई बुझेर नै भाषा बचाउने अभियानमा तल्लीन छन् ।

वर्तमान समयमा नेपाली साहित्य खस्किएको हो । नलेखिएको होइन । हामीले हाम्रा अग्रजहरूले हामीलाई दिएका हाम्रा साहित्यलाई अध्ययन गर्ने, चिन्तन मनन् गर्ने र हाम्रो साहित्यको स्तरको बारेमा पनि ख्याल गर्न सकेनौँ । हामीले अहिले हजारौँ संख्यामा कवि र साहित्यकार त जन्मायौँ तर गुणस्तरीयता जन्माउन सकेनौँ । सस्ता र प्रचारबाजी साहित्य बढी लेखिए र छापिए । साहित्य कसैलाई गाली गर्ने, हेप्ने, होच्चाउने माध्यम र साधन बनायौँ ।

कविताभित्र प्रेम लेखिनु पथ्र्यो, दर्शन लेखिनु पथ्र्यो, चिन्तन गरिनु पथ्र्यो, मुक्ति र चेतनाका कुरा लेखिनु पथ्र्यो, उत्साह, साहस लेखिनु पथ्र्यो। 

 

दमित आवाजहरूलाई बुलन्द पारिनु पथ्र्यो । कवि तथा साहित्यकारहरू स्तरीयताको कसीमा आफू पटकपटक जाँचिएर मात्र पुस्तक निकाल्नु पथ्र्यो तर त्यस्तो स्तर मापनको कुनै मापदण्ड नै बन्न सकेन । जसले मेडियालाई प्रभाव र प्रयोग गर्न सक्यो ऊ नै स्तरीय नलेखे पनि मेडियाभरि छाउन सफल भयोजसले गर्दा राम्रो पछाडि पर्यो र नराम्रो अगाडि आयो। जो स्तरीय लेख्न सके पनि मेडियासम्म आफ्नो पहुँच र सामथ्र्य बिस्तार गर्न सकेनन् उनीहरू सधैँ पछाडि परे। अब हामीले लेख्नुभन्दा अगाडि गहिरो अध्ययन र चिन्तनमा डुब्नु जरुरी छ। अनि मात्र साहित्यमा स्तरीय ढंगले कलम चलाउन सकिन्छ।  अहिले पछिल्लो समयमा गायक, कवि र साहित्यकार टोलैपिच्छे एकएक जना भेटिन्छन् तर स्तरीय र गुणस्तरीयता नाप्यो भन्ने शून्य । अब हाम्रो साहित्यले चाल्ने पाइला संख्यात्मक मात्र हुनु हुँदैन गुणात्मकता हुन जरुरी छ । यो स्तरको साहित्य लेखनले भोलि हामीलाई कहाँ पुर्याउला ? यो सबैको लागि सोचनीय विषय हो ।

जहिले सम्म हामी मौसेमे लेखक र साहित्यकार मात्र बनिरहन्छौ हाम्रो साहित्यको उच्चाई कहिल्यै माथि उठ्दैन र हाम्रो शिर पनि ।  दोस्रो हामीले हाम्रो भाषामाथि भएको चौतर्फि  आक्रमण ,अपमान र अराजगकतालाई तुरुन्तै रोक्न जरुरी छ । केही बिदेँशी रकममा किनिएका नेपाली भाषा साहित्यका बशिष्ट प्राध्यापकहरू समेत नेपाली भाषा सिध्याउन तल्लिन भएर लागी परिरहेका छन् । जुन षड्यन्त्रलाई हामीले समयमै बुझ्न जरुरी छ । भाषा सिध्याएर भोलि कसैको पनि पहिचान बाँच्दैन र रहँदैन पनि । यो बुझि बुझि पनि बुझ पचाएर कसैको उक्साहटमा आँखा चिम्लिरहेका छन् । हामीले पहिचान जोगाउन पनि भाषा साहित्य जोगाउन जरुरी छ ।  भाषाको बहस अव मेची कालि भित्र मात्र सिमित छैन । यो जात ,त्यो जात ,वर्ग,लिड्ग,सम्प्रदाय भित्रको मात्र बहस पनि होइन यो । अव फराकिलो सोच र फराकिलो दृष्टि राखेर अगाडी बढ्न  जरुरी छ । नेपाली भाषाको बिषयलाई लिएर नेपाल भित्रै पनि बिबाद जन्माउनु यो निक्कै दुखद कुरा हो ।  राष्ट्र भाषा भनेको आमा हो । जसले गर्दा हामी भाषाको माध्याबाट एकअर्का सँग जोडिन पाएका छौ । पाईराख्ने छौ ।

हामीले पछिल्लो समयमा नेपाली साहित्यमा देवकोटाले सोचेको चेतनाको उचाइलाई समेत छाम्न सकेनौँ । त्यसलाई हामीले आत्मबोध गर्न जरुरी छ । के राख्नु उद्देश्य  “ऊँडी छुनु चन्द्र एक“ देवकोटाले त्यसै भनेका थिएनन् । हामीले विशुद्ध साहित्यलाई पनि जात, लिंग र वर्णको आधारमा हेर्यौँ । विभाजन गर्यौँ । हाम्रो चिन्तन गर्ने शैली ठीक छैन । हामी माखपित्ते हृदय र त्यही प्रकारको दर्शन, सोचाइ, चिन्तन बोकेर हिँड्यौँ र हिँडिरहेका छौँ आजसम्म । अन्य देशमा हेर्दा आफ्ना देशका साहित्यकारहरूलाई देशकै गहना मानेर सम्मान, इज्जत गर्छन् । भाषाको पनि त्यत्तिकै सम्मान, इज्जत र गरिमा छ तर हाम्रोमा त्यो परिपाटीको विकास अझै हुन सकेन । भए पनि पर्याप्त छैन। विडम्बना हामीले हाम्रा र राम्राको पनि सम्मान र इज्जत गर्न सकेनौँ। हामी अब नेपाली साहित्यलाई नयाँ ढंगले सोच्न जरुरी छ । विडम्बना र परिस्थितिलाई मात्र अब हामीले शक्तिशाली बनाउनु हुँदैन । हामी हाम्रो साहित्य उच्चस्तरको बनाएर विश्व बजारमा आफ्ना दरिलो र गर्विलो पाइला अगाडि बढाउन निकै ढिला भइसकेको छ । विश्व बजार हामीलाई सधैँ पर्खिरहने तयारीमा छैन । हामीले कुराभन्दा काम धेरै गर्न जरुरी छ। प्रचारमुखीभन्दा पनि साहित्य लेखनका हरेक विधालाई गुणात्मक बनाउन जरुरी छ । साहित्यका सबै विधा उत्तिकै महत्त्वपूर्ण छन्। साहित्यमा आफूले लेख्ने विधा राम्रो अर्काले लेखेको विधा चाहिँ नराम्रो भन्ने र मान्ने जुन एउटा गलत प्रवृत्ति छ यसलाई हामीले समयमै हटाउनु पर्छ ।  साहित्यको यो विधा ठीक र यो चाहिँ राम्रो यो नराम्रो भन्ने कहिल्यै हुँदैन । साहित्यका सबै विधा सधैँ उत्कृष्ट र समान महत्त्वका छन् ।

अहिले नेपालको विश्वविद्यालयको कुनै पनि स्तरको पाठ्क्रममा हाम्रै साहित्यकारहरूले लेखेको साहित्यहरू  हाम्रो लागि पठनीय छन् । अभाव छैन । यो हाम्रो अर्को सबल पक्ष हो । पछिल्लो समयमा नेपाली साहित्यमा आएको बाढी, पढ्ने बानीको विकास, नयाँनयाँ लेखकहरू थपिँदै जानु, प्रत्येक दिन नयाँ पुस्तकहरू छापिनु नेपाली साहित्यको लागि सकरात्मक पक्ष हो । यो पछिल्लो २७, २८ वर्षको समय अवधिमा साहित्य लेखन, छपाइ, प्रचारप्रसार, नयाँ पाठकहरू जुन किसिमले जन्मिए त्यो अतिनै खुसीको कुरा हो तर सन्तुष्टि गर्ने ठाउँ र विन्दु भने अवश्य पनि होइन। 

सरकारले नेपाली भाषा, नेपाली साहित्यको साथै देशभित्र बोलिने अन्य भाषा र ती भाषामा लेखिएका साहित्यहरूको कदरसम्म गर्न सकेको छैन । तसर्थ सरकारले यसको विकासको लागि थप कार्यक्रम र योजनाहरू अगाडि ल्याउन आवश्यक छ । राष्ट्रिय उचाइ प्राप्त गरेका साहित्यकारहरूलाई उनीहरूले साहित्यमा गरेको योगदान हेरेर राज्यले तलबभत्ताको व्यवस्था गर्न सके साहित्यको क्षेत्र थप आकर्षक बन्ने थियो । प्रज्ञाप्रतिष्ठानले पनि पहिले जसरी साहित्यको क्षेत्रमा उत्साहजनक ढंगले काम गर्न सकेको छैन । प्रज्ञाप्रतिष्ठानसमेत साहित्य नै नबुझेका राजनीतिक कार्यकर्ताहरू नियुक्ति गर्ने परिपाटीले गर्दा राजनीति गर्ने थलोमा परिणत हुँदै गइरहेको छ । नेपालका राजनीतिक पार्टीहरूले कुनै पनि साहित्यकारलाई शुद्ध साहित्यकार बनेर बाँच्न दिएकै छैनन् । आफ्नो पार्टीको झोला नबोकेसम्म ऊ जतिसुकै योग्य भए पनि उसले कुनै पनि अवसर नपाउने भएकोले साहित्यकारहरू इच्छाभन्दा पनि बाध्य बनेर राजनीति पार्टीको कार्यकर्ता बन्न विवश र निराश छन् । तसर्थ नेपाली साहित्यमा घुसेको यो राजनीति नेपाली साहित्यको लागि क्यानसररूपी रोग नै हो । त्यसै त नेपालमा अपहेलित बनेको साहित्यक्षेत्र राजनीतिक संक्रमण र हस्तक्षेपले अहिले झन् तहसनहस बन्न पुग्यो ।

एउटा साहित्यकार राजनीतिक पार्टीको कार्यकर्ता बनेपछि उसले विशुद्ध साहित्य सिर्जना कसरी गर्ला भन्ने गम्भीर प्रश्नहरू यहाँनिर उठिरहेका छन्, उठिरहने छन् । उसले आफ्नो पार्टीको दानापानी ओकल्ला वा साहित्य सिर्जना गर्ला रु त्यसैले अबको साहित्यिक बहस, अबको बौद्धिक क्रान्ति विशुद्ध गैरराजनीतिक हुनु जरुरी छ ।

राजनीतिरूपी क्यानसरले जहिलेसम्म यसलाई गाँज्छ नेपाली साहित्यको शिर ठाडो हुन अब गाह्रो छ । अर्को साहित्यमा स्तरीय लेखन, बजारीकरण र पाठक जन्माउन थप कार्यक्रमहरू अगाडि ल्याउनु जरुरी छ । नेपाली साहित्य अहिले यी तिनै पक्षमा चुकिरहेको छ। 

 

दूरदराज र विकट गाउँबस्तीहरूमा पनि हाम्रो साहित्यलाई पुर्याउन सकिएको छैन । कम्तीमा एक गाउँपालिकामा २, ४ वटा लाइब्रेरीको स्थापना गर्न सके र पाठ्य सामग्रीहरू उपलब्ध गराउन सके सुदूर बस्तीहरूमा पनि नेपाली साहित्य अवस्य पढिन्थ्यो र नयाँ पाठक र नयाँ साहित्यकारहरू अवश्य जन्मने थिए । यति भए मेची महाकालीभित्रका कुरा तर नेपाली भाषासाहित्य अब मेचीकालीको सीमाभित्र मात्र सीमित र साँघुरिएको छैन। नेपाली भाषीहरूको विश्वव्यापी बसाइँसराईसँगसँगै यसले विश्वव्यापी रुप धारण गरिसकेको छ । तसर्थ हामीले अबका योजना, अबको बहस, अबको बौद्धिक क्रान्ति विश्वव्यापी र नयाँ शिराबाट उठेर नयाँ ढंगले गर्न जरुरी छ । यसो गर्न सके हाम्रो भाषासाहित्य पक्कै पनि एक दिन विश्व स्तरको बन्ने छ।

(लेखक अहिले अमेरिकाको हेरिसवर्गमा बस्दै आएका छन्। )

Leave a reply

HTML Tags are not supported

Post My Comment »