एन आर एन अमेरिकाको अबको गन्तव्य कता ?

२३ पौष २०७४

banner

  • सर्बज्ञ वाग्ले

झण्डै आज भन्दा १५ बर्ष अगाडि सबै नेपालीका सावंत दु:खहरू साझा र समस्या सँग संगठित ढंड्गले संघर्ष गर्नु पर्छ भन्ने पबित्र उदेश्यको साथमा स्थापना हुन गएको संस्था थियो एनआरएनए । उच्च शिक्षा हासिल गर्ने ,नयाँ संभावना र अवसरका ढोकाहरू खोल्ने । प्राप्त नयाँ नयाँ अवसरहरूको सदुपयोग गरेर संसार भर बस्ने नेपालीहरूलाई आज एकै ठाउँमा ल्याउने सम्पर्क सुत्र ,दरिलो माध्यम र संगठित संस्था बनेको छ गैर आवासीय संघ। 

जब नेपालमा द्वन्दको आगो धपक्क बल्यो तव बलिया ,सामार्थवान ,पैसावाल धनी मानी भन्दा पनि निर्धा र निर्दोषहरू नै द्वन्द्धको मारमा बढी परे । देशमा चलिरहेका बिभिन्न उद्योग घन्दाहरू एक पछि अर्कों गर्दै लगातार बन्द हुन पुगे ।  यसको राप र तापले कसैलाई छोडेन । आफ्ना पाखुरा ,बल र जीवनका सुन्दर समय बेच्न वीर गोर्खाजको नामले संसारमा प्रख्यात बीरका सन्तानले गैचा ,फरूवा र हँसिया मात्रै चलाउन बेचिएनन् १८० को डिग्रीमा दन्केको आगो रूपी ज्वालामुखी मा ह्वात्तै हाम्फाल्न बाध्य र बिबश पनि भए । 

त्यतिमात्रै कहाँ हो र पढे लेखेका शिक्षित युवाहरू आफ्ना शैक्षिक प्रमाण पत्र बोकेर बिश्व बजारसम्म अनलाईन मार्फत सिधै आफ्नो योग्यताको उचित कदर माग्न थाले ।आज संसारमा नेपाली युवाहरूले जहाँ जहाँ टेकेका छन् त्यहाँ आफ्ना पौरखले आफ्नो मात्रै नाम नभई आफ्नो देश आफ्नो समाज र पूर्खाको शानलाई सगरमाथाको उचाईकै हाराहारीमा पुर्याउने जमर्को गरेका छन् । त्यही देखेर नै सन् २००३ मा हाम्रा एनआरएनएका अभियान्ताहरूले बिभिन्न ठाउँमा छरिएर बसेका बीर,साहसी,बौद्धिक,बलवान,सुर र वीर तथा धिर युवाहरूलाई अझ हौसला दिन एनआरएनए खोल्नु भएको हो भन्दा यी शब्द अतियुक्ति नहोला । 

यस्ता जोश र जाँगर भएका नेपालीहरूलाई एउटै डोरीमा बाँधेर त्यो बल वुद्धि ,पैसा तथा एकतालाई नेपाल र नेपाली सम्म सुख दु:खमा साथ र सहयोग पुर्याउन जन्मेको एनआरएनए आज दोबाटोमा किन अलमल्ल छ ? गम्भीर प्रश्न बिश्वभरका एनआरएनहरूको अगाडी तेर्सिएको छ ।

काम बढी गर्नु पर्ने हो की कुरा ? अझ अमेरिका जस्तो बिश्वकै शक्तिशाली मुलुकको एनआरएनको अबस्था त झन् दयनिय छ । अव यो दोष कसैमाथि थुपारेर कोहि पन्छिन मिल्दैन । दोष हामिहरू सबैको हो । अव पनि हाम्रा यी यावत गल्तिहरू समयमै सुधार गरेर अगाडि बढन ढिला गर्यौ र एनआरएन लाई राजनीति गर्ने थलो,प्रतिशोध साँध्ने मैदान बनायौ भने समयले पटक पटक माफ हामिलाई गर्ने छैन । 

आम मानिसहरूले आफ्नो पेट काटेर ,छाक काटेर पनि आपत विपत पर्दा मन खोलेर देशमा सहयोग गरेकै छन् । चाहे देशमा गएको महा भुकम्पमा किन नहोस ? चाहे तराइको बाढी पहाडको पैह्रो सबै सबैका दु:खमा सबैले हातेमालो गरेकै छन् । तसर्थ समस्या संस्था र संस्थानमा भन्दा पनि आम नेतृत्व पंक्तिमा हो रहेछ । हामी कहाँ निर चुकि रहेका छौ ? र आशातित काम गर्न सकिराखेका छैनौ ? मैले पनि एक कार्याकाल यसमा बसेर काम गरें तर हरेक निर्णयहरूमा एक्लो र बिबश बने । केही आफ्ना ब्याक्तिगत कमजोरि पनि थिए । जुन आज म आत्माआलोचन गर्दै छु । जुन कुराहरू संस्था रहँदा पनि मैले गर्न गराउन सकिन । 

विदेशमा आएर यसरी आफनो पसिना ,रगत र आँसु बगाएका वीर नेपाली युवाहरुले पठाएको रेमिट्यान्सले नै आज देशको अर्थतन्त्र चलायमान बनेको छ । यति हुँदा पनि न त सरकारले बैदेशिक रोजगारलाई सम्मानित र ब्याबस्थित बनाउन सके न त एनआरएनहरूले  नै ! बिदेशिएका नेपालीले त्यसै पठाएका छैनन् रेमिट्यान्स । दिन रात नसुतेर, एक मिनेट पनि फुर्सत नलिएर रात दिन घोटिएर आधा पेट खाई भ्याई नभ्याई घरमा २/४ पैसा पठाई रहेका छन् । त्यसैले प्राण र त्राण दिईरहेको छ देशको अर्थ तन्त्रलाई । 

अमेरिका जस्तो देशमा पनि कहाँ सजिलो छ डलर कमाउन र बचाउन् ? अपार्टमेन्टको खर्च ,बत्ती, पानी, ग्याँस, गाडीको किस्ता, खान लाउन, इन्सुरेन्स , औषधी मुलो आदी इत्यादि अत्यावश्यक खर्च टारेर जम्मा भएको थोरै पैसाले आफ्नो पेटमा पटुका बाँधेर लाखौ नेपाली दिनरात नभनि घोट्टिरहेका छन् । र पनि सहयोगका हातहरू अगाडि बढाई रहेका छन्। 

यहि बाट एनआरएनएले पनि प्राण पाईरहेको छ आज सम्म । समाज चलाउने ,संस्था अर्थात धर्मशाला चलाउने र यस्ता ठाउँको नेतृत्व लिने ब्याक्ति समाज र समुदाय प्रति उत्तरदायि हुन जरूरी छ । यस्ता संस्था चलाऊन कुनै छल कपट दाउपेच जानेका छली र कपटी सकुनी रुपी पासा पल्टाउन जान्ने मान्छे हुनु पर्छ भन्ने पनि होइन । संस्था चलाउन मनमा एउटा कुरा राख्ने मुखले अर्को कुरा बोल्ने हुनु पर्छ भन्ने पनि होइन | समाज चलाउने त केवल निस्वार्थ र सबैको भलाईमा आफ्नो भलाई देख्ने हुनु चाहि पक्कै पनि जरुरी छ । समाजमा लिन जाने होईन, समाजलाइ त अब म दिन्छु भनेर जाने हो । मलाई यो जीवनमा अब केही पनि चाँहिदैन । म समाज, संस्कार, र रितीरिवाज लाई सहि बाटोमा  लान सक्छु र आफु पनि सहि आचरणमा बस्छु भन्ने मान्छेले समाज चलाऊने हो । 

समाज चलाऊने एउटा नेत्रित्व गर्ने व्यक्ति खराब हुँदा अवश्य पनि त्यसको प्रभाव पुरै समाजले भोग्नु नै पर्छ । एउटा कुहिएको आलुले पुरै बोरा कुहाइ दिन्छ भन्ने संस्थामा पनि नियम लागु हुन्छ । समाजमा नेत्रित्व गर्ने मान्छेलाई सबैले हेरिरहेको हुन्छ । उसलाई सबैले चारै तिरवाट अध्यायन र अनुसन्धान गरिरहेका हुन्छन् । तसर्थ समाजलाई नेतृत्व गर्ने ब्याक्ति सजग र सतर्क बन्न जरूरी छ । तसर्थ एनआरएनएको अगुवा बन्छु भन्ने हरूले यो कुरालाई आत्मसात गर्नु जरुरी छ । 

एनआरएनए कै कुरा गर्दा एनआरएनए अमेरिका संसारकै सबै भन्दा ठुलो एनआरएन भए पनि विश्व सम्मेलनमा अमेरिकाको पहुँच कति दयनिय छ र थियो भन्ने कुरा केही समय अगाडी सम्पन्न भएको बिश्व सम्मेलनलाई हेरे पुग्छ । एनआरएन अमेरिका कमजोर र निर्णायक बन्न नसक्नुको प्रमुख कारण यो पनि अर्को हो । एनआरएनए अमेरिकामा भरखरै जीतेर लागेको अविर नपुछिंदै र लगाएको माला नसुक्दै भएको विश्व सम्मेलनमा कती नेताहरू त नेपाल जाँदै जानु भएन ।
    
एनआरएनए अमेरिकाले भूगोलको हिसावले,जनशक्तिको हिसावले र हरेक हिसावले आफ्नो एकतालाई मजवुत बनाउन सकेको भए पुरै विश्वको नेतृत्व लिन सक्थ्यो । एनआरएनए अमेरिकाले पुरै विश्वको नेतृत्व लिनु त परै जावस एनआरएनए अमेरिकावाट शुरूको काल देखि लागि परेका जुझारू उमेद्वारहरूले समेत हार्नुपर्यो ।

एनआरएन अमेरिका भित्रको घर झगडा ,द्वन्द्द ,स्वार्थ , राजनीति ,ब्याक्तिगत टकराव र एकजुट नहुनुले महत्व पूर्ण पदमा हामीले हार्नु पर्यो । तर अझै पनि कसैको घैटोमा घाम लागेको छैन । 

त्यसैले आँउदा दिनहरुमा एनआरएन अमेरिकाले आँफुलाई सच्च्याएर अगाडि बढनु पर्ने देखिन्छ | त्यती मात्रै होइन एनआरएन अमेरिकाले सिफारिस गरेर पठाएको आइसिसिको सदस्य र आरसिको सिफारिस मै फरक आयो भन्ने समाचार व्यापक रुपमा अमेरिकामा फैलियो र आइसिसिले दुबै लाई वाइपास गरेर आफ्नो निर्णय तेस्रो लाई गर्‍यो । यसले हामी अमेरिकावासी एनआरएनका साधारण सदस्य र शुभचिन्तकहरुलाई यो भन्दा ठूलो  लज्जाबोध तथा आत्मग्लानि अरू के हुन सक्ला ? 

(लेखक वाग्ले अहिले अमेरिकाको क्यालिफोर्नियामा रहदै आएका छन्।) 

Leave a reply

HTML Tags are not supported

Post My Comment »