प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बसेको मन्त्रिपरिषद् बैठक शहीद घोषणा गरेर सकियो

२८ पौष २०७४

banner

काठमाठौं। प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न भन्दै आज बसेको मन्त्रिपरिषद् बैठक १६ जनालाई शहीद घोषणा गरेर सकिएको छ । सरकारका मन्त्रीहरुले पटक पटक ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्छ’ भनिरहेका थिए । यही कारण आजको बैठकले यसको टुंगो लगाउने आशा गरिएको थियो । 

आजको मन्त्रिपरिषद् बैठकले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समूहले गरेको कार्र्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्वारा चलाइएको गोली लागि १६ जनाको मृत्यु भएको थियो । आजको बैठकबाट तिनै मृतकलाई शहीद घोषणा गरिएको हो । 

त्यसैगरी बैठकले २०७५ साल बैशाख १ गते देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । बैठकले लाइभस्टक सेन्टर इन्नोभेसन आयोजनाका लागि विश्व बैंकबाट झण्डै ८ अर्ब रुपैयाको ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल न्यायसेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई तोक्ने लगायत केही बढुवाका निर्णयहरु पनि गरेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »