भारतमा पनि प्रधानन्यायाधीश विवादमा, सर्वोच्चका ४ बरिष्ठ न्यायाधीशद्वारा महाअभियोगको माग

२८ पौष २०७४

banner

एजेन्सी। नेपालका प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा तानिएकै बेला भारतका प्रधानन्यायाधीश दीपक मिश्रा पनि उस्तै विवादमा तानिएका छन् । भारतको सर्वोच्च अदालतका ४ बरिष्ठ न्यायाधीशहरुले उनीविरुद्ध महाअभियोग लगाउन माग गरेका छन् । भारतीय सर्वोच्च अदालतको इतिहासमा बरिष्ठ न्यायाधीशले मिडियासँग यसरी सिधा कुरा गरेको यो पहिलो पटक भएको बताइएको छ । 

भारतीय सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश जे चेलामेश्वर, रंजन गोगोइ, मदन भीवराव लोकुर र कुरियन जोसफले शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतमा जे भइरहेको छ त्यो ठिक नभएको बताए । उनीहरुले भने ‘हामीलाई जे गलत भइरहेको छ भन्ने लागेको छ त्यो सबै प्रधानन्यायाधीश दीपक मिश्रालाई लेखेर दिएका छौं । अब प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने निर्णय देशले गर्नुपर्नेछ । 

रोचक त के भने यी न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई के विषयमा महाअभियोग लगाउनुपर्ने हो भन्ने खुलाएनन् । उनीहरुले सबै कुरा प्रधानन्यायाधीशलाई लेखेर दिएको मात्रै बताए । सर्वोच्च अदालतमा निकै गम्भीर कुरा भएको र यो सार्वजनिक गर्न नमिल्ने भएकोले उनीहरुले विषयवस्तु नखुलाएको अनुमान गरिएको छ । प्रधानन्यायाधीशले आफूहरुले लिखित रुपमा गरेको गुनासोलाई दबाउन सक्ने आशंका गरेर उनीहरुले मिडियालाई आफूहरुले पत्र दिएको मात्र बताइ दबाब सृजना गर्न खोजेको अनुमान गरिएको छ । 

न्यायाधीशहरुले मिडियालाई विषयवस्तु नबताए पनि प्रधानमन्त्रीलाई समेत यस विषयमा पत्र लेखेको हुन सक्ने सम्भावना बलियो छ । किनकि उनीहरुको पत्रकार सम्मेलनलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय कानुन मन्त्री रविशंकर प्रसादसँग बैठक गरेका थिए । न्यायाधशिहरुले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने अवस्था आउन सक्ने भन्द्र पत्रकार सम्मेलन गरे पनि विषयवस्तु नखुलाउँदा पूरै भारतमा हंगामा भएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »