देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे: सचिव भट्टराई

२८ पौष २०७४

banner

काठमाडौं। नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन्।’

साक्षात्कारमा बोल्दै नेता भट्टराईले भने,‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गर्नुभयो, देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्यो ।’

आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो। 

भट्टराईले अघि भने,‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन्, हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ, अनि हामी सरकार बनाउँछौं भन्दा किन यस्तो सौदावाजी ? आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस्।’ 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »