नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप: मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

२८ पौष २०७४

banner

धनगढी। रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी  ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ।

स्थानीय रंङ्गशालामा शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो। बीसौँ मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो।

छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो। खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए। विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए।

आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ।

जितपछि प्रतिक्रिया दिदै मनाङ मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीको समन्वय र रणनीतिका कारण जीत हासिल भएको बताए। रुपन्देही–११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले शुरुमै गोल खाँदा दवावमा परेर हार बेहोर्नुपरेको बताए।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »