मानसिक समस्याका बिरामीसँग परिवारले कस्तो भूमिका निभाउने ? 

२९ पौष २०७४

banner

मानसिक स्वास्थ्य र परिवारको सम्बन्ध पटक पटक चर्चा भएको विषय हो।  मानसिक रोगको प्रमुख उपचार भनेको माया प्रेम र आत्मियता नै हो।बिरामीको निको हुने प्रकियालार्इ पारिवारीक सहयोगले ठुलो प्रवाभ पार्ने पर्छ। यस्तो अवस्थामा परिवारका कुनै सदस्य कुनै प्रकारको मानसिक रोगबाट पीडित भएको अवस्था छ भने त्यो अवस्थामा परिवारले कस्तो भूमिका खेल्न सक्छ। यो विषय अत्यन्त महत्व पूर्ण हुन्छ। सिजोफेर्निया, बाइपोलर डिसअर्डर, मेनिया जस्ता गम्भीर मानसिक समस्याका बेला परिवारका सदस्य वा अरु कोहिले कस्तो व्यवहार गर्ने परिवार भित्र कसरी सन्तुलन व्यवहार गर्ने ? कति जिम्मेवारी दिने ? भन्ने विषय एउटा गम्भिर वहसको विषय हो। 

  • विजय ज्ञवाली 

यस सम्बन्धमा म मेरो एउटा अनुभव राख्न चाहन्छु। केही समय पहिले मलाई एक जना नवजात शिशुको आमाले सम्पर्क गरेकी थिइन। भर्खर अस्पतालबाट बच्चा सहित घर आएकी उनको प्रमुख समस्या भनेको उनको घरमा रहेकी दिदीको थियो ।

दिदी सिजोफेर्निया नामक मानशिक रोगबाट पीडित थिइन र उपचारको क्रममा थिइन। उनीबाट आफ्नो बच्चालार्इ कुनै हानी हुन्छ की भन्ने सम्बधमा उनले मलाई सम्पर्क गरेकी थिइन। सिजोफेर्नियाको उपचारमा रहेकी दीदीसँग आफ्नो बच्चालार्इ छोडेर कतै जानु कत्तिको सुरक्षित हुन्छ भन्ने जिज्ञासा मसँग राखेकी थिइन्। 

त्यस्तै अर्को एक घटनामा एक महिलाले बाइपोलर डिसअर्डरबाट पीडित आफ्नो केटा साथीसँग कस्तो सम्बन्ध राख्ने भन्ने सम्बन्धमा मसँग सल्लाह मागेकी थिइन । उनको चिन्ता त्यो समन्धलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने थियो । यी दुवै घटनामा बिरामीको परिवारलाई बिरामीको रोगको बारेमा ओरियनटेसनको आवश्यकता रहेको देखियो। बिरामीको परिवारलाइ रोगको बारेमा प्रयाप्त जानकारी नहुँदा यस्ता प्रकारका अप्ठारा पटक पटक पर्न सक्छन्। बिरामी प्रति प्रसस्त माया सद्भाव हुँदा हुँदै पनि यस्ता घटनामा परिवार र बिरामीबीच गहिरो खाडल बन्न सक्छ। तसर्थ यस्ता कुरामा परिवार सजक हुनुपर्छ । मानसिक बिरामी र परिवारबीचको अप्ठारोलाई कम गर्न परिवार अथवा प्रियजनहरुले निम्न कुरामा ध्यान दिनुपर्छ

१. रोगका बारेमा जानकारी राख्नु
परिवारका सदस्य या प्रियजनलाई कस्तो समस्या छ त्यसको बारेमा सबै भन्दा पहिला सही जानकारी आफुले राख्नु पर्छ। समस्या सामान्य किसिमको पनि हुन सक्छ अथवा कतिपय अवस्थामा जटिल पनि हुन सक्छ। त्यसैले आफन्तको रोगको बारेमा जानकारी राख्नु अत्यन्त जरुरी हुन्छ। विशेष गरि समस्याको चरण, लक्षणहरु , औषधिको साइड इफेक्ट , रोगको चरम अवस्था र यसबाट उत्पन्न हुन सक्ने परिस्थिति जस्ता विषयबस्तुमा बिज्ञबाट जानकारी लिइ प्रियजनका रोगका बारेमा सबै सूचना संकलन गर्नु पर्छ । 

२ बिरामी प्रतिको अपेक्षा र बिरामीको परिवारसंगको अपेक्षा
परिवारमा प्रत्येक व्यक्तिको आ-आफ्नो भूमिका र जिम्मेवारी रहेको हुन्छ। बिरामी पनि परिवारको महत्त्वपूर्ण सदस्य भएकाले उसको पनि परिवारमा निश्चित जिम्मेवारी रहन्छ। त्यस्तो अवस्थामा परिवारका अन्य सदस्यले बिरामीबाट कुनै पनि जिम्मेवारीको अपेक्षा कत्तिको राख्ने भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण हुन्छ। बिरामीको अवस्थाका बारेमा जानकारी राखेर उसको क्षमता अनुसार उसको जिम्मेवारीबाट वञ्चित गर्नुहुदैन।

बिरामीलाई उसको क्षमता अनुसारको जिम्मेवारी दिंदा उसमा आएको परिवर्तन अवलोकन गरी सहयोग गर्नुपर्छ। रोगको प्रकृति अनुसार बिरामीको एमोशन, मूडमा परिवर्तन आउने हुँदा सकभर प्रत्यक्ष निगरानीमा गरीने जिम्मेबारी दिनुपर्छ । बिरामीको पनि परिवारबाट विभिन्न अपेक्षा हुन्छन्।

ती अपेक्षाहरुलाई पुरा गरिदिन परिवारका सदस्य तयार रहनु पर्छ। बिरामीको कुरा धर्यपुर्वक सुनेर उसको सम्मान गर्न चुक्नु हुदैन। असम्भव कुरा छन् भने त्यसको पनि व्याख्या गर्नुपर्छ। घर सल्लाह जस्ता कुरामा बिरामीलाई अलग नराखी उसको अवस्था हेरेर सामेल गर्नुपर्छ।

३ सहयोग केन्द्रको जानकारी र उपचार प्रक्रियाको पहुँचमा सहयोग
परिवारको सदस्य मानसिक रुपमा अशक्त भएका बेला त्यो रोगसँग सम्बन्धित उपचार केन्द्र, आपतकालिन सहयोगका लागि सम्पर्क केन्द्रको बारेमा परिवारका सबै सदस्यमा राम्रो जानकारी हुनुपर्दछ। मानसिक स्वास्थ्यसँग  सम्बन्धित समस्या भएका व्यक्तिलाई आफू मानसिक रोगबाट पीडित भएको महशुस नभएको पनि हुनसक्छ।्र यस्तो अवस्थामा बिरामी उपचार प्रक्रियाको पहुँचमा नपुग्न सक्छ । त्यो अवस्थामा परिवारको भूमिका विशेष रहन्छ । परिवारले उपचारको प्रक्रिया र पहुँचसम्म पुर्याउन सहयोग गर्नुपर्छ ।

४ उपचार प्रणालीका बारेमा जानकारी
मानसिक स्वास्थ्यसँग सम्बन्धित उपचार प्रणाली बिभिन्न किसिमका हुन् छन्। आफ्ना परिवारका सदस्यको कस्तो प्रकारको चिकित्सकीय बिधिले उपचार हुँदैछ ? कस्तो प्रकारको औषधीको सेवन गरेको छ। त्यसको साइड इफेक्ट कस्तो हुन्छ ? कति समय, कति मात्रा ? जस्ता बिषयमा जानकारी राख्नुपर्छ । कतीपय औषधि प्रत्यक्ष निगरानीमा खानु पर्छ, त्यसको बारेमा पनि जानकारी राख्नु उपयुक्त हुन्छ । उपचारमा संलग्न चिकित्सक मनोविद्सँग निरन्तर सम्पर्कमा रहेर जानकारी लिनु पर्दछ। बिरामीमा कुनै पनि फरकपन अप्ठारोपन देखिएमा उपचारमा संलग्न चिकित्सकलार्इ सम्पर्क गर्नुपर्छ।

५ सामाजिक मिथ्यासंग लड्न सहयोग
हाम्रो समाजमा मानसिक समस्या भएका व्यक्ति प्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ । जनचेतनाबमे कमी या यसप्रतिको वेवास्ताका कारण यस्ता समस्याका बारेमा विभिन्न मिथ्याहरु रहेको पाइन्छ । मिथ्याका कारण बिरामीले आफ्नो परिवार र समाजका कारण कार्य क्षेत्रमा अप्ठारो परिस्थितिको सामना गर्नुपर्ने भएको हुन सक्छ । त्यो अवस्थामा उसको अवस्था जानकारी राखेको व्यक्तिको ठुलो भूमिका रहन्छ । मानसिक समस्यासँग लड्न जति गाह्रो छ, त्यतिनै सामाजिक मिथ्यासँग लड्न गाह्रो छ । धेरै व्यक्तिहरु मिथ्याका कारण थप पीडित हुने हुँदा त्यस तर्फ परिवारका सदस्य सजक हुनु जरुरी छ। कहिले काही त्यस्ता मिथ्या परिवार भित्र नै पनि रहन सक्छ । तसर्थ परिवारका सबै सदस्यले बिरामीको रोगको छलफल गरी सुचना आदन प्रदान गर्नुपर्छ।

मानसिक रोगको प्रभाव ठुलो हुन्छ। यसले बिरामीलाई मात्र नभएर परिवारका सदस्यलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमाअसजिलो बनाउछ। तर बिरामीको रोगको बारेमा जानकारी राखेर परिवारले बिरामी ठीक हुने प्रकृयामा ठुलो भूमिका खेल्न सक्छ। यसैगरी यो प्रकृयाले बिरामीको र परिवारको सम्बन्धलाई सहजीकरण गर्ने काम गर्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »