राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यालय स्थापना

२९ पौष २०७४

banner

विराटनगर। प्रदेश नं १ को राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज यहाँ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

विराटनगर–७ स्थित वीरेन्द्रसभा गृहमा आज दिउँसो निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले एक समारोहबीच सो कार्यालयको स्थापना गरे। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन्।

क्षेत्रीय निर्वाचन कार्यलय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले माघ २४ गते हुने निर्वाचनमा १ नं प्रदेश अन्तर्गत १४ जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदसहित ४३५ मतदाता रहेका छन्।

यस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ६० नगरपालिका, १०८ गाउँपालिका रहेका छन्। राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन पाउने व्यवस्था रहेको छ।

हालैमात्र सम्पन्न प्रदेशसभा निर्वाचनबाट निर्वाचित ५६ र बाँकी समानुपातिकतर्फ गरी जम्मा ९३ जना प्रदेश सभासद निर्वाचनमा सहभागी हुन पाउनेछन्। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १ नं प्रदेशवाट आठजना निर्वाचित हुनेछन् जसमा खुल्ला तर्फ तीन, महिला तीन र दलित एक आरक्षित रहनेछन् । त्यसमा अन्य थप तीनजना मनोनित हुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमका लागि २१ राजनीतिक दलले दल दर्ता गराएका छन्। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »