सुदिपभद्र खनालको कविता संग्रह ‘भुइँ फूलको गीत’ माथि चर्चा 

१ माघ २०७४

banner

वासिङ्गटन डिसी। अमेरिका नेपाल साहित्य प्रतिष्ठान (अनेसाप्र) को आयोजनामा वासिङ्गटन डिसीमा बसोबास गर्ने छन्द कवि सुदिपभद्र खनालको छन्द कविताहरुको संग्रह ‘भुइँ फूलको गीत’ माथिको चर्चा गरिएकाे छ। नेपाली साहित्यका वरिष्ठ साहित्यकारले पुस्तक माथि चर्चा गरेका थिए। कार्यक्रममा पुस्तकका लेखक कवि खनालले  पुस्तकमा संग्रहित चारवटा कविता वाचन गरेका थिए। 

पुस्तक माथि चर्चा गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष तथा साहित्यकार होमनाथ सुवेदीले यस पुस्तकमा कविका डायस्पोरिक भावना धेरै पोखिएको भेटिन्छ भन्दै यस्ता भावनाका प्रतिनिधिमूलक कवितांश बाचन गरेका थिए। 

‘वि.सं. १९९० सम्म कविता भनेको छन्दमा नै लेखिन्छ भन्ने मान्यता थियो। त्यसपछि गद्य कविताले ठाउँ बनाएको नेपाली सहित्यमा अहिले फेरि छन्द कविताले आफ्नो स्थान बढाएको देखिन्छ। छन्द कविता लेखनमा विशेष नियममा बाँधिनु पर्ने भएकोले चाहेर पनि धेरैले कलम चलाउन नसकेको बेलामा कवि सुदिपले उत्कृष्ठ कविता छन्दमा लेखेर पुस्तक प्रकाशन गरेकोमा खुशी लागेको छ’, पुस्तक माथिको चर्चाको शुरुवात गर्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले भने। 

धरावासीले यस पुस्तकमा समावेश भएका कविताहरुको बारेमा चर्चा गर्दै भने,‘छन्दका नियमलाई पालना गरि लेखिएका यस पुस्तकमा सांस्कृतिक मिथक, विचारको सशक्तता, इतिहासका विम्वको प्रयोगका साथै भाषिक तथा साँस्कृतिक देश प्रतिको माया देखिन्छ।’

त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हरि अधिकारीले यस कविता संग्रहमा कविले धरै कविताहरुमा देशको माया, पुराना यादहरुको विषयलाई धेरै स्थान दिएको पाइएको  र कविको ‘नोस्टाल्जिया’ प्रति पाठकको कुनै सम्वन्ध नहुने भएकोले आफ्ना कवितामा वर्तमानको वास्तविक समाजको यथार्थलाई स्थान दिनु पर्ने बताए।  उनले भने, ‘कविहरुले नयाँ बाटो बनाउनु पर्छ। नयाँ विचारको शुरुवात गर्नु पर्छ।’

विभिन्न १३ वटा छन्दहरुमा लेखिएका ६१ वटा कविताहरु संग्रहित ‘भुइँ फूलको गीत’ पुस्तकबाट कार्यक्रमको बिचमा कवि सुदिपभद्रले ४ वटा विभिन्न छन्दका कविताहरु बाचन गरेका थिए।

कविको छोटो परिचय सहित शुरु गरिएको सो कार्यक्रममा आयोजक संस्थाका संस्थापक तथा उक्त कार्यक्रममा सभाध्यक्ष गोविन्द गिरी प्रेरणाले अतिथि तथा आगन्तुकहरुलाई स्वागत गर्दै अमेरिका नेपाली साहित्य प्रतिष्ठानले श्रष्टाहरुका सिर्जनामाथि चर्चा गर्ने परम्पराको थालनी गरिएको र यो कार्यक्रम त्यसैको दोस्रो श्रृङखला भएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि हरि अधिकारीले कवि सुदिपभद्रलाई खादा ओढाई सम्मान गरेका थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »