आयो मौषम चट्याङ र हुरी-बतासको (फोटो फिचर)

५ चैत्र २०७३

banner

काठमाडौं। शुक्रबार साँझ काठमाडौंको आकाशमा निकैबेर चट्याङ परिरह्यो। हावाहुरी र पानी परेर ‘चैते हुरी’ प्रारम्भ भएको छनक दियो। चैत-बैशाख तेज हावाहुरी र चट्याङ पर्ने समय हो।

शुक्रबार बेलुका काठमाडौंको आकाशमा लामै समय चर्को आवाजसहित चट्याङ परेका दृश्य देखियो। देशभर हुरी चल्ने, चट्याङ पर्ने मौषम सुरू भएको छ।

के हो चट्याङ?

चट्याङ आकाशबाट जमीनमा खस्ने एक प्रकारको बिद्युतीय प्रवाह हो। आकाशीय प्रोटोन अणुहरु पृथ्वीमा भएका न्युटल अणु प्राप्त गर्नको लागि जमीनतर्फ चुम्बकीय गतिले झर्छन्। 

दुई अणुहरु आपसमा जोडले घर्षण हुँदा विद्युतीय करेन्ट उत्पन्न हुन्छ। हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीब्र गतिको वायु आपसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न हुन्छ त्यसलाई चट्याङ भनिन्छ। साधारणतयाः चट्याङको आवाज २० किलोमिटर दुरीसम्म सुन्न सकिन्छ। 

चट्याङ कहाँ र कहिले पर्छ भनेर पूर्वानुमान लगाउन सकिँदैन। यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ।

चट्याङबाट बच्ने उपायः

–बिजुली चम्केको बेला सतर्क रहनु पर्छ। 

–फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने।

–विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।

–बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने।

–सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।

–खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने।

–सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने।

–धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने।

–तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने।

–चट्याङ परेको क्षेत्रमा हुनुहुन्छ र सरिरमा असहज हुनेगरी केही चिजले घोँचेजस्तो महसुस भएको छ, आङ जिरिङ भएर रौँ ठडिएको छ भने चटयाङले हान्ने संभावना भन्ने बुझेर तुरुन्तै टाउकोमाथि हात राखेर कुइना र घुँडाले टेकेर घोप्टो पर्नु पर्छ।

(सबै तस्बिर टेकनारायण भट्टराई/फाइल)

Leave a reply

HTML Tags are not supported

Post My Comment »