अपांगमैत्री बन्दै सूचना, सञ्चार र प्रविधि

१३ माघ २०७४

banner

– सुशील दर्नाल 
काठमाडौं । धादिङका जीतबहादुर तामाङ कान नसुन्ने भए पनि भिडियो कलमार्फत आफन्तसँग कुरा गर्न पाउँदा दंग छन् । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल सेवा शुरु गरेकोबारे जानकारी पाएपछि तामाङले सो सेवा लिएका हुन ।

टेलिकमले गत वर्षदेखि बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल र एसएमएस सेवा शुरु गरेको थियो । तामाङजस्तै बोल्न र सुन्न नसक्ने वा अन्य प्रकृतिका अपांगता भएका व्यक्तिका लागि सूचना, सञ्चार तथा प्रविधि अपांगमैत्री बन्दै गएको छ ।

सरकारले अपांगता भएका व्यक्तिका लागि ‘पहुँचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपांगतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चार माध्मयम भाषागत हिसाबले समेत अपांगतामैत्री बन्दै गएका छन् । 

काउन्सिलले नेपाल पत्रकार महासंघ र राष्ट्रिय अपांग महासंघ नेपाल समेतको सहभागितामा २०७३ माघ २६ गतेदेखि लागू हुने गरी अपांगमैत्री निर्देशिका जारी गरेको थियो । आव २०७३/०७४ मा विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने भाषा अपांगतामैत्री नभएको भन्दै काउन्सिलमा पाँच वटा उजुरी परेका छन् ।

आव २०७२/०७३ मा एउटा मात्र उजुरी छ । नेपाल अपांग मानवअधिकार केन्द्रले भाषा र तस्वीर अपांगतामैत्री नभएको भन्दै नागरिक दैनिकविरुद्ध तीन पटक उजुरी गरेको छ । 

नागरिक दैनिकको २०७३ पुस १४ गते प्रकाशित ‘लंगडो देशमा भाँडा नाच’ शीर्षकमा अपांगतालाई आघात पुग्ने शब्द राखिएको र त्यस्ता शब्दले सारा अपांगता भएका व्यक्तिलाई बिग्रेको, काम नलाग्ने वा काम गर्न नसक्ने गरी प्रस्तुत गरिएको हुँदा अपांगता भएका व्यक्तिप्रति माफी माग्नुपर्ने भन्दै नेपाल अपांग मानवअधिकार केन्द्रले २०७३ पुस २० गते काउन्सिलमा उजुरी गरेको थियो । 

त्यसैगरी अन्नपूर्ण पोष्ट दैनिकविरुद्ध अपांगतालाई आघात पुग्ने शब्द राखिएको भन्दै मानवअधिकार केन्द्रले नै उजुरी गरेको थियो । पत्रकार गजेन्द्र बुढाथोकीले बीबीसी नेपाली सेवाले अपांगता भएका व्यक्तिप्रति पूरै दूराभाव प्रकट गरेको भन्दै बीबीसीविरुद्ध काउन्सिलमा उजुरी गरेका थिए ।

यी माथिको उजुरीलाई हेर्ने हो भने पनि अपांगतामैत्री भाषाका लागि अपांगता सरोकारवालाले नै चासो र चनाखोका साथ हेरिएको पाइन्छ । 
निर्देशिका जारीपछि अनुगनमनका क्रममा प्रत्येक सञ्चारमाध्यमले अपांगतामैत्री भाषा नै प्रयोग गर्ने गरेको काउन्सिलका सूचना अधिकृत दीपक खनालले जानकारी दिए ।

निर्देशिकाम ‘पत्रकार र सञ्चारमाध्यमले सांकेतिक अभिव्यक्तिका क्रममा अपांगता भएका व्यक्तिको गरिमामा प्रतिकूल पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा वा उखान टुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नु हुँदैन भनिएको छ । पत्रकार गजेन्द्र बुढाथोकीले पछिल्लो दुई तीन वर्षयता मिडियाले अपांगताको सवाललाई स्थान दिन थालेको बताए । नेपाल टेलिभिजन, एभिन्यूज र एबीसीलगायतका टेलिभिजनले अहिले सुस्तश्रवण भएका व्यक्तिका लागि सांकेतिक भाषाको प्रयोग गर्दै आएका छन् । 

त्यसैगरी अपांगता अधिकारकर्मी मनिष प्रसाईंले पछिल्लो पटक अनलाइन सञ्चारमाध्यम अपांगमैत्री बन्दै गएको बताए । दृष्टिविहीनसम्बन्धी अपांगताका लागि पुस्तक पढ्न सक्ने ‘अडियो पुस्तक’ को समेत व्यवस्था गरिएको छ । प्रविधिका कारण दृष्टिविहीनले कम्प्युटर र अडियोबाट पनि अध्ययन गर्न सक्छन् । ‘अपांगतासम्बन्धी शब्दावलीमा धेरै नै सुधार भएको छ, काउन्सिलले निर्देशिका जारी गरेपछि अपांगता शब्दावलीबारे सचेत भएको पाइन्छ’– उनले भने ।

राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले विषय वस्तु र सहभागिताको हिसाबले प्रत्येक सञ्चारमाध्यम अपांगतामैत्री हुनुपर्ने बताए ।

मन्त्रालयका उपसचिव केशव भट्टराईले निर्देशिकाका आधारमा निजी र सरकारी प्रत्येक सञ्चारमाध्यमलाई हरेक हिसाबले सबै प्रकारका अपांगता भएका व्यक्तिको लागि पहुँचयुक्त र अपांगतामैत्री बनाउनका लागि पहल गरिरहेको जानकारी दिए ।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »