हजयात्राका लागि साउदी जान आवेदन खुला, एक हजार हजयात्री मक्का जाने

७ चैत्र २०७३

काठमाडौं  । नेपाल हज समितिले यस वर्ष हज गर्न जाने हाजी (हजयात्री) हरूका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले साउदी अरब जान इच्छुक हाजीहरूका लागि आवेदन दिन खुला गर्ने निर्णय गरेको हो । समितिले आगामी भदौसम्म हाजीहरूलाई साउदीको मक्का पठाउने तयारी गरेको छ ।

यो वर्ष एक हजारजना मात्रै जान पाउने

साउदी अरबले दिएको अनुमतिअनुसार नेपालबाट यो वर्ष पनि एक हजार हज गर्न जान पाउने भएका छन् । गत वर्ष सोही संख्याका हाजी मक्का गएका थिए । साउदी अरबले नेपाललाई एक हजार हाजी पठाउन अनुमति दिए पनि नेपाललाई भने त्यो संख्या अपुग हुने गरेको हज समितिका अध्यक्ष मोहम्मद सोऐबले बताए ।

१० वैशाखसम्म आवेदन फाराम भर्न पाइने

यस वर्ष हजमा जान दुई दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्न निर्णय समिति बैठकले गरेको छ । समितिले १० चैतदेखि १० वैशाखसम्म अर्थात् एक महिनाका लागि आवेदन दिने समय तोकेको छ । प्रत्येक जिल्लाको जिल्लाा प्रशासन कार्यालयमा हज फाराम भर्न पाइने गृह मन्त्रालयले व्यवस्था गरेको छ ।
 
गत वर्षका निवेदक पहिलो प्राथमिकतामा

हज समितिले गत वर्ष फाराम भरेर पनि जान नपाएकालाई यस वर्ष पहिलो प्राथमिकतामा राखेको छ । तर, त्यसका लागि उनीहरूले समयमै फेरि नयाँ फाराम भर्नुपर्ने हुन्छ । गत वर्ष ६ सय १५ जना हाजी मक्का जान पाएका थिएनन् ।
 
नयाँ हाजी ३८५ मात्रै

एक हजारमध्ये गत वर्ष जान बाँकी रहेका ६ सय १५ बाहेक यो वर्ष नयाँमा ३ सय ८५ जना मात्रै जान पाउनेछन् । तोकिएको मितिभित्रै सुरुमै भर्नेबाट क्रमशः ३ सय ८५ जनालाई छानिन्छ ।

गृहमन्त्रीले दिए शुभकामना

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हज समितिका नवनियुक्त पदाधिकारीलाई शुभकामना दिएका छन् । गृह मन्त्रालयको नियोगको सभाहलमा बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सबैको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।
 
हाजीहरूको लागि सरकारले दिएन बजेट

सरकारले विगतमा हाजीहरूको सहुलियतका लागि आर्थिक सहयोग दिने गरेको थियो । तर, पछिल्लो दुई वर्षयता सरकारले कुनै किसिमको रकम उपलब्ध नगराएको हज समितिले जनाएको छ । सरकारले हाजीहरूको सबै काम व्यवस्थापन गर्न कर्मचारी तथा पदाधिकारीहरूका लागि मात्र एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम पदाधिकारी बैठक, हज व्यवस्थापन गर्न साउदी जाँदारआउँदा खर्च तथा प्रचारप्रसारमा समितिले खर्च गर्न पाउनेछ । ०६८ सालको जनगणनाअनुसार नेपालमा मुस्लिम समुदायको जनसंख्या ११ लाखभन्दा बढी रहेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »