प्रदेश नम्बर १ को सभामुखमा भण्डारी निर्वाचित

२९ माघ २०७४

banner

काठमाडौं। प्रदेश नम्बर १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। बैठकको सुरुमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए।

सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे। धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत भएका थिए। शिक्षण पेशाबाट सेवानिवृत्त  भएका उनी २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रिय छन्।

यसैबीच प्रदेश नम्बर २ प्रदेशसभाले नियमावली मस्यौदा समिति गठन गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकले ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो। समितिमा रामअषिश यादव, संजयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डिम्बलकुमारी झा, रमेशकुमार कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलिपकुमार साह, सावित्रीदेवी साह र शेख अवुकलाम आजद रहेका छन्।

प्रदेश सभाको सोमबारको कार्य सूचिमा उपसभामुखको निर्वाचनको मिति तोक्ने तय भएपनि बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लगनलाल चौधरीले त्यसलाई कार्यसूचिबाट हटाएका थिए। त्यसैगरि जेष्ठ सदस्य चौधरीले मर्यादा पालकलाई १५ दिन भित्र सफारी सुट र महिलाको हकमा साडी लगाउन रुलिङ गरेका थिए। जनयुद्धको क्रममा मारिएका शहिदहरुको तस्वीर समेत सभा कक्षमा राख्न जेष्ठ सदस्य चौधरीले पुनः रुलिङ गरेका थिए। प्रदेश नम्बर २ प्रदेशसभाको अर्को बैठक बुधबार बोलाइएको छ।
 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »