आइजिपी विवादसम्बन्धी बहस सकियो

७ चैत्र २०७३

banner

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादसम्बन्धी बहस आजबाट सकिएको छ ।   बहस सकिनासाथ आजै आइजिपी विवादको फैसला हुने अनुमान गरिएको थियो । तर समय नपुगेका कारण फैसला मंगलबार मात्र हुने भएको हो  ।

सर्वोच्चमा आइजिपी बहस आइतबारदेखि चलेका थियो । आजको बहसमा प्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागि भएकी थिइन् । सरकारी वकिलका तर्फबाट टिकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

यसैगरी रिट निवेदकका तर्फबाट अधिवक्ता भीमार्जुन आचार्य, बद्रीबहादुर अधिकारी, तुलसी भट्ट, टीकाराम भट्टराई लगायतले जवाफी बहस गरेका थिए ।  आजको बहसमा डीआइजी जयबहादुर चन्द पक्षका वकिलहरु अदालतमा उपस्थित भएका थिएनन् ।

सरकारका तर्फबाट वकिलहरुले बिहान बहस गरेपनि चन्द पक्षका व्यक्तिगत वकिलहरु भने बहसमा आएनन्। अदालतले उनीहरु आइनपुगेपछि तोकिएको समयभन्दा थप ५ मिनेट समय दिएको थियो। तर, चन्द पक्षका वकिल उक्त समय भित्र पनि नआएपछि सिलवाल पक्षका वकिलले जवाफी बहस सुरु गरेका थिए ।

सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बढुवाका लागि सिफारिस गरेको थियो। आइजीपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न  अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो। सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »