प्रदेश नं ५ : सभामुखमा माओवादीबाट घर्तीको उम्मेद्वारी

१ फाल्गुन २०७४

banner

बुटवल । प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गरेका छन्।  

प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी गरेका हुन्। 

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि मात्र गरेको थियो। 

संसद्मा वाम गठबन्धनको बहुमत छ। अठहत्तर सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् । संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन्। वाम गठबन्धनबाट उम्मेदवारी दिनुभएका घर्ती सभामुखमा एकल उम्मेदवार हुने र सर्वसम्मत निर्वाचित हुने अवस्था देखिएको छ। 

काँग्रेस सांसद वीरबहादुर रानाले काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए। काँग्रेसले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन। उनले वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र आफूहरुले सरकार बनाउने सम्भावना नरहेकाले दलको नेता र सभामुखको उम्मेदवारीमा कुनै निर्णय नभएको बताए। 

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गरिने प्रतिक्रिया दिए। उनले प्रदेश नं ५ लाई समृद्ध बनाउन सबै दललाई एकैसाथ लिएर अघि बढ्ने बताए। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »