राजर्षी जनकलाई दश वर्षे मार्गचित्र तयार पार्न निर्देशन

१ फाल्गुन २०७४

banner

फाइल फाेटाे

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयलाई तत्काल १० वर्षे मार्गचित्र तयार परी अघि बढन निर्देशन दिएका छन्। विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता र अन्तर्राष्ट्रिय मागको आधारमा शैक्षिक कार्यक्रम संचालन गर्न पनि विश्वविद्यालयलाई सचेत गराए।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विश्वविद्यालयको प्रथम सभालाई सम्बोधन गर्दै उनले सरकारले उच्च शिक्षाको विकासलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे। प्रधानमन्त्री देउवाले उच्च शिक्षामा सुधारका संकेतहरु देखिएको उल्लेख गर्दै त्यसलाई दिगो बनाइराख्न विश्वविद्यालय सक्रिय हुनुपर्नेमा जोड दिए। 

सभाले विश्वविद्यालयको बजेट, आवश्यक जनशक्तिलगायतका ६० वटा प्रस्ताव पारित गरेको छ। विश्वविद्यालयले प्रस्ताव गरेको ५ करोड बजेट बैठकले पारित गरेको विश्वविद्यालयका उपकूलपति प्राध्यापक भरत झाले जानकारी दिए। त्यसैगरी विश्वविद्यालय संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्र्ने प्रस्ताव पनि स्विकृत गरिएको छ। 

सभाले हाल त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा संचालित सिराहास्थित सुर्यनारायण, सत्यनारायण बहुमुखी क्याम्पस र राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसलाई पनि राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहने प्रस्ताव पनि पारित गरेको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरको मुजेलियास्थित सडक डिभिजन कार्यालय र ग्रामीण विकास प्रशिक्षण केन्द्रको कार्यालय भवनहरुमा स्थायी रुपमा संचालन गर्नका लागि सम्बन्धित निकायहरुसँग माग गर्ने प्रस्ताव पनि पारित गरिएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »