वैद्य र विप्लवलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन दाहालकाे अाह्वान

१ फाल्गुन २०७४

banner

फाइल फाेटाे

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन अाह्वान गरेका छन्। 

नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित ‘२३ औं जनयुद्द दिवस’को अवसरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले समृद्धि र समाजवादको  निर्माण गर्ने असाधारण ऐतिहासिक अवसर रहेको बताउँदै सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन अाह्वान गरेका हुन्।
‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ’, दाहालले भने, “लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्ध शुरु गरिसक्थ्यौं, त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछु। सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै अध्यक्ष दाहालले भने, “विप्लव जी, वैद्य जीहरुले द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपील गर्दछु। माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन अाह्वान गर्न चाहन्छु। यो मेरो अपील मात्रै होइन, विशेष अपील पनि हो।”

२०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्तिको तयारी गर्ने भएपनि त्यतिखेर आम जनता भने  पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्ध सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निश्कर्षमा पुगेर जनआन्दोलनमा सहभागी भएको दाहालले बताए। “त्यतिखेर म पार्टीको महामन्त्री थिएँ र युद्धकाे प्राविधिक तयारीको जिम्मेवारी पनि मेरो नै थियो”, उनले भने, “तर हामीले बस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने हामीलाई लाग्यो। जनताको चाहना पञ्चायत फाल्ने थियो। हामी संयुक्त आन्दोलनमा होमियौं।”

२०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्धकाे शुरुआत गर्नु आत्मगत र बस्तुगत दृष्टिकोणले वैज्ञानिक थियो भन्दै अध्यक्षले त्यतिखेर संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्दको आधार तयार पारेको बताए।

“म सबैलाई स्मरण गराउन चाहन्छौं, हामी त्यतिखेर पनि संसदवादमा फसेनौं। इतिहासमा सधैं अगाडि बढेर मात्रै क्रान्ति हुँदैन । कतिपय अवस्थामा पछाडि हटेर पनि अगाडि बढनुपर्छ। यसो गरिएमात्रै क्रान्ति सफल हुन्छ” उनले भने, “अहिले हामी फेरी त्यही अवस्थामा छौं, तर अब समाजवादी क्रान्तिको अभिभारा हाम्रा अगाडि आएको छ। समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ। त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ। अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो।” 

इतिहासको यही आवश्यकतालाई बोध गरेर नेकपा एमालेसँग पार्टी एकता भइरहेको बताउँदै अध्यक्ष उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा जनयुद्धकाे विशेष भूमिका रहेको कुरा बुझ्नुभएको बताउनुभयो, उनले भने, “सम्भवतः हामी ऐतिहासिक जनयुद्दकै दिन पार्टी एकता टुंगोमा पुर्याउने कोशीसमा छौं।”

२०४८ सालको संसदीय निर्वाचन उपयोग गर्दा र पछि जनयुद्ध सञ्चालन गर्दा समेत बिभिन्न कोणबाट आलोचना भएको स्मरण गर्दै उनले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट बस्तुगत यथार्थलाई बुझेर सोही अनुरुप अगाडि बढन सक्नुपर्ने बताए। जनयुद्ध ६ महिना या १ वर्षमा नै सकिन्छ भन्ने र संसदवादमा गएर टुंगिन्छ भन्नेहरु गलत साबित भएको उनले बताए। 

त्यतिखेर जनयुद्ध समाप्त पार्न र अहिले कम्युनिष्ट एकताको महान अभियान बिथोल्न संसारभरिका प्रतिक्रियावादीहरु सक्रिय भएको उल्लेख गर्दै उनले सबै वामशक्तिहरु एक ठाउँमा हुने अवस्थामा नेपालमा समाजवाद निर्माण र समृद्धिको आधार तयार गर्न सकिने बताए।  सम्बोधन अघि जनयुद्ध दिवस समारोहको उद्घाटन गर्दै दाहालले २३ किलोको केक काटेका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »