प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्न मिल्दैनः बस्नेत

१ फाल्गुन २०७४

banner

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभाका लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास गरेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले मनोनित गरेका राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाइसकेकोले उक्त नाम अनुमोदित विश्वास व्यक्त गरे। 

उनले वर्तमान सरकार गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे। ‘राजीनामा नदिएसम्म कामचलाउ हुँदैन, प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै कामचलाउ हुन्छ।’ 

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे। ‘यदि प्रधानमन्त्रीले संविधानसम्म्त रुपमा गरेका सिफारिस लाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ’, उनले भने।

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरुले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं’, उनले भने, ‘क्याविनेटले संविधानसम्म्त गरेका निर्णयहरु मान्दैनौं भन्ने कुरा पनि शोभनीय हुन्छ? यस्तै गर्ने हो भने संविधानको विपरित हुन्छ, हामीले त संविधानले निर्दिष्ट गरे अनुसार नै आफ्नो कामहरु गरिरहेका छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजीनामा दिने उनले बताए। बस्नेतले भने, ‘हामी चाँडोभन्दा चाँडो नै सत्ताबाट बाहिरिन चाहन्छौं, प्रधानमन्त्रीको राजीनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन्।’ 

यद्धपी उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको सुनाए।  ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न भयो, हामीले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पारेका छौं, अब मुलुक समृद्धितर्फ अघि बढेको छ’, उनले भने।  कांग्रेसले मुलुकलाई सही दिशातर्फ डोर्याउन जहिल्यैपनि नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ थियो । 

उनले आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिकामा खरो उत्रने बताए।  उनले सरकारले देश र जनताको पक्षमा गर्ने सबै खाले निर्णयहरुलाई कार्यान्वयन गराउन रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न कांग्रेसले जहिल्यैपनि तयारी अवस्थामा रहेको सुनाए। मुलुकमा ठूला ठूला परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकोले कांग्रेसबाहेक अरुले केही गर्न नसक्ने उनको ठोकुवा थियो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »