'संविधान कार्यान्वयन भए मात्र गिरिजाबाबुप्रति सच्चा श्रद्धाञ्जलि'

७ चैत्र २०७३

banner

‘काठमाडौँ । संविधान कार्यान्वयन भए मात्र नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने नेताहरुले बताएका छन् ।

पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइराला संविधान कार्यान्वयन र राजनीतिक दलहरुको भूमिका’ विषयको विचार गोष्ठीमा काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहको निर्वाचन गरे मात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

उनले मधेसी मोर्चालाई मनाएर आगामी माघभित्र तीन तहको निर्वाचन गराउनु चुनौतीपूर्ण छ भन्दै संविधान संशोधनका लागि नेकपा ९एमाले०ले बखेडा झिक्न नहुने बताए । पूर्वप्रधानमन्त्री देउवाले तराईमा बसेर देशको सुरक्षामा ध्यान दिएका तराईका जनताको भावनालाई समेत समेट्नुपर्ने भएकाले काँग्रेसले सबैलाई मिलाउन लागिपरेको स्पष्ट पारे । उनले भने , “गिरिजाबाबुको बारेमा जति बोले पनि पुग्दैन, उहाँ कहिल्यै नथाक्ने, पार्टीको सङ्गठन गर्ने व्यक्ति हुनुहुन्थ्यो ।”

काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गिरिजाबाबु निर्णायक नेता भएको बताए । उनले भने, “उहाँले गरेका निर्णयहरु पूरा गरेर छोड्नुभयो, उहाँ अनिर्णयको बन्दी कहिल्यै बन्नुभएन ।” नेता सिटौलाले गिरिजाबाबुले राजाको गद्दी र माओवादीको बन्दुक खोस्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

नेकपा ९माओवादी केन्द्र०का नेता अमिक शेरचनले नेपालको शान्ति प्रक्रियामा गिरिजाबाबुको ठूलो योगदान रहेको बताए । बाह्रबुँदे सहमति गरी दशवर्षे जनयुद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो भूमिका रहेको बताए । उनले भने, “बोलेको कुरालाई पु¥याउने र सच्चा देशभक्त नेता गिरिजाबाबु हुनुहुन्थ्यो ।” गिरिजाबाबुलाई राष्ट्रपति बनाएको भए संविधान पहिल्यै बन्ने र अहिले कार्यान्वयन भइसक्ने उनको भनाइ थियो ।

नेकपा ९माले०का महासचिव सिपी मैनालीले नेपाललाई आधुनिक रुपमा प्रजातान्त्रिक मुलुकका रुपमा लैजान गिरिजाबाबुको ठूलो योगदान रहेको बताए । उनले स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै निर्वाचनको वातावरण बढिरहेको भन्दै निर्वाचन रोक्न नहुने स्पष्ट पारे ।

काँग्रेस केन्द्रीय सदस्य एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले गणतन्त्र स्थापनाका लागि गिरिजाबाबुको अतुलनीय भूमिका रहेको बताए । उनले भने, “संविधान कार्यान्वयनका लागि सहमति, सहकार्य नै आवश्यक छ ।” संविधान कार्यान्वयनका लागि संविधान बनाउने दल एक भई मधेसी दललाई समेत समेट्नु जरुरी रहेको बताए ।

काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग सम्बन्ध अगाडि बढाउनुपर्ने बताए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मुलुकलाई निकास दिने प्रमुख जिम्मेवारी काँग्रेसको भएको बताए । उनले मधेस मुलुकको एक अविच्छिन्न पाटो भएकाले मधेसको समस्या समाधानका लागि प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी, सांसद जगदीश्वरनरसिंह केसी, भीमसेनदास प्रधान, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्लेलगायतले गिरिजाबाबुको सपना संविधान निर्माण गरी देशको विकास गर्ने भएको बताउँदै संविधान कार्यान्वयन भए मात्र गिरिजाबाबुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »