आज उहाँ बिहेको लागि मलाई हेर्न आउँदै हुनुहुन्छ ?

५ फाल्गुन २०७४

banner

-कामना न्यौपाने

खोइ ऐना देऊ त
मलाई राम्री बन्नु छ ,
यो रुखो कपाललाई
सिल्की बनाउनुछ,
यो कालो अनुहारलाई
गोरो बनाउनु छ।

सिकाउन मलाई
लज्जालु कसरी बन्ने ?
मलाई त उहाँको अगाडि
शीर निहुराउनु छ,
उहाँले प्रश्न गर्दै गर्दा
घोप्टे मुन्टो लाउनु छ।

हिडनुपर्छ कसरी
बस्नुपर्छ कसरी,
बिग्रने पो हो कि कतै
मुटु धड्किदैछ बेस्सरी,
डर लाग्दैछ भित्रभित्रै
ठहरिने पो हुँ कि उत्ताउली।

भनिदेउन मलाई
कति राखूँ चियामा चिनी ?
डर लाग्छ पकाउने कलामा
म उत्तीर्ण भईनँ भने,
यदी मेरी आमाको
नाक काटियो भने ?

म वहांको आगाडि
बिस्तारै बोल्नुपर्नेछ,
मेरा केटा साथीबारे थाहा पाए
मेरा बाबाको साख झर्ने छ,
सिकाइदेउन मलाई
बत्तीस लक्षण मैले देखाउँनुछ।

जिन्दगीको सबैभन्दा
ठूलो परीक्षा,
मलाई विशिष्ट श्रेणीमा
उत्तीर्ण गर्नुछ,
बिहेको लागि मलाई हेर्न
आज उहाँ आउदै हुनुहुन्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष