कस्तो होला विपक्षी कांग्रेस !

११ फाल्गुन २०७४

banner

गाेविन्द लुइँटेल

दुईवटा ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता स्थायी भए वा  गठबन्धन कम्तीमा पाँच वर्ष कायम रहे नेपाली कांग्रेस अबको पाँच वर्ष संसदमा स्थायी विपक्षी रहनेछ । जनआन्दोलनबाट २०४८ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापित भएपछि दुई पटक कांग्रेसले एकलौटी सरकार चलाउने अवसर पाएको हो जनादेशबाटै, २०४८ साल र २०५६ सालमा । दुवै पटक पूरा समय सरकार चल्न सकेन । दुवैपटक कांग्रेसभित्रैबाट अस्थिरताको बिउ रोपियो, पहिलोपटक आफ्नै सरकारको नीति तथा कार्यक्रम असफल गराएर अनि दोस्रोपटक आफ्नै प्रधानमन्त्रीलाई बलजफ्ती राजीनामा गराएर । कांग्रेसले एकल सरकार चलाएको बाहेक कांग्रेस र एमाले दुवै आफ्ना दाउपेचअनुसार सरकारमा सहभागी भए, राजा ज्ञानन्द्रले शासन हातमा लिनुअघिसम्म ।

दोस्रो जनआन्दोलनपछि कांग्रेस, एमाले र माओवादी आफ्नो दाउपेच सफल भएअनुसार र सहमतिका नाममा एकदशक सत्तारुढ भए, आफ्ना नेतालाई पटकपटक प्रधानमन्त्री बनाए । को कति समय बढी सरकारमा बस्यो भन्ने हिसाबमात्रै फरक हो । माओवादी शान्ति प्रक्रियामा आएयता संविधानसभाबाट जारी भएको संविधानअनुसार निर्वाचन नभएसम्मको संक्रमणकालीन एक दशकमा कुनै पार्टी एक्लै सत्तामा भएन, एक्लै विपक्षी पनि भएन । सहमतिका नाममा कुनै कुनै रूपमा सत्तामा सहभागी भइरहे, अनेक पदहरूमा भागबण्डा गरेरै पनि । 

२०७४ को निर्वाचनपछि अवस्था बद्लिएको छ । कांग्रेस अब स्थायी विपक्षी भएको छ, संविधानअनुसार मुख्य विपक्षी । प्रतिनिधिसभाको निर्वाचन परिणाममा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमतको दाबी गरेपछि पनि कांग्रेसले सत्ता प्राप्तिको प्रयास गरेको हो । यो प्रयासको कुरा कांग्रेस र माओवादी केन्द्र दुवैतिरका नेताहरूले लुकाएनन् । कांग्रेसका मन्त्रीले नै तेस्रो दलको नेतृत्वमा सरकार बनेको निकट विगत स्मरण गर्न एमालेलाई सुझाब दिए । तेस्रो दलका अध्यक्षले पाँच वर्ष निर्बाध ढंगले प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव आएको खुलासा गरे । कांग्रेसका पदाधिकारी नेताले  वाम गठबन्धन तोड्न आफूले माओवादी नेताहरूसँग कुरा थालेको खुलासा गरे । जगजाहेर छ, यी सुझाव र खुलासाहरूमा आफ्नै स्वार्थप्रेरित रणनीति र चालबाजीहरू थिए । आखिर कांग्रेस विपक्षी दल भएको छ, परिस्थिति अन्यथा विकसित नभए कम्तीमा पाँच वर्षका लागि । 

कांग्रेस तीनवटै तहको निर्वाचनमा निकै नराम्रोसँग पराजित भयो । कांग्रेसजनका नजरमा यो पराजय अनपेक्षित हो । राजनीतिक घटनाक्रममा चासो राख्ने साधारण मनुवाका लागि भने अपेक्षित नै हो । जसले पनि भन्न सक्छ, कांग्रेसले बहुमत हासिल गर्ने वा ठूलो पार्टी बन्ने अपेक्षा कुनै साधारण मनुवाले गरेको थिएन । कांग्रेस निर्वाचन प्रचारबाटै विपक्षी भएको हो । सत्तामा भएका कारणले हात माथि पर्न जाँदा राष्ट्रियसभामा नाक जोगाउने अवसरसम्म पाएको हो । पछिल्लो पटक सत्तामा रहनुको राजनीतिक फाइदा भएको यति नै हो कांग्रेसलाई । नयाँ संविधानपछि माओवादीसँगको गठबन्धनमा बनेका दुवै सरकारमा कांग्रेसले घाटाको राजनीति गरेको छ, राज्यकोषबाट जति नै ठूलो रकम बाँडे पनि वा निर्वाचन आचारसंहितामा जति नै आँखा चिम्ले पनि । 

लेखक

यतिबेला धेरैका मनमा उठेको प्रश्न हो– विपक्षी कांग्रेस कस्तो होला ? संसदमा उसको आगामी भूमिकाका सन्दर्भमा यो प्रश्न आएको हो । २०४८ सालपछिको साढे दुई दशकमा कांग्रेस र एमाले हाराहारी अवधि सकारका बसे पनि कांग्रेसलाई हमेसा लाग्ने गरेको आरोप हो– कांग्रेस सत्ताबाहिर बस्नै सक्दैन । यो आरोप लगाउनेहरू कांग्रेसले बढी समय सरकारको नेतृत्व गरेको तर्क अघि सार्छन् । यो तर्कमा एउटा दम के छ भने, विपक्षी दलका रूपमा कांग्रेको भूमिका कहिल्यै पनि प्रभावकारी भएन, स्मरणीय भएन । अबको कांग्रेसलाई सत्ता हात पार्न दाउपेच गर्ने सुविधा छैन । यस्तो सुविधा भएकै कारणले विगतमा विपक्षी कांग्रेस निष्प्रभावी भएको हो । अब कांग्रेस विपक्षीमात्रै हो, उसलाई विपक्षी भूमिकाका लागि मात्रै धरातल उपलब्ध छ, माथि नै भनियो कम्तीमा पाँच वर्ष । 

संसदीय व्यवस्थामा विपक्षी दल वैकल्पिक सरकार मानिन्छ । विपक्षी सधैँ सरकार गठनका लागि तयार रहेको मानिन्छ र विपक्षको भूमिका यही तयारी अवस्थामा प्रभावकारी मानिन्छ । माथि लेखियो, परिस्थिति अन्यथा विकसित नभए कांग्रेस कम्तीमा पाँच वर्ष स्थायी विपक्ष हो, वैकल्पिक सरकार पनि होइन । यही परिप्रेक्षमा संसदमा कांग्रेसको विपक्षी भूमिका खोजिने छ । 

हारेको कांग्रेस कुइरोको कागझैँ गोचर भएको छ । कांग्रेस अनन्त आकाशमा हराएको छ । स्थानीय तहदेखि केन्द्रसम्मै पनि कांग्रेस अनुपस्थित छ । सातवटा प्रदेशमा सभामुख र उपसभामुख निर्वाचन हुँदा कांग्रेस निदायो । बिर्सेर हो कि कसरी ! प्रदेश ५ को उपसभामुख पदमा कांग्रेस सदस्यको उम्मेदवारी प¥यो । विपक्षीको धर्म हो, हारकै लागि पनि उपस्थिति जनाउने । एमाले र माओवादी केन्द्रले एउटै पार्टीका रूपमा बहुमत दाबी गरेको र पार्टी एकता हुने घोषणा गरेको भए पनि कांग्रेसले सभामुख र उपसभामुख पद निर्विरोध हुन नदिने विपक्षी धर्म पूरा गर्नुपर्ने आवश्यकता पनि देखेन । जित्ने होइन भन्ने थाहै छ भने किन उम्मेदवारी दिनु भन्ने ठान्यो शायद । कांग्रेसले संविधान हेरेन, कांग्रेस पूरै निदायो । विपक्ष यसरी निदाउँदैन । प्रतिनिधिसभा (सभामुख/उपसभामुख) र राष्ट्रियसभा (अध्यक्ष/उपाध्यक्ष) अनि राष्ट्रपति र उपराष्ट्रपतिमा कांग्रेस के गर्छ कुन्नि ! निदाउने विपक्ष सशक्त हुँदैन । 

सरकारबाट विदा भएको दश दिन बित्दासम्म कांग्रेसका नेताहरू चुपाचाप छन् । संसदीय दलको नेता छानिएको छैन । कांग्रेस सत्ताबाट झरेर आराम गर्दैछ, हाई काढ्दैछ । बल्ल बैठकका लागि सुरसार गर्दैछ । तंग्रिन्छ कि लडखडाउँछ हेर्न बाँकी छ । 

कांग्रेसको भविष्य सुधार चार वटा पक्षमा निर्भर रहने छ । एक– विपक्षी दलका रूपमा प्रभावकारी/सकारात्मक भूमिका, दुई – कार्यकर्ताको आधारभूत तहदेखि केन्द्रसम्म सांगठनिक संरचनामा सुधार, तीन – सुनिने र देखिने नेतृत्व र चार– नीतिगत रूपमा युवा जमातको आकर्षण। 

बहुदलीय व्यवस्थाको पुनस्र्थापनायता कांग्रेसले यी चारवटै पक्षमा अलिकति पनि ध्यान दिएको छैन । विपक्षी भूमिकामा कांग्रेस कहिल्यै प्रभावकारी भएन । अहिले पनि त्यस पक्षमा सकारात्मक संकेत देखापरेको छैन । संगठन सुदृढीकरण कहिल्यै प्राथमिकतामा परेन । परिवर्तित सन्दर्भहरूमा पनि कांग्रेसलाई यस्तो आवश्यकताको बोध भएन । शान्ति प्रक्रियापछिको एक दशक कांग्रेस नीतिगत रूपमा सबैभन्दा बढी विचलित भएको छ ।  नेतैपिच्छे नीति छ । मेरा हजुरबा कांग्रेस, मेरा बाबु कांग्रेस भन्दै आएको पुस्तामा म पनि कांग्रेस भन्ने कथन मलिन हुँदै गएको छ । कांग्रेसमा किन भन्ने प्रश्न झन् झन् टड्कारो सुनिन थालेको छ । कांग्रेसले युवा पुस्तामा अलिकति पनि आकर्षण जागृत गर्न सकेको छैन । 

नेपालीमा एउटा सशक्त उखान छ– बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । कांग्रेसको बोली निम्छरो सुनिन थालेको छ । बोलीमा दम छैन । आफ्नो विपक्षसँग समानान्तर तहमा बराबरीको वहस गर्ने क्षमतामा कांग्रेस नेताहरू निरीह सावित हुँदै गएका छन् । दृष्टान्त दिऔँ । गगन थापा सशक्त वक्ता हुन् । वाक्पटुता र तर्कशीलतामा अजोडी छन् । उनमा अन्तरनिहित शक्ति बलियो छ । भन्न करै लाग्छ केपी ओली–गगन थापा सन्तुलन गर्दैन । 

कांग्रेस अवसानको बाटोमा जान्छ कि पुनर्जागरणको, त्यो आगामी दिनमा माथि लेखिएका चार वटा पक्षमा उसको भूमिकाले निर्धारण गर्नेछ । प्रष्ट छ, बितेको साढे दुई दशकमा कांग्रेस जे देखियो त्यो कांग्रेसले अबको कांग्रेस धान्दैन । अबको पाँच वर्ष सुनिने कांग्रेसले मात्रै कांग्रेस धान्न सक्नेछ । सुनिएपछि देखिँदै जानेछ । र, कांग्रेसकै भनाइमा प्रजातन्त्रमा, संसदीय व्यवस्थामा सशक्त विपक्षी नभए सत्तापक्ष/सरकार निरंकुश हुँदै जानेछ । 

(हिमालय टाइम्स दैनिक)

Leave a reply

HTML Tags are not supported

Post My Comment »