जुम्ल्याहा सहिद राम लक्ष्मण : जन्म र मृत्यु सँगसँगै

१६ फाल्गुन २०७४

banner

  • विजयप्रसाद मिश्र

दुई प्रखर बक्ता एकै दिन जन्मिए, प्रजातन्त्रका लागि संगै राजनीति गरे, संगै जेल परे, संगै जेलवाट भागे र  शेनाको कारबाहीमा संगै सहिद भए। कस्तो संयोग मिलेको। जे पनि जहिले पनि संगै । कस्तो अविस्मरणीय जोडी। नेपाल कै इतिहासमा यस्तो संयोग मिलेको जोडि न पहिले कोही थिए, न अहिले कतै भेटिन्छन् । यस्तो भाग्यमानी जोडि हुन, प्रजातन्त्रका लागि संगसंगै ज्यान अर्पन गर्ने सिरहा, लहानका राम-लक्ष्मण अर्थात रामप्रसाद पौडेल र लक्ष्मण प्रसाद पौडेल।

उनीहरु वि.सं. २००४ साल बैशाख २२ गते सगरमाथा अञ्चलको उदयपुरगढीमा जन्मिएका थिए।  बुबा खरिदार विष्णुप्रसाद उपाध्याय सरकारी कामको सिलसिलामा उदयपुरगढीमा जागिरे हुँदा उनीहरुको जन्म भएको थियो । संगै जन्मिएका र अनुहार उस्तै भएकाले बुबाले राम–लक्ष्मण नाम राखिदिएका थिए ।

उदयपुरगढीमा जन्मिएका राम–लक्ष्मणले आफ्नै घर भएको स्थान लहानमा प्राथमिक स्तरको शिक्षा आर्जन गरे भने बस्तीपुर माध्यमिक विद्यालयवाट वि.सं. २०१८ सालमा एस.एल.सी. उतीर्ण गरेपछि क्याम्पस पढ्नका लागि शुरुमा काठमाण्डौ गए।  त्यहाँ अनुकुल नभएपछि विराटनगर आए । वि.सं. २०१९ सालदेखी विराटनगरको मोरङ् क्याम्पसमा व्यवस्थापन तर्फ प्रमाणपत्र तहमा पढ्न थालेका दुबै भाइलाई व्यवस्थापन विषयमा रुची नभएपछि  मानविकी तर्फ सरे । बिराटनगर मै बसिरहेको अबस्थामा उनीहरु एक बर्ष बनारस तर्फ पनि गए । त्यस बखत बनारसमा नेपाली विद्यार्थीलाई संगठित गरी क्रान्ति गर्नका लागि शैलजा  आचार्यको अध्यक्षतामा ‘प्रजातान्त्रिक समाजवादी दल’ खोलिएको थियो । राम-लक्ष्मण यसको संगतमा लागि आफ्नो राजनैतिक जीवनको बौद्धिकतालाई तिखार्ने अबसर पाए ।

उनीहरु दुई भाइ एकै ठाउँ बसेर बी.बी.सी. सुन्ने, भारतीय अखवारहरु पढ्ने, राजनैतिक दर्शनका पुस्तकहरु पढ्ने र आपसमा तर्क वितर्क गरी बहस गर्ने गर्दथे । यसले उनीहरुलाई धारा प्रबाह भाषण गर्न सजिलो तुल्यायो।

बनारसवाट फर्किएर विराटनगर आएपछि उनको भेट गिरिजाप्रसाद कोइराला, बद्रिनारायण बस्नेत, शिब नारायण बस्नेतसंग भयो । यीनीहरुले पढाइलाई भन्दा क्रान्तिलाई प्राथमिकता दिएका थिए । त्यस बखत विराटनगर आन्दोलनको केन्द्रविन्दु थियो । उनीहरु विद्यार्थी राजनीतिमा अगुवा भएका थिए । यिनीहरुले वि.सं. २०२६ सालमा पहिलो पटक विपी कोइरालासंग भेटने अवसर पाएका थिए।

विराटनगरको विद्यार्थी आन्दोलनमा अग्रसर हुँदा पटक पटक पक्राऊ पर्ने र छुट्ने गर्दथे । क्याम्पस भित्र मात्र होइन, बाहिर बजारमा पनि धाराप्रवाह भाषण गरी सबैलाई मंत्रमुग्ध पार्ने राम–लक्षमणको भाषणको प्रसंग सुनाउँदै विराटनगरका ६० बर्षिय मुन्नु अर्याल भन्छन्, ‘पढाइमा त ठीकै थिए तर उनीहरुको भाषण भनेपछि मानिसहरुको भीड लाग्दथ्यो । माइक पनि नचाहिने । एक भाइले बोलिरहेको ठाउँवाट अर्कोले तत्काल शुरु गरिहाल्थे । उनीहरु दुई जनाले बोलेपनि कतै कुरा दोहोरिदैनथ्यो । प्रखर बक्ता भएकाले नै प्रहरीको हिट लिष्टमा उनीहरु पर्दथे । दुर्गा सुवेदीको विचारमा उनीहरु मोरङ् कलेज कै हिरो थिए ।  दिनभरी भाषण गरेर भाषिएको स्वर ठीक पार्न  साँझमा आएर गलामा चुन दल्थे ।’

भाषणवाट सबैलाई प्रभावमा पार्न सक्ने खुबी भएका दुई भाइ नै राजनीतिमा सक्रिय थिए । त्यसैले मोरङ् क्याम्पसमा हुने विद्यार्थी यूनियनको निर्वाचनमा लक्ष्मण सचिबमा उठेर विजयी भए । पहिले विद्यार्थीको निर्वाचन प्रजातन्त्रवादी र प्रगतीशील गरी दुई खेमाको हुन्थ्यो । वि.सं. २०२७ सालमा राम नेविसंघको केन्द्रिय समितिमा पहिलो पूर्वाञ्चल उपाध्यक्षको रुपमा चयन भए । विराटनगरमा नेविसंघको संगठन बढाउनमा राम– लक्षण दिनरात खटेका थिए । दुर्गा सुवेदीको भनाइमा उनीहरु संगठन बढाउन खप्पिस थिए, केटीहरुलाई त सजिलै संगठनमा ल्याउँथे । उनीहरुको केटा भन्दा बढी केटी साथीहरु थिए।

नेपाली कांग्रेसले विराटनगरमा जनमुक्ति सेनाको यूवा सेल गठन गरेको थियो । २५ जनाको त्यो सेलमा  राम–लक्षमण पनि सहभागी थिए । उनीहरुको लागि विराटनगरको सिंहिया खोलामा स्टेनगन चलाउने, थर्टि टू रिभल्भर चलाउने र ग्रिनेट फोड्ने ‘डेमोस्ट्रेशन’ संचालन गरिएको थियो, जसमा दुबै सहभागी भएका थिए । त्यतिखेर हतियार बिसु कोइराला र विजय कोइरालाको घरमा राख्ने गरिएको थियो ।

 यता, मोरङ् क्याम्पसको नामको अगाडी ‘महेन्द्र’ थपेको विरोधमा विद्यार्थीहरुले आन्दोलन गरेका थिए । मातृकाप्रसाद कोईराला, भूपालमान सिंह जस्ताले यो थप्ने काम गरेकोले यसको विरुद्धमा आन्दोलन गर्दा राम विराटनगरमा पक्राऊ परे । अघिदेखि पक्राऊ परि थुनामा रहेका दुर्गा सुवेदीले रामको विद्रोही चरित्रको संझना गर्दै भने, ‘प्रहरीसंग बाझ्दै रामले डीएसपीको मूख मै थुकि दिएका थिए ।’

राम-लक्ष्मणले विराटनगरमा आन्दोलन चर्काउन खेलेको भूमिका देखेर एक दिन उनका दाजु वेदराज पबनलाई हिरण्य पाण्डेले उनीहरु हदभन्दा अगाडी बढी सकेकोले त्यस्तो कृयाकलाप रोक्न सुझाव दिएका थिए । लहान घर गएको बखत राम-लक्ष्मणलाई उनका दाजु र बुबाले संझाउदै भनेको थिए,‘ हामी तिमीहरुलाई राजनीति छोडनु भनेर कहिल्यै भन्दैनौ । राजनीति गर्नु अपराध होइन तर पढाइ नै बिगारी भौतारिनु राम्रो होइन । पहिला हातमा डिग्रि लिनु पर्दछ ।’ राजनैतिमा धेरै अघि बढीसकेका राम-लक्ष्मणलाई अभिभावकको सुझावले कुनै काम गरेन। उनीहरु झन् झन् राजनीतिमा सक्रिय हुदै गए।

राम–लक्ष्मण विराटनगरको आन्दोलनमा मात्र सिमित रहेनन् । २०२८ सालमा रमाइलो झोडामा भूतपूर्व सैनिकहरुलाई बसाउन खोजिएको थियो । नेपाली कांग्रेसका सहिद परिवारलाई त्यहाँ ४ –४ विघा जग्गा दिइएको थियो । पञ्चायति शासकले उनीहरुको बस्ती उजाडेर प्रजातन्त्रका समर्थकहरुलाई मार्ने काम गरेका थिए । यो घटनामा पीडितलाई सहयोग गर्न विराटनगरवाट नेपाली कांग्रेसका यूवाहरु त्यसतर्फ गएका थिए । त्यही टोलीमा राम – लक्ष्मण पनि थिए । उनीहरुले पञ्चायती प्रसाशकले घटना स्थलमा गरेको ताण्डव आफ्नै आँखाले देखे । घटनामा ३५ जनाको मृत्यु भएको थियो । तीन दिन सम्म राम–लक्ष्मणले घाइतेहरुलाई उपचारमा सहयोग पुगाए।
 
घटनाको विरोधमा वि.सं. २०२८ सालमा मोरङ्को महेन्द्र राजमार्गमा पर्ने गछियाको उत्तर तिर रहेको सिटौला बस्तीवाट कांग्रसका यूवाहरुले बैलगाडामा राक्षसको आकृति बनाएर राखी प्लेकार्ड सहित जुलुश निकाले । त्यो जुलुश राम –लक्ष्मणको अगुवाइमा गरिएको थियो । सोही दिन साँझमा दुबै पक्राऊ परे । प्रशासनले रामलाई तेह्रथुम र लक्ष्मणलाई धनकुट्टा जेल चलान गर्‍यो । उनीहरु दुबै छुट्टा छुट्टै बस्नै सक्दैनथे । जेल भित्रै विद्रोह गरेर दिन रात झगडा गरेपछि रामलाई पनि धनकुट्टा ल्याइएको थियो।

 धनकुट्टावाट विराटनगर कारागारमा ल्याउन उमेश गिरी केही साथीलाई लिएर धनकुट्टा डेलिगेशन गएका थिए । उनीहरुको अनुरोध पछि राम– लक्ष्मणलाई जेल सरुवा गरी विराटनगर ल्याइयो । विराटनगर कारागार भित्र हुँदा उनीहरुसंगै अशोक कोईराला पनि थिए । तीन बर्ष विराटनगर कारागार भित्र बसेर प्रजातन्त्र र पार्टीको लागि योगदान दिन नपाएकोमा राम-लक्ष्मण निरास थिए र विद्रोह गरिरहन्थे । उनीहरु जेलवाट भागेर संघर्ष गर्न चाहन्थे ।

उनीहरु सधैं जेलमा बस्दा केही नपाइने र प्रजातन्त्रका निम्ति बलिदान हुने अमर सहिदको आकांक्षा  बाँचेका तरुणहरुले पुरा गर्नु पर्दछ भन्ने विचार राख्दथे । तर अशोक कोइराला उनीहरुको बिचारमा खिल्ली उडाउँथे।

राम–लक्ष्मणको जेल जीवन कष्टकर भएकोले क्ष्ँयरोग लागि सकेको थियो । जेलमा ए.पी.सी. ट्याबलेट मात्र दिने गरेकोले डाक्टरलाई यिनीहरु उनको कर्तव्यको वारेमा सिकाउन पछि पर्दैनथे ।

जेल भित्र विद्रोह गर्दा यिनीहरु बारम्बार भन्ने गर्दथे, ‘हामी जन्मदा संगै जन्मियौ र मर्दा पनि संगै मर्दछौं ।’ जेल प्रशासनसंग पनि झगडा गरिराख्ने स्वभावका यिनीहरुको स्वभावको विश्लेषण गर्दै दुर्गा सुवेदी भन्छन्, ‘ राम-लक्ष्मण क्रान्तिकारी होइनन् बिद्रोही हुन । क्रान्तीमा कहिले काँही अगाडी बढने र कहिले पछि सर्ने पनि हुन्छ । तर यिनीहरु कहिल्यै पछि सर्ने स्वभावका थिएनन् । जहिले पनि विद्रोह नै गरिरहनु पर्ने ।’

ओखलढुङ्गा काण्ड र ओडारमै हत्या :
भारतमा बसिरहेका नेपाली कांग्रेसका नेताहरुले प्रजातन्त्रको पुर्नबहालीका लागि नेपालको विभिन्न ठाउ“मा आक्रमण गर्ने योजना बनाए । यही योजना अन्तर्गत पूर्वाञ्चलको ओखलढुङ्गामा रहेको नेपाली शेनामाथी आक्रमण गरी कब्जा गर्ने पनि थियो । यस योजनामा नजिकवाट सहभागी भएका उमेश गरी भन्छन् ‘योजना कप्तान यज्ञबहादुर थापाले बनाए, अनुमोदन गर्नेकाम गिरिजाप्रसाद कोइरालाले गरे भने बी.पी.ले ‘एस’ भनेर स्वीकृति दिएका हुन ।’

उमेश गिरी ओखलढुंगा जाने मिशनको वाटो हेर्न गिरिजाप्रसाद कोइरालाको आदेशमा सुनसरी हरिनगराका प्रकाश कोईरालासंगै भारतको जयनगरमा गई बसे । गिरीका अनुसार उहाँको मामाघर जनकपुर भएकोले जयनगरवाट कमलाको तिरै तिर सिरहाको मिर्चैया जाने वाटोको वारेमा नक्शा बनाउन सजिलो भएको थियो । कप्तान यज्ञबहादुरको नेतृत्वमा आउने ३७ जनाको टोलीलाई जयनगरमा कहा“ उतार्ने, हतियार कसरी ल्याउने र कहाँ लगेर हतियार दिने सबै नक्शा बनाउन गिरी खटिएका थिए । जयनगर कै कुनै होटलमा बसेर उनले सबै योजना बनाए । उनले ३७ जना जयनगर भन्दा एक स्टेशन अघि नै ओर्लने । उनीहरुले साथमा हतियार लिएर नआउने । जयनगरमा कमला नदीवाट बोर्डर क्षेत्रमा निकालिएको नहरै नहर गएपछि आउने आ“पको ठूलो बगैंचामा साँझको समयमा सबैलाई भेला गरी त्यही नेपाली शेनाले लगाउने पोशाक लगाउने र हतियार दिएर नेपाल तिर पठाउने र उनीहरु कमला नदीको तिरै तिर मिर्चैया पुग्ने योजना बनेको थियो ।

उता ३७ जनाको समुहमा राम लक्ष्मण पनि जाने ईच्छा व्यक्त गरेका थिए । बी.पी. कोइरालाले तिमीहरु सक्दैनौ नजाओ भनेका थिए । धेरै जिद्धि गरेपछि दुबैमध्ये एक जना मात्र जाओ भनिएको थियो । तर पनि उनीहरु मानेनन् । त्यसपछि उनीहरुलाई राजनैतिक कमिशार बनाएर पठाइएको थियो ।  

हतियार र नेपाल आर्मिको पोशाक दिल्लीवाट बनारस र बनारसवाट पटना ल्याईएको थियो । समस्तीपुरको ढोली भन्ने ठाउ“मा क्रान्तिकुमार सिंहको जमिन्दारी भएको ठाउँमा सबै भेला भएका थिए । त्यहाँवाट मिशनमा जानेहरु रेलमा चढेर भनेको ठाउ“मा पुगे । यज्ञबहादुर, गिरिजाप्रसाद र बीपी कोइराला एउटा जीपमा र अर्को जीपमा हतियार लिएर जयनगरको बोर्डर छेऊको फुलवारीमा पुगे । झमक्क साँझ परेको बखत सबैले हत्तपत्त जीपवाट नेपाली शेनाको पोशाक निकालेर लगाए र भएको हतियार, ग्रिनेट सहितका झोलाहरु बोके । जाडोको मौसम भएकोले अरुले नचिनुन भनेर बाँदर टोपी लगाएर बसेका उमेश गरीलाई मिशनमा जानेहरुले पनि त्यस्तै टोपि किनिदिनु भने । उनले ४० वटा टोपी किनेर दिए । सबैले त्यो टोपी लगाए ।  ल्याएको हतियार बढी भएको थियो । उमेश गिरी भन्छन्,‘ कति जनालाई त दुई दुईवटा स्टेनगन थमाई दिंए । हतियार ३६ वटा मानिस ३०– ३१ जना मात्र । गाईड पनि छैन ।’ हतियारमा स्टेनगन, पिस्टन, एसएलआर र ह्याण्ड ग्रिनेट थियो । नेताहरु फर्किए । उनी भन्छन्,‘जुनेली रात भएकोले सेतो जंगे पिलर देखिएको थियो । उनीहरुलाई ऊ त्यही सीमाको पिलर भन्दै बाटै वाटो उत्तर लाग्नु भनेर  मिशनलाई विदा गरे । ’त्यो दिन उमेश गिरी जयनगर मै बसे ।  

ओखलढुङ्गामा कप्तान यज्ञबहादुरका भान्जा नेपाली शेनाको नेतृत्वमा थिए । उनले जनमुक्ति सेना गएपछि सेलेण्डर गर्ने र सजिलै ओखलढुङ्गा कब्जा गर्ने योजना बनेको थियो । त्यसैले मिशन गोप्य भएमा त्यहाँ युद्ध नभई नाटक मात्र मञ्चन हुन्थ्यो । तर मिशनका सूचनाहरु चुहिन थाल्यो ।

मिशनमा जाने नामावलीमा परेका गोपाल राई जयनगरसम्म नै आई नपुगेको उमेश गिरीले वताए । त्यसवखत राईका बुबा कटारीका थानेदार थिए । राई मिशनमा सहभागी हुन्छु भनेर पनि नआउनुमा रहस्य भएको टिम्बुरबोटे काण्डका जिउदो सहिद एल.बी. गुरुङले पनि भनेका छन् । नेपालमा बहुदल आइसकेपछि ओखलढुङ्गावाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन नपाएपछि  गुरुङ धुरुधुरु रुदै भनेका थिए, ‘ओखलढुङ्गा आक्रमण गर्नेबेलामा गोपाल राई चुरे पहाड नै चढन नमानी फर्कियो। महेश कर्मोच्चा सेनाले आक्रमण गरेको एक दिन अघि जाडो भयो भनी कम्मल लिन गएको मानिस फर्किएर आएन । यस्ताले मलाई कसरी प्रतिनिधि बन्न दिन्छन ?’

उमेश गिरी जयनगरको घटना संझदै भन्छन्,‘ मिशनमा गएका मध्ये दीप देवान र ढकबहादुर राई(साङपाङ)भोली पल्ट फर्किएछन्। उनीहरुले हामी बसेको होटलमा चिठ्ठी छोडेका रहेछन्। ’ उमेश गिरी हत्तपत्त उनीहरु बसेको ठाउ“मा गए । दुबैजना भट्टीमा जाँड खादै गरेको उनले भेटेर कुराकानी गरेछन् । किन आएको ? के भायो ? एकै पटक उमेश गिरीले प्रश्न गरेपछि उनीहरुले यज्ञबहादुरले हामीलाई छोडेर गए भनि जबाफ दिए । राईले भनेछन्,‘दीप देवानको झोला टुटेकोले हामीले पर्खिनुस भन्यौ । तर यज्ञबहादुरले तपाईसंग वाकिटकी छदैछ कुरा गरेर आउनुहोला हामी जादैछौं भने । पछि बाटो विराएर कत्ति खोज्यौं, वाकिटकी पनि कन्टक्ट नै भएन र फर्कियौं ।’ उमेशले उनीहरुको कुरा सुनेर छक्क मान्दै अब के गर्ने भन्ने समस्यामा परे । उनीहरुलाई तिमीहरुको हतियार खाई भनी सोधेछन् । नदीको बालुवामा गाडेर आएको भनी झुट बोले भन्ने गिरीले आरोप लगाए । गिरीले ती दुबैलाइै हेडक्वाटर जाँऔ  भन्दा पनि नमाने पछि उनीहरुसंग भएको वाइनाकुलर र वाकिटकी लिएर राती नै साढे पाँच सय भारुमा जीप रिजर्भ गरी पटना तर्फ लागेछन् । बिहानी पख ४ बजे उनी पटना पुगे र नेताहरुलाई बेलिविस्तार लगाए । यता उनीहरुले रहरी बारीमा हतियार र नक्शा छोडेका रहेछन् । विहानी पख चरुवाहरुले त्यो देखे पछि हल्ला भयो। झिंझाका डाकाहरुले हतियार लगेछन् । नक्शा र झोला पछि शेनाले लगेको मातृभुति साप्ताहिकमा प्रकाशन भयो । त्यसपछि मिशनमा जानेहरुको खोजी सरकारले तिब्र गतीमा गरेको थियो।

यज्ञ बहादुरको नेतृत्वमा गएको मिशनलाई बाटो देखाउने मानिस नभएकाले भोली पल्ट दिउसो ११ बजे मात्र हाईवे क्रश गरी मिर्चैया पुगेछन् । ओखलढुंगाको तोकिएको स्थानमा तेस्रो दिन पुग्नु पर्नेमा २५ – २६ दिन लगाएर पुगेका थिए । रामलक्ष्मण राजनैतिक कमिसार भएपनि उनीहरु कलिलै उमेरका भएकाले हतियार चलाउन पनि आउदैनथ्यो । पहिलेको सोलुखुम्बु र अहिलेको ओखलढुंगामा पर्ने टिम्बुरवोटेको ओडारमा गएर मिशन बस्यो । सरकारी सेनाले काठमाण्डौवाट थप सेना बोलाएर उनीहरु बसेको ओडारमा लञ्चरले हान्दै  २०३१ साल पुष १ गते विहानीपख आक्रमण गरे । जीवित रहेकाले बताए अनुसार युद्ध गरेकालाई ओडार भित्र पसे झन् बाच्न असम्भव भन्ने थाहा पाएर फुत्त फुत्त निस्किदै भागेका थिए । तर युद्धको ज्ञान नभएका राम लक्ष्मण भाग्न भन्दा पनि प्रजातन्त्र जिन्दावादको नारा लगाएर कराई रहे ।

सेनाले हानेको बमले उनीहरुको ज्यान गयो । प्रजातन्त्रका लागि ओडारमै सहादत प्राप्त गरे।  एकै दिन जन्मिएका राम लक्ष्मणको एक दिन एकै ठाउँमा एकै च्यानमा मर्नु पर्‍यो । धार्मिक विधि अनुसार लाश जलाउन समेत परिवार जनले पाएनन्।

प्रजातन्त्रका लागि उदाएका दुई तारा प्रजातन्त्रको लागि संघर्ष गर्दा गर्दै अस्ताए । लहानका दुबै भाइ सहिद भए। पछिल्लो चरणमा लहानमा भएको मधेस आन्दोलनमा सहिद भएकाहरुको सालिक सम्मान स्वरुप लहानमा राखिएको छ । नेपाली कांग्रेसले लहानमा सहिद राम लक्ष्मणको सालिक राख्नु पर्ने माग बढेर गएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष