जुम्ल्याहा सहिद राम लक्ष्मण : जन्म र मृत्यु सँगसँगै भाग-२

२२ फाल्गुन २०७४

banner

सहिद राम लक्ष्मणको अगुवाईमा वि.सं. २०२८ सालमा मोरङको महेन्द्र राजमार्गमा पर्ने गछियाको उत्तर तिर रहेको सिटौला बस्तीवाट कांग्रसका यूवाहरुले बैलगाडामा राक्षसको आकृति बनाएर प्रदर्शन गरेका थिए। सोही दिन साँझमा दुबै पक्राऊ परे। प्रशासनले रामलाई तेह्रथुम र लक्ष्मणलाई धनकुट्टा जेल चलान ग¥यो। उनीहरु दुबै छुट्टा छुट्टै बस्नै सक्दैनथे । जेल भित्रै विद्रोह गरेर दिन रात झगडा गरेपछि रामलाई पनि धनकुट्टा ल्याइएको थियो । धनकुट्टावाट विराटनगर कारागारमा ल्याउन उमेश गरी केही साथीलाई लिएर धनकुट्टा डेलिगेशन गएका थिए। उनीहरुको अनुरोध पछि राम- लक्ष्मणलाई जेल सरुवा गरी विराटनगर ल्याइयो।

विराटनगर कारागार भित्र हुँदा उनीहरुसंगै अशोक कोइराला पनि थिए। तीन बर्ष विराटनगर कारागार भित्र बसेर प्रजातन्त्र र पार्टीको लागि योगदान दिन नपाएकोमा राम-लक्ष्मण निरास थिए। जेल भित्रै  विद्रोह गरिरहन्थे। उनीहरु जेलवाट भागेर संघर्ष गर्न चाहन्थे । उनीहरु सधैं जेलमा बस्दा केही नपाइने र प्रजातन्त्रका निम्ति बलिदान हुने अमर सहिदको आकांक्षा बाँचेका तरुणहरुले पुरा गर्नु पर्दछ भन्ने विचार राख्दथे।

राम-लक्ष्मण कारागारवाट बाहिरि दुनियामा गई प्रजातन्त्रका लागि संघर्ष गर्न चाहन्थे । उनीहरुको चाहना पुरा गर्न विराटनगरका विनोद अर्याल, उमेश गिरी, मुन्नु अर्याल, अमृत अर्याल र कुमुद लोहनीले साथ दिएका थिए ।

नेपाली कांग्रेसले हवाइजहाज अपहरण गरेर रकम जम्मा गरेको खबर थाहा पाएपछि विद्रोही स्वभावका राम-लक्ष्मणको झन् हौसला बढ्यो । उनीहरु पनि केही त्यस्तै काम गर्न चाहन्थे ।

त्यसको लागि कारागारवाट बाहिर निस्कनु आबश्यक थियो । सबैभन्दा पहिले उनीहरुले आफ्नो बानी व्यहोरामा नाटकीय ढंगले परिवर्तन गरी कारागार प्रशासनसंग नरम रुपमा प्रस्तुत भए।

विरामी भएको बहानामा सधैंजसो कोशी अस्पतालमा उपचारको लागि आउने व्यवस्था मिलाए । ८–१० जना प्रहरी गार्ड लिएर सधै अस्पताल आई उपचार गरेर जान्थे। उनीहरुलाई कारागारवाट भगाउने योजनामा नजिकवाट सहभागि भएका मुन्नु अर्याल भन्छन, ‘राम–लक्ष्मणलाई उपचारका लागि ल्याउने प्रहरी ३-४ कक्षा मात्र पढेको रहेछ । उसलाई बढुवा हुन ७ कक्षाको सर्टिफिकेट चाहिने । म आदर्श विद्यालयको शिक्षक थिए।

राम लक्ष्मणलाई सधैं कारागारमा भेटन जा“दा ती प्रहरीसंग भेट भएको थियो। उनलाई मैले ७ पासको सर्टिफिकेट बनाइदिन्छु भनेपछि राम-लक्ष्मणलाई राम्रो गर्न थालेका थिए।’ राम लक्ष्मणलाई भगाउने योजना सफल बनाउन विनोद अर्याल दुईवटा पेस्तोल लिएर विराटनगर आए। उनले जेलमा भेट्न जानेहरुलाई खवर पठाएर भाग्ने योजना बनाइदिएको बताए। राम लक्ष्मण उपचारको क्रममा बाहिर आउँदा भाग्नु पर्ने थियो। प्रहरीले नछोडला भनेर उनीहरुका  साथीले अस्पताल नजिकको पसलमा सधैं प्रहरीलाई पेटभरी मिठाई खुवाउथे । मिठाई खान पाएपछि प्रहरीहरु पनि नरम हुदै गए ।

उता उनीहरुलाई वोर्डरसम्म पु¥याउन रघुपति जुट मिलमा तत्कालिन जी.एम.पदमा कार्यरत सी.पी. लोहनीले प्रयोग गर्ने माथी कपडाको हुड भएको जीप लाने तयारी गरिएको थियो । यसका लागि लोहनीका भतिजा कुमुद मौका कुरेर जीपलाई तयारी हालतमा राखेर बसेका थिए ।

मुन्नु अर्याल भन्छन्, ‘भाग्ने योजना बनाएर एक दिन कुमुद लोहनीले जीप पनि अस्पताल अघि रहेको मिठाई पसलवाट केही पर गणेश मंदिर नजिक लगेर राखिएको थियो । तर त्यो दिन योजना सफल नभएकोले उनीहरु प्रहरीसंगै जेल तर्फ गए ।’ भोली पल्ट नै फेरी उपचारका लागि अस्पताल आए । फर्किने बेलामा नास्ता पसलमा प्रहरीहरु मिठाई खाईरहेको बखत राम लक्ष्मणले न्यू फेशन टेलर्सवाट सर्ट पाइन्ट लिएर आउछु भने । टेलर्स नजिकै भएकोले छिटो आउनु होला नि भनी प्रहरीले जाने आदेश दियो । उनीहरु केही पर पुगेपछि कुद्दै मुन्नु अर्यालको मामा ठाकुर कोइरालाको घर नजिकको झाडीमा लुक्न पुगे ।

                                         डा विजयप्रसाद मिश्र

कहाँ गएछन् भनी खोज्दै जाँदा अर्यालले झाडीमा भेटेपटि मामाको घर भित्र पसाए । उनीहरु भाग्दा बिहानको १०-११ बजेको थियो । मुन्नु अर्याललाई प्रहरीले राम्रोसंग चिन्ने भएकोले त्यतिखेर सानै उमेरका रहेका अमृत अर्याललाई साइकल दिइ जीप ल्याउन कुमुद लोहनीकोमा पठाइयो । हरिनगरा जान लागेको जीप उता नलगि दिपकले राम लक्ष्मण लुकेको घरमा ल्याए । राम लक्ष्मणलाई जीपको सिट मुनि लुकाई अगाडी अमृत अर्याल र दिपक लोहनी बसेर रघुपति जुट मिलसम्म पु¥याए । यो काम एक घण्टा भित्र मै भयो । प्रसाशनले बोर्डर सील गरेको भएपनि जुट मिलसम्म जान जी.एम. चढने जीपलाई कसैले रोकेनन् । जुटमिलको प्रखाल नाघेपछि जोगवनी भारत तर्फ पुगिने भएकोले ९-१० फिटको दिवाल छर्पिन लगाएर उनीहरुलाई भारत पठाइयो ।

धेरै संघर्ष गरेर कारागारवाट भागेका राम-लक्ष्मणको बारेमा उनीहरुसंगै कारागारमा रहेका अशोक कोइरालाले भारतमा रहनु भएकी नोना कोइरालालाई पत्र लेखी उनीहरु राम लक्ष्मण सरकारसंग मिलेर भागेको आरोप लगाउनु भएको थियो । भागेर भारतको सागरनाथ पुगेका राम–लक्ष्मणलाई नोना कोइरालाले ‘यहाँ बस्नु हुदैन’ भन्दै राजघाटको पार्टी अफिसमा लगेर राखिदिएका थिए ।

राम-लक्ष्मणले भारतमा रहेका दुर्गा सुवेदीसंगको भेटमा नोना कोइरालाले बाकस चेक गरेको र गोपाल राईले चियो चर्चा गर्न थालेकोमा दुःख लागेको वताएका थिए भने उमेश गिरीसंगको भेटमा अशोक कोइरालाले उनीहरुको विरुद्धमा कुरा गरेको थाहा पाएपछि उनलाई कुनै पनि हालतमा नछोडने भनी आक्रोश व्यक्त गरेका थिए । पार्टी भित्रै मनमोटाव भएपछि बी.पी. कोईरालाले रामलक्ष्मणलाई आगरामा लगेर राखेका थिए। राम लक्ष्मणमाथी अशोक कोइरालाले लगाएको आरोपको सफाइमा उनीहरुले लेखेको पत्रको व्यहोरा यस्तो थियो ।

.राम लक्ष्मण फरार भए भन्ने सुन्ना साथ मेरा साथीहरु बीच स्वभावत : एउटा प्रश्न आउँछ। किन यी दुबै जेलवाट भागे ? के तीन बर्षको कठोर जेल यातना देखी असह्य भएर कुनै सुखि जीवनको तलासमा कि सरकारले बन्दुकको घेरा भित्र घरि धनकुट्टा र तेह्रथुमको असह्य उकालो चढाएर घरि बिराटनगर जेल र राजविराज जेलको त्रस्त गर्मी र औलोमा यिनीहरुलाई राखेर यिनीहरुको शरिरलाई दुब्लो र क्षीण बनाउनुको साथ साथै यिनीहरुको ढुकढुकीमा चट्टानसरह रहेको लोकतन्त्र, राष्ट्रियता र समाजवाद जस्तो पवित्र आदर्शलाई पनि कमजोर र शुन्य बनाईदियो ।

असंख्य क्रान्तिकारी यूवकहरुलाई जेलनेलमा राखेर सुख र शान्तिको क्षणिक निःश्वास फेर्ने निरंकुश सरकारलाई पनि यो किन भन्ने प्रश्नले विचलित पारेको होला । यस सरकारले जेलमा असंख्य यूवकलाई थुन्न सक्छ तर तिनीहरुको आदर्श, आस्थ र विचार नि ? आजको यूवकको हृदयमा दन्केको आगोको ज्वालालाई निभाउने शक्ति के यस नपुंसक सरकारमा छ ?

क्रान्तिको लागि होमिएका अनेक असाध्य कष्ट र दुःख खपेका र जेलमा बसेका तरुणहरु त क्रान्तिका बरदपुत्र हुन। यो दुष्ट सरकारले दुईचार बरदपुत्र मार्न सक्छ,थुन्न सक्छ तर क्रान्तिरुपी आमालाई जनमानसमा व्याप्त छिन कदापि रोक्न सक्दैन।

जेल भित्र र बाहिर यातना सहेर बस्नु भएका साथीहरुलाई हामी यसै लेख द्वारा विश्वास दिलाउन चाहन्छौं । हामी त्यसै आदर्शको स्थापनाको लागि गर्न र मर्न आएका हौं जसको लागि हाम्रा साथीहरु जीवन र मृत्युको दोसाधमा झुडिरहनु भएको छ । हामी कुनै आनन्द र सुखी जीवनको तलासमा जेलको यातना सहन नसकेर भागेका होइनौं । कष्टलाई त हामी आफ्नो जीवनको बरदान ठान्दछौं । पौराणिक कथामा बाल्मीकिले भगवान रामसंग आजीवन दुःख पाउ“ भनि बरदान मागेको प्रसंग भेटिन्छ ।

पुरुषोत्तम रामले किन भनी प्रश्न गर्दा बाल्मीकिले भनेका थिए, किन भने सुखमा हजुरलाई विर्सन्छु । दुःखमा त सदा हजुरकै संझना रहन्छ ।

सोही परी हामी पनि दुःखको कामना गर्दछौं । खुसी जीवनमा  त दुष्कर लोकतन्त्र र समाजवादको वाटो कठिन र असह्य हुन जान्छ । यही दुष्कर बाटोमा हिंडने मोहलाई त्याग्न नसकेर हामी जेलबाट भागेका । हामी जेल परेपछि नेपालका अनेक किसिमका क्रान्तिकारी घटनाहरु घटे ।
बीरेन्द्रको सिंहासन हल्लिन थाल्यो । उनका चम्चाहरु डरले काँप्न थाले र हामी जेलका मानिस बढी उत्तेजित हुन थाल्यौं । लोकतन्त्रको स्थापनाको यत्रो ठूलो तयारीमा हाम्रो केही पनि योगदान नहुने भयो भन्ने प्रश्न मात्रले । बम र पिस्तौलको टडकारो शब्द हामी जेलभित्र पनि सुन्थ्यौं ।

हाम्रो विचार सक्रिय र सजीब थियो तर हाम्रो शरिर पर्खालको घेरा भित्र बाँधीएको थियो जो मात्र बरबराउन सक्छन् गर्न केही सक्दैनन् । यसै सन्दर्भमा एउटा कुरा बताइ दिऊ- अहिले नेपालको राजनीतिको सन्दर्भमा हामी हिंसामा विश्वास गर्दछौं । हिंसा हाम्रो लक्ष्य होइन । यो त हाम्रो महान् लक्ष्यको प्राप्तिको सशक्त र सबल साधन हो । त्यसैकारण गिरिजाप्रसाद काइरालाको क्रान्तिकारी व्यक्तित्व प्रति हाम्रो असिम श्रद्धा र स्नेह छ । किनकी उहाँले देशभरीका तरुणहरुको क्रान्तिकारी भावनाको कदर गर्नुभएको छ । क्रान्तिकारी तरुणहरुको समर्थन र सहयोग गरेर उनीहरुमा अदम्य उत्साह र साहस प्रदान गरेर पार्टी र नेतृत्व प्रति नयाँ आस्थाको सृजना गर्नुभएको छ ।

हेर्नुस बेलेटिन नंं. ५ तरुण पत्रमा गिरिजाप्रसाद कोइरालाको बक्तब्य) यस्तो बेलामा सजीब लास भएर जेल बस्नु मृत्युभन्दा पनि बढी कष्टदायी थियो।

राजा बीरेन्द्रले हाम्रा पुराना कर्मठ,इमान्दार र योग्य नेतृत्वहरुलाई सखाप पारेर बर्तमान पिंढीलाई पंगु र निश्तेज बनाइदिने कुत्सित जाल रचेको छ । शहीद सरोजप्रसाद कोइरालाको अमानुषिक हत्याले सारा नेपाली स्तब्ध भए । दिवान सिंह राईको हत्या र योगेन्द्रमान सेरचनको हत्याले कुन नेपालीको आँखा रसाएन ? मानवताले डाँको छोडेर रोयो जब यी प्रकाशपुञ्जहरुले नेपाललाई सधैंको लागि अध्यारो पारेर छोडेर गए । जुन देशको इतिहासले महान व्यक्तिको मार्मिक प्रहार खप्न सकेको छ , त्यै देशको इतिहासले महान व्यक्तिलाई जन्माउन पनि  सकेको छ, । यही सब घटनाले हाम्रो हृदयले चित्कार गर्दथ्यो, विद्रोह गर्दथ्यो । लाग्दथ्यो कति भाग्यशाली हुने थियो हामी यदि त्यो लाठी त्यो गोली त्यो कारको आक्रमण हाम्रो शरीरले सहन पाएको भए । तयाइहरुलाई लाग्ला यी कोरा भावना मात्र हुन सक्छ । तर यही भावनाले पीडित थियौं र यही भावनाले हामीलाई जेलवाट भाग्न प्रेरित गरायो । केही गर्नेछौं भन्ने उमंग र आत्मविश्वास छ । जुन मुलुकले विश्वेश्वरप्रसाद कोइराला जस्तो महान नेतृत्व र नेपाली कांग्रेस जस्तो पार्टी पाएको छ , त्यही हामी जस्तो यूवकमा आत्मविश्वास स्वभाविक नै हो ।

(नोट : यो पत्र रामलक्षमणले लेखेका हुन । यो नेपाली कांग्रेसले प्रतिवन्धितकालमा भारतबाट प्रकाशन गर्ने तरुण पत्रिकाको बुलेटिन नंं ६ मा ई.संं:.१९७५ अगस्तमा प्रकाशित भएको छ ।)


सहिद राम लक्ष्मणको अराजनीतिक पाटो :
चञ्चले राम लक्ष्मण :

सानै उमेरदेखि राम लक्ष्मण असाध्य चल्दथे । कुटाकुट गर्दथे । घरमा यिनीहरुको रडाको मच्चिरहने भएकोले परिवारमा सबैले यिनीहरुलाई बालि र सुग्रिब भन्ने गर्दथे । यिनीहरुको घरभित्र कुटाकुट भैरहे पनि बाहिरी जीवनमा साच्चिकै युग पुरुष राम–लक्ष्मण जस्तै मिलेको देखिन्थ्यो। विराटनगरमा प्रहरीको हिरासतमा परेका रामले लक्षणलाई पक्राऊ गरेर नल्याएसम्म खाना नै खाएका थिएनन् । संगै हिरासतमा रहेका दुर्गा सुबेदी भन्छन, ‘एक दिन राम विद्यार्थी आन्दोलनका क्रममा प्रहरी हिरासतमा हामी संगै थिए । लक्ष्मण पक्राऊ परेका थिएनन् । तर, रामले लक्ष्मण नआएसम्म खाना नै नखाने अडिग लिए । प्रहरीले धेरै खोज तलास गरेर लक्ष्मणलाई पनि ल्यायो । त्यसपछि बल्ल रामले खाना खाए।’

सानैदेखि उनीहरुमध्ये कसैलाई घरवाट निस्किदा कुटपिट ग¥यो भने दुबै एकै पटक जाइलाग्थे । दुबैको पहिरन उस्तै थियो । एउटाको पाइन्टमा कतै फाटे अर्कोले पनि त्यही फटाई हाल्ने । एउटाको चप्पल जहा“ च्यातियो त्यही अर्कोले पनि च्यात्नु पर्ने ।

परिक्षामा एउटाले केही छिन लेख्यो र पछि अर्कोले आएर लेख्दा पनि शिक्षकहरुले चाल नपाउने । राम वा लक्ष्मण गरी छुट्टा छुट्टै नाम गरी बोलाएमा प्रायः फरक पर्ने भएकोले घरमा बुबा आमा देखी, शिक्षक, छिमेकी र पढ्दाका सहपाठीहरु पनि कुनै एक जनालाई बोलाउनु परेपनि संयुक्त रुपमा ‘राम लक्ष्मण’ भनि बोलाउथे । उनीहरुका भतिजा जयन्त पौडेल भन्छन् दुबैबीच छुट्टाउन अप्ठेरो थियो । तर पनि लक्ष्मण हा“स्दा गालामा डिम्पल पर्दथ्यो जुन धेरै नजिकका लाई मात्र थाहा थियो।

अमृत अर्यालका दाजु मुन्नु अर्याल साँची बसेर कटहर खाइदिएको घटना बर्णन योग्य छ । कटहर पाक्ने महिनामा राम–लक्ष्मण र मुन्नु अर्याल विराटनगर, हाटखोलाको हटिया लाग्ने ठाउँमा पुगेछन् । योजना अनुसार लक्ष्मणलाई अलि परै राखि एउटा कटहर बेच्ने महिला नजिक सिंगै कटहरको मुल्य सोधेछन् । मुन्नु भन्नुहुन्छ , ‘ती महिलाले ५–७ रुपैया कति भनेकि थिइन् । तर रामले तत्काल भने ‘एक जनालाई नपुग्ने कटहर छ कत्ति महगो भनेको ।’ त्यत्तिकैमा ती महिलाले एक्लै खाने भए म सित्तै दिन्छु तर यही बसेर सबै खानु पर्दछ भनिन् । राम पनि के कम खपाखप खान थाले आधा कटहर खाएपछि पिसाव फेर्ने निहुले उनले त्यहाँ  मुन्नु अर्याललाई बस्न लगाई हिडे । पछि लक्ष्मण आएर बाँकी सबै कटहर खाइदिए । महिला जिल्ल परी । मुन्नु अर्याल त यो घटना आफ्नै आँखाले देखेर रमाउनु भयो नै तर सुन्ने जो सुकैले पनि एक पटक रमाइलो मान्दछ ।

गीत गाउने रहर पुरा भएन :
राम -लक्ष्मणलाई गीत गाउने रहर थियो । तर पुरा भएन । उनीहरुलाई गीत गाउन सिकाउन काम बिराटनगरका मदन अर्यालले गरेका थिए । मुन्नु अर्याल भन्छन्,‘गीत धेरै गुनगुनाउथे तर धक खोलेर गाउन नै सक्दैनथे ।’ गीत गाउन नसके पनि उनीहरुले साथीभाइलाई अंग्रेजी उच्चारण गर्दा मुख बंग्याएर देखाउनु, एक जना परेवाको भाले भएर घुर्ने र अर्को पोथीले झैं अभिनय गर्ने, कविता लेख्ने र सुनाउने बानीले गर्दा सबैको प्यारो भएका थिए । उनीहरुले स्यालको झैं आवाजमा कुर्लने, गाई र बाख्राको दुरुस्त बोली निकाल्ने जस्ता कला सिकेका थिए ।  

प्रेरणाको स्रोत राम लक्ष्मण :
राम–लक्ष्मण नेविसंघको मात्र होईन, नेपाली कांग्रेसको लागि मात्र होईन, देशका सबै प्रजातन्त्रप्रेमीहरुको लागि प्रेरणाको स्रोत बनेर अमर सहिद बनेका छन् । उनको भाषण गर्ने शैली बरदान जस्तै थियो । यो सिकेर नसकिने खालको कला थियो । उनको भाषण गर्ने कलालाई एमालेका मदन भण्डारीको भाषणसंग तुलना गरेर हेर्ने गरिएको छ । भाषण गरेर दर्शकहरुलाई मंत्रमुग्ध पार्नु र संगठन विस्तार कुशलता पूर्वक गर्न सक्ने भएकाले छोटो अबधिमा उल्लेख्य प्रगती गरेका थिए । उनीहरुको प्रगतीलाई पार्टी भित्र कै केहीले देख्न सकेनन् । कतिलाई उनको भाषणवाट र उनको तर्कवाट जलन भयो होला । जसलाई जे भएपनि उनीहरु भने प्रजातन्त्रको सच्चा पुजारी थिए । त्यसैले शान्तिपूर्ण आन्दोलनदेखि जोखिमपूर्ण सशस्त्र आन्दोलन गर्न  पछि परेनन् ।

उनीहरुको सुरक्षाको जिम्मा त राजनेताहरुले लिनु पर्दथ्यो ।  भौगोलिक ज्ञान नभएको स्थानमा हतियार चलाउन नसिकाइ सानै उमेरमा राजनैतिक कमिशार बनाएर पठाउनु हुन्थ्यो कि हुन्नथ्यो ? युद्धको बैज्ञानिक नियमले पनि के भन्छ भने कसैसंग युद्ध गर्दा चार दिशामध्ये कुनै एक दिशावाट पछि सर्ने ठाउ“ हुनु पर्दछ । कतैवाट पछि सर्ने ठाउ“ छैन भने कुनै न कुनै दिन घेरामा परि मृत्यु बरण गर्नु बाहेकको विकल्प हुदैन । भाग्ने वा पछि सर्ने बाटोको योजना नबनाई गरिएको यो शसस्त्र मिशन सफल हुन लगभग असम्भव नै थियो ।

अशोक कोइरालासंग मनमोटाव भएपछि त्यसलाई मिलाएर राम–लक्ष्मणलाई हौसला दिनेतर्फ लाग्नु भन्दा नेता र नेतृहरु स्वयंले शंकालु नजरले हेरिदिनु जस्ता कारणले गर्दा उनीहरु मानसिक तनावमा परेर बाध्य भएर शसस्त्र युद्धमा गएको कुरा कसैवाट लुकेको छैन ।

यस्तो अवस्था सृजना गर्ने पार्टी पंक्तिलाई अहिलेका यूवा पुस्ताले पहिचान गरी अबका दिनमा यस्तो अबस्था नआउने बातावरण बनाउनु आवश्यक छ।

दुर्गा सुवेदीले भने जस्तै राम लक्ष्मण विद्रोही स्वभावका पनि थिए जसले उनीहरुलाई शसस्त्र युद्ध गर्न लालायित बनाएको थियो । कसैले बम विस्फोट गराएको खबर सुनेका यी यूवाहरुलाई पनि केही न केही त गरौं भन्ने थियो । तर गर्न लगाउनेले होस नपु¥याएकोले अप्रिय घटना अहिले दुःखद इतिहास बनेको छ । यही दुःखद इतिहास भित्रका सिकाइवाट सबै यूवाहरुमा विद्रोही मात्र होइन क्रान्तिकारी बन्ने बानीको विकास होस।

 माओवादीको वाईसीएल, एमालेको यूथ फोर्सले जुन किसिमले विद्रोह गरेको थियो । यस्तो अवस्थामा राम–लक्ष्मण भइदिएका भए पक्कै प्रजातान्त्रिक खेमाको एउटा त्यस्तै विद्रोही दस्ता खोल्ने थिए । प्रजातन्त्र वा लोकतन्त्रप्रति आस्था राख्ने सबैमा बिद्रोही होइन क्रान्तिकारी बन्ने चाहना जागोस । राम–लक्ष्मणवाट हामी सबैले यही पाठ सिकौं ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »