सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

२५ फाल्गुन २०७४

banner

इलाम । सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ। इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इलाम नगरपालिका-९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका-६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बू रहेका छन्।

उनीहरुलाई प्रहरीले इलाम नगरपालिका-९ को जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

घटनामा संलग्न एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ। चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई बुधबार राति रेडियोबाट घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कूल छेउमा उनीहरुले कुटपिट गरेका थिए।

कुटपिट गर्दै उक्त समूहले व्यवस्थापक पाठकसँग रहेको नगद रु ४५ हजार, र एक थान मोबाइल लुटेको रेडियोका स्टेशन मेनेजर प्रेम अधिकारीले जानकारी दिए।

आक्रमण भएपछि न्यौपाने भाग्न सफल भएपनि पाठकलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट पाठकको दाहिने हात, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।

पाठकको झापाको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ। घटनाको पत्रकार निकट संघसंस्थाले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन्। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष