नेपाल घुम्न आएकी अल्मुन्नाहर अन्नीले विमानभित्र जे देखिन्

२९ फाल्गुन २०७४

banner

काठमाडौँ । म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ। नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि मेरोसामु धेरै वर्णन गरेका थिए । त्यसैले म नेपाल घुम्न आतुर थिएँ।

परिवारसँग नेपाल घुम्ने सल्लाह भयो । अरू साथीहरूसँग पनि सल्लाह भयो । अन्ततः हामी नेपाल आउने तय भयो, मार्चको दोस्रो साता । नेपाल आउने चाहना राख्ने त अरू पनि थिए, तर उनीहरूको समय मिलेन । अन्तिममा म, मेरो बच्चा र श्रीमान्सहित अन्य दुईजना नेपाल आउने निर्णयमा पुग्यौँ । सात दिनसम्म नेपाल घुम्ने उद्देश्यले हामी सोमबार ढाकाबाट नेपालका लागि उड्यौँ । नेपालमा काठमाडौं र पोखरा घुम्ने हाम्रो योजना थियो । यसका लागि हामीले सात दिनको छुट्टी लिएका थियौँ ।

नेपाल आउन पाउँदा निकै उत्साहित थियौँ । जहाजमा चढेपछि कतिवेला नेपाल पुगिएला भन्ने कौतूहल मनमा थियो । केही घन्टाको जहाज यात्रापछि डाँडाकाँडा देखियो । हिउँले ढाकिएका पहाड देखिए । निकै रोमाञ्चित भएर त्यसलाई नियालिरह्यौँ ।

जहाजभित्र काठमाडौं आइपुगेको ‘अनाउन्स’ भयो । हामी थप रोमाञ्चित भयौँ । जहाज अवतरण गर्न तल–तल झर्‍यो । काठमाडौंका घर देखिए । पछि विमानस्थलको रनवे देखियो । तर, जहाज रन वेतर्फ गएन । मनमा चसक्क पस्यो । जहाज घुम्यो । केही बेरपछि फेरि रेनवे देखियो । तर, जहाज सही दिशामा थिएन ।

जहाज एक्कासि बजारिएको आवाज आयो । जहाजभित्रका सबै आत्तिए । कोही कराउन लागे । कोही चिच्याउन लागे । जहाजभित्र डढेको गन्ध आउन थाल्यो । तर, जहाज रोकिएको थिएन । सिट बेल्ट बाँधिएकाले कोही हिँडडुल गर्न पनि सकेको थिएन । तर, सबै चिच्याइरहेका थिए ।

केही बेरमा जहाज रोकियो । जहाजमा आगो दन्किएको देखियो । जहाजभित्र यात्रुको भागदौड मच्चियो । सबैले गुहार माग्न लागे । कोही रुन थाले । कोही कराउन थाले । मसँगै हुनुहुन्थ्यो मेरा श्रीमान् र काखमा थियो सानो बच्चा । सिट बेल्ट बाँधिएकाले हामी कहीँ जान सकिरहेका थिएनौँ । तर, अरूले भने सिट बेल्ट खोलेर जहाजभित्रको इमर्जेन्सी ढोका खोल्दै थिए । कोही जहाजभित्रैबाट सिसा फुटाइरहेका देखिन्थे ।

हामी भने केही गर्न सकिरहेका थिएनौँ । तर, जहाज झन्–झन् दन्कँदै थियो । के गर्ने केही मेसो पाउन सकिरहेका थिएनौँ । बच्चा काखमा च्यापिरहेकी थिएँ । आगो दन्किँदै झन्–झन् नजिक आउन थाल्यो । डरले म सिटमै बसिरहेँ । यत्तिकैमा मेरो हात कसैले तान्यो । त्यसवेलासम्म म अर्धचेत अवस्थामा पुगिसकेकी थिएँ । त्यसपछि के भयो, मैले केही मेसो पाउन सकेकी छैन ।

अहिले म अस्पतालको बेडमा छु । मेरा श्रीमान् र बच्चा हराइरहेका छन् । मैले सबैलाई सोधेँ । तर, कसैले पनि उत्तर दिएका छैनन् । सबैले ‘मिसिङ’ मात्रै भनिरहेका छन् । उनीहरू कहाँ छन् ? मलाई केही थाहा छैन । मसँगै आएका अन्य दुई साथी भने सकुशल भएको खबर पाएकी छु। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »