चट्याङ लागेर एक महिनाकी बालिका सहित चार जनाको मृत्यु

२९ फाल्गुन २०७४

banner

काठमाडौं । सोमबार चट्याङ पर्दा एक महिनाकी बालिका सहित चार जनाको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ गुगा बस्ने २६ वर्षीया तोकमाई तामाङले उनकै १ महिनाकी  छोरीलाई काखमा लिई सुताइरहेको अवस्थामा सोमबार चट्याङ पर्दा दुबैजनाको घटनास्थलमै मृत्यु भएको छ भने चट्याङमा परी उनका ५ बाख्रा मरेका छन् ।

उता काभ्रे भुम्लु गाउँपालिका–१ सापिङ बस्ने ३४ वर्षीय बुद्धबहादुर बस्नेतको घर नजिकको परालको कुन्युमा सोमबार चट्याङ परी आगलागी हुँदा पराल जलेर नष्ट भएको छ भने घरमा समेत बिजुली सर्ट भई सामान्य क्षति भएको छ ।

चट्याङ लागेर उनकी श्रीमती २६ वर्षीया मन्जु बस्नेत र आमा ७४ वर्षीया पदमकुमारी बस्नेत सामान्य घाइते भएकोले स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैगरी काभ्रे रोशी गाउँपालिका–९ तालाङछे बस्ने ३५ वर्षीया कमला रानामगर र ३२ वर्षीय खिलबहादुर किङरिङ मगरको घरमा सोमबार चट्याङ परी आगलागी हुँदा दुवैजनाका घर जलेर नष्ट भएका छन् ।

यस्तै कटारी नगरपालिका–५ खाँडीखोप बस्ने २२ वर्षीय भोजकुमार राईलाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा सोमबार चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका–१ स्थित सञ्चबहादुर लिम्बुको शौचालयमा शौंच गर्न बसिरहेको अवस्थामा सोमबार चट्याङ लाग्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १९ वर्षीय यमबहादुर लिम्बुको उपचारको लागि मेची अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै सञ्चबहादुरको १ भैंसी समेत चट्याङमा परी मरेको  छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष