विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगले मात्रै गर्न सक्नेः नागरिक उडड्यन प्राधिकरण

२९ फाल्गुन २०७४

banner

काठमाडौँ। नेपाल नागरिक उडड्यन प्राधिकरणले बंगाल एयरको विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगले मात्रै गर्न सक्ने जनाएको छ। 

प्राधिकरणका महानिर्देशक संजीव गौतमले मंगलबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगको प्रतिवेदनले मात्रै गर्ने बताएका हुन्।

उनले विमान दुर्घटना विशुद्ध प्राविधिक विषय भएकाले यसमा धेरै टिप्पणी गरिरहन प्राधिकरणले नमिल्ने तर्क पनि गरे। महानिर्देशक गौतमले विमान दुर्घटनाको तथ्य बाहिर ल्याउन सरकारले नेपाल सरकारका पूर्वसचिव यज्ञबहादुर गौतम नेतृत्वको ६ सदस्यीय जाँचबुझ आयोग बनाएको र त्यसले छिट्टै आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने पनि बताए।

महानिर्देशक गौतमले विमानको फ्लाईट डिटेल्स नहेरी यसको दुर्घटनाको कारणबारे बोल्न नमिल्ने दावी पनि गरे। उनले विमान अवतरणका क्रममा तत्काल देखिएको अवस्थाका विषयमा मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सोमबार नै पत्रकार सम्मेलन गरी जानकारी गराएको पनि स्पष्ट पारे।

प्राधिकरणले विमान दुर्घटनाबारे बंगलादेशका नागरिक उडड्यन प्राधिकरणलाई जानकारी गराइएको पनि जनाएको छ। सोमबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगाल एयरको विमान दुर्घटनामा परी ४९ जनाको ज्यान गएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ।

विमानमा सवार यात्रुहरु मध्ये हाल ११ जना नेपाली, १० जना बंगलादेशी, १ जना माल्दिभ्सका नागरिकको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भईरहेको पनि प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए। विमानमा ३३ जना नेपाली तथा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष