सगुनमा एकैपटकमा थपियो अन्तर्राष्ट्रिय मिडिया कम्पनीको ५० करोड लगानी

२९ फाल्गुन २०७४

banner

वासिङ्टन डिसी। उदाउँदो सामाजिक संजाल सगुनमा एकैपटक ५० करोड लगानी थपिएको छ । अन्तर्राष्ट्रिय स्तरको मिडिया कम्पनीले सगुनमा एकैपटकमा ५० करोड लगानी गरेको हो । एचटी ओभरसीज प्रा.लि.ले सगुनमा ५ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने आज घोषणा गरेको हो । 

स्मरणीय छ एचटी ओभरसीज प्रा.लि. सिंगापुर एचटी मिडिया लिमिटेड मातहतको कम्पनी हो जसले भारतको सबैभन्दा पुरानो र चर्चित मिडिया 'हिन्दुस्तान टाइम्स' संचालन गरिरहेको छ । एचटी ओभरसीजले सगुनमा लगानीसँगै आफ्ना चर्चित मिडियामार्फत सगुनको विश्वव्यापी प्रबर्द्धनसमेत गर्नेछ । यसको लागि उसले हिन्दुस्तान टाइम्स र यसको मातहतमा संचालित सबै संचारमाध्यमलाई उपयोग गर्ने सम्झौता भएको छ । 

एचटी सिंगापुरसँगको यो सम्झौतापछि सगुनको पहुँच भारतसहित दक्षिण एसियाका ४६० मिलियन इन्टरनेट प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ । एचटी मिडिया अन्तर्गत अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स, हिन्दी दैनिक हिन्दुस्तानसँगै कैयौं अनलाइन पोर्टल र एफएम स्टेशनहरु संचालनमा छन् । यी सबै मिडियाले सगुनको प्रबर्द्धन गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौताबारे जानकारी दिँदै सगुनले आफ्नो ‘सोसियल स्मार्ट कार्ड’को विकासलाई निरन्तरता दिइरहेको जनाएको छ । यो स्मार्ट कार्ड २०१८ को अन्त्यसम्म प्रयोगकर्तालाई उपलब्ध गराउने घोषणा गरिसकिएको छ । सगुनका प्रयोगकर्ताले सामाजिक संजाल चलाउँदै कमाइ समेत गर्न सक्नेछन् जुन कमाइ उनीहरुले यही स्मार्ट कार्डमार्फत खर्च गरी कारोबार गर्न सक्नेछन् । सगुनले छिट्टै आइओएस एप पनि विकास गर्ने जनाएको छ । स्मार्ट कार्ड र आइओएस एपले सामाजिक संजालको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने सगुनको दावी छ ।
 
सगुनका संस्थापक तथा प्रमुख कार्यकारी गोविन्द गिरीले यो सम्झौताले आफूहरु निकै उत्साहित भएको बताए । ‘यो सम्झौताले हामीलाई ठूलो संख्यामा भारतीय प्रयोगकर्तासँग जोड्नेछ, जो संसारमै दोस्रो ठूलो इन्टरनेट बजार हो’ उनले भने । जनवरीमा सगुनको मोवाइल एप लञ्च भएको प्रतिफलस्वरुप यति ठूलो सम्झौता भएको सगुन टिमले जनाएको छ । अहिले सगुनका १६ लाख प्रयोगकर्ता छन् र सगुनले २ अर्ब ८० करोड सामाजिक संजाल प्रयोगकर्तालाई उत्कृष्ट सामाजिक संजालको रुपमा सेवा दिने लक्ष्य लिएको छ । 

‘हाम्रो लगानीले सामाजिक संजालको क्षेत्रमा सगुन कतिसम्म उत्कृष्ट छ भन्ने प्रस्ट पार्छ’ हिन्दूस्तान टाइम्सका इक्विटी टिमका प्रमुख अतिभ चड्डाले भने ‘हामी प्रयोगकर्ताले सगुनबाट उत्कृष्ट सामाजिक संजालको अनुभव प्राप्त गर्नेछन् । हामी यो सहकार्यबाट निकै उत्साहित छौं ।’

Leave a reply

HTML Tags are not supported

Post My Comment »