माटोको ढिस्कोमा पुरिएर तीन घाइते, दुईको अवस्था गम्भीर

२९ फाल्गुन २०७४

banner

बैतडी । माटोको ढिस्कोले पुरिएर बैतडीमा आज तीन जना मजदुर घाइते भएका छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा दशरथचन्द नगरपालिका-१ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन्। 

घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए। मानप्रसाद भट्टको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसाद भट्टको ढाड र पेटमा चोट लागेको छ। 

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्त भट्टको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डमा ढुंगा निकाल्ने क्रममा आज दिउँसो १ः०० बजे एक्कासी माथिबाट खसेको माटो ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन्। माटोको ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट ग्रामीण गस्तीमा गएका प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। गोविन्दप्रसाद भट्टको घर निर्माणका लागि उनीहरु ढुंगा निकालिरहेका बताइएको छ। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष