ओलीको दृढता, पुलिसको कान र सुशासन !

२१ चैत्र २०७४

banner

अनुप न्यौपाने

टोरोन्टो । मुलुकमा गाउ/नगरपालिका, प्रादेशिक र केन्द्रिय सरकार गरी ३ प्रकारको सरकार गठन भै काम कारवाही सुचारु रुपले चलिरहेको छ । भनि राख्नु नपर्ला, नेपाली जनताको चाहना अनुरुपनै केन्द्रमा बाम गठबन्धन देशको ठुलो पार्टीको रुपमा स्थापित भएको छ साथै २ नम्बर प्रदेशबाहेकमा पनि बाम गठबन्धनलेनै सरकारको नेतृत्व गर्दैछ। लामो समय पश्चातदेशले पूर्ण बहुमतको केन्द्रिय सरकार र इतिहासकै शक्तिशाली प्रधानमन्त्री पाएको छ जुन नेपाली जनताका शुसासन चाहनाको परिणाम हो। यी कुरा अलि पुरानै भएतापनि लेखको प्रसाङ्गिकतालाई ध्यानमा राख्दै सम्झना मात्र गराएको उल्लेख गर्न चाहन्छु।

यी सबै कुराहरु भै रहदा एउटा छुट्न नहुने कुरो के हो भने एमालेलाई पार्टीगत वा सँगठित रुपमा जे जति उपलब्धी भयो त्यो मात्र र मात्र केपी शर्मा ओलीका कारण भयो । यसमा दुई मत नरहला। हुन त यो कुराले धेरैलाई झुसिलो डकार पनि आउला तर सत्य त यही हो। आ-आफ्नो तालमा डम्फु बजाई जस लिन पाइयो तर प्रष्ट र अकाट्य कुरो के हो भने जनताले एमालेलाई नाकाबन्दीताका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणी छिमेकीसित देखाएको स्वाभिमानप्रतिको उच्च अडानलाई जिताएका हुन, कुनै माइकालालले यसमा शंका नगरुन।

प्रसङ्ग बदलौ

यी त भए जनताले गरीदिनु पर्ने काम जुन बबुरो जनताले गरीसके, अब नेता वा राज नेताले गर्नुपर्ने गर्हुङ्गो कामको भारी छ कामरेड केपी ओलीको काधमा । भर्ष्टाचार, कुशासन, घुसखोरी, ढिलासुस्ती आदि इत्यादि मिलाउनु त छदैछ, आर्थिक समृद्धि, बिकास र सुशासनको चुनौती अजिङ्गरले आ गरे झैँ अगाडी उभिएको छ । यसलाई कसरी मिलाउने हुन थाह त पक्कै होला तर स्थिति यति बिकराल छ कि थाह मात्रै भएर पनि भएन, हातमा जादुको लट्ठीनै हुनुपर्यो, सबै कुरा मिलाउन । ओलीको केही गर्नैपर्ने '' दृढता'' बीच "केही गर्नुपर्ने सुरुवात'' को सल्लाह हो यो लेख । हेर्दै जाउ पुग्ला के यो "सानो सल्लाह " उनी सम्म ? 

जादुको लट्ठी 

सत्ता चलाउनेको हातमा लट्ठी त हुन्छ र त्यसलाई जादुको कसरि बनाउने भन्ने जिम्मा पनि उसैको हुन्छ । दुरदृष्टि राखेर काम गर्न सक्यो भने त्यो सत्तारुपी कुर्सी आफै जादुको लट्ठीमा परिवर्तित हुन्छ होइन भने जुन जोगी आएपनि कानै चिरेको भन्ने जनप्रिय उखान पुनः चरितार्थ हुन्छ जसले जनतालाई ठुलो पिडा दिनेछ।

बिषय प्रवेश, 

मेरो कान/ पुलिसको कान 

उहिले उहिले स्कुलमा होमवर्क गरेर न आउदा वा कक्षामा कुनै उरन्ठ्यालो कार्यगर्दा सरहरुले कान निमोठेर फनफनी घुमाई रातै पारेर सजाय दिने गर्थे । अरु प्रचलित सजायका तरिकाहरु भएपनि खै किन हो सरहरुलाई सबैभन्दा सजिलो लाग्ने तरीका चाहि कान निमोठ्ने नै थियो । कुखुरा बनाउने, बेन्चमा उभ्याउने, हातमा रुलरले डामै बस्ने गरि पिट्ने, पेटको छाला दुइटा औलाले समातेर अघिपछि गर्ने, हात चिमोट्ने आदि इत्यादि पनि त्यस बेला भोगेका अनेकन सजाय हुन । खै हिजो आज के गर्छन ?

केहि त्यस्तै त्यस्तै शैली अपनाई दिए एक हदसम्म सुशासनको थिति बस्थ्यो कि मुलुककि ? मेरो कुरो बडो स्पष्ट छ । प्रधानमन्त्री ज्यु, पुलिसको कान मात्रै अट्ठ्याउनुस धेरै कुरा मिल्नेछ । पुलिस प्रशासननै देशको यस्तो निकाय हो जसको पहुच आम नेपालीसम्मै छ । निमोठ्नुस एक चोटी बेस्सरी निमोठेर त हेर्नुस, देशमा सुशासन कसरी न आउदो रहेछ ?

समाजका बिकृती र बिसङ्गती कसरी नियन्त्रण नहुदो रहेछ ? मापसे नियन्त्रण भएन र ? उपत्यका भित्र ध्वनि प्रदुषण पुलिसकै कान निमोठेको परिणाम होइन र ? बिश्वास गर्नुस ओली जी पुलिसको कान र सुशासनमा बडो अन्योन्याश्रीत सम्बन्ध छ । यहाले पुलिसको कान मात्र निमोठ्न सक्नुभयो भने त्यही कान जादुको लट्ठी हुनसक्नेछ र सारा जनताले तपाइको जयजयकार गर्नेछन । रमेश खरेल र सर्वेन्द्रनाथ खनालको करामात त देख्नु भएकैहोला  नि ! 

पुलिसको पोलिशी

कान निमोठ्ने मात्र होइन पुलिसतन्त्रमा समग्र सुधारपनी ल्याउनुपर्यो । दायित्व बोध हुने निति नियम र शैक्षिक प्रणालीको बिकास गर्नुपर्यो । जनताले आफुलाई निर्दोष प्रमाणित गर्ने होइन, पुलिस प्रशासनले जनताको अपराध प्रमाणित गर्ने व्यवस्था हुनुपर्यो, उचित स्रोत र संसाधन त आखिर सरकार संगै हुन्छ । ज्ञातब्य रहोस प्रमाणित नभएसम्म उ निरपराधी नै कहलिन्छ । भ्रस्टाचार ,घुसखोरी, अपराध आदि इत्यादि सबै पुलिस र यसैको वरिपरि घुम्ने कुरा त हुन नि र यस्को नियन्त्रणपनि पुलिस द्वारा मात्रै सम्भव छ।

हिजो आज हाम्रा नेताहरुका आशा लाग्दा बिकास,आर्थिक समृद्धि र सुशासनको भासण जताततै सुनिन्छ । यि कुरा सुन्दा बरा जनता किन खुशी नहुन, २० औ वर्षा भैसक्यो यो मिठो सपना देखेको सुनेको र यी मध्ये एउटा कुरा सुशासन मात्रैबाट पनि शुरु गरीदिनु भए जनता काकाकुल हुनुपर्ने  स्थिति आउदैन थियो । यति कुरा लु न ओली जी को कानमा परिदिनु कसैले। धन्यवाद

'यो विचार लेखक अनुप न्यौपानेको व्यक्तिगत विचार हो' - सम्पादक

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष