गजलकार वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक

२२ चैत्र २०७४

banner

काठमाडौं । युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहीबार काठमाडौंमा विमोचन गरिएको छ ।

संगीतकार राजु सिंह, शक्ति वल्लभ, लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त गजल संग्रह सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार वाग्ले गीत–गजलको क्षेत्रको पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले बिहीबार गजलहरुको संग्रह नै सार्वज्निक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपालले नै गरेको हो । सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’ मा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ । 

एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल) को स्वरलाई समावेश गरिएको छ । हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गरेका छन् । ती गजलहरुमा गोपाल रसाइली, किरण कंडेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम कंडेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन छ । प्रस्तुत एल्बमका दश वटा गजलमध्ये तीन वटा गजल यूगल शैलीका छन् । उदय र मनिला सोताङको स्वरको ‘आँखाको यो नानी भित्रै’, मनोज राज र अञ्जु पन्तको ‘सम्झे पनि तिम्रो याद’ तथा ‘तिमी आयौ जिन्दगीमा’ यूगल शैलीका छन् । विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा...’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो । शान थापाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । एल्बममा समावेश अन्य तीन वटा गजलका म्युजिक भिडियोहरु केही समयअघि यूट्युबमार्फत सार्वजनिक भैसकेका छन् । 

प्रशान्त रसाइलीको निर्देशनमा बनेको उदय र मनिलाको ‘आँखाको यो नानी भित्र’ गजलको म्युजिक भिडियोमा शिल्पा मास्के तथा पुष्कर कार्कीले अभिनय गरेका छन् । 

बुद्ध लामाको स्वरको ‘तिमी साथ भएपछि...’ गजलको अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । मनोज राज र अञ्जु पन्तको स्वरको ‘सम्झे पनि तिम्रो याद’लाई निकेश खड्काले निर्देशन गरेका छन्, जसमा प्रियंका कार्की तथा अनिल थापाले अभिनय गरेका छन् । 

नेपाली गीत–गजल तथा साहित्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले स्थापना भएको गजल गृह नेपालले अमेरिकामा समेत विभिन्न गतिविधिहरु सञ्चालन गरिसकेको छ ।

गजलकार वाग्लेले नेपाली गीत–संगीतप्रतिको लगावकै कारण अमेरिकाको बोस्टनमा आफ्नै अध्यक्षतामा हिमालयन हेरिटेज कल्चरल एकेडेमी पनि सञ्चालन गरिरहेका छन् । जसले नेपाली बालबालिकादेखि युवासम्मलाई नेपाली गीत–संगीत तथा नृत्य अनि नेपाली भाषाको प्रशिक्षण दिइरहेको छ ।

यस्ता छन् उक्त एल्बमका म्युजिक भिडियोहरु

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष