बसको ठक्करबाट एउटै साइकलमा सवार बाबु-छोराको मृत्यु

१ बैशाख २०७५

banner

सुरुङ्गा, झापा । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन्। नौ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १३७१ नंको बसले ठक्कर दिएको थियो। 

बसको ठक्करबाट गम्भीर घाइते बनेका बाबुछोरालाई नै बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पु-याइए पनि प्रेमको अस्पताल पु-याएलगत्तै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

घाइते छोराको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यता बसका सहचालक मेचीनगर नगरपालिका-१० निवासी १६ वर्षीय विशाल कार्की डोले बसबाट झरेर गम्भीर घाइते बनेका छन्। 

बसले साइकललाई ठक्कर दिएपछि ब्रेक लगाउने क्रममा बसको ढोकामा रहेका उनी बसबाट झरेको प्रहरीले जनाएको छ। उनको पनि बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

त्यस्तै पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित सुरुङ्गा सडकखण्डमा बाटो काट्ने क्रममा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

आज साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वा३ख २१८८ नंको बसले महिलालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएकी महिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको पहिचान भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »