अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप

३ बैशाख २०७५

banner

तेहरान । इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन्।

हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले जानकारी दिएको छ। 

अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताएका हुन्।

अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीले बताए।

पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताउनु तेहरान टाइम्सले जनाएको छ। 

सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए। 

यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ। अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ। 

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए।

अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन्। उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरीत भएको बताएका छन्।   रासस / सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »