मातातीर्थ औँशी : दिवङ्गत आमाको सम्झनामा मातातीर्थ मन्दिरमा पूजाआजा

३ बैशाख २०७५

banner

काठमाडौँ । मातातीर्थ औँसीका अवसरमा आज आमालाई सम्मान गर्दै मीठा मीठा खानेकुरा खान दिई सम्मान प्रकट गरिएको छ। 

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्म दिएकी आमा जीवित भएमा मीठो खान लाउन दिई सम्मान तथा दिवङ्गत भए तर्पण, पिण्ड दान र श्राद्ध गरी स्मरण गरिन्छ। 

आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धर्मशास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम् पर्व मानिन्छ। 

आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो। 

बौद्ध धर्मावलम्बीसमेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन्। आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव० को दर्शन र पूजा गर्छन्। 

आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यता छ। सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ। यसले गर्दा मातातीर्थको आकर्षण बढाएको भक्तजनले बताए। 

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौरमा एक गोठालाले फ्याँकेको रोटीको टुक्रा हरायो। 

उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो। अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए।

कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा थिइनन्। त्यस दिन वैशाख कृष्णपक्षको औँसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। 

सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे। 

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो। 

मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »