भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा (फोटोफिचर)

२९ बैशाख २०७५

banner

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। बिहानै मुक्तिनाथको पूजा गरेर काठमाडौँ फर्केका उनले पशुपतिनाथ मन्दिरमा करीब पौने घण्टासम्म विशेष पूजा गरेका हुन्।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुगेका थिए। पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए। उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो।

भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए। प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए। उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे। मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए।

पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैं मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गरेको जानकारी दिए।मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए।  त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि पाँच करोड सहयोग घोषणा गरेका थिए।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »