अनुसन्धान एजेन्सीको सनसनीखेज खुलासा: श्रीदेवीको मृत्यु दुर्घटना होइन षड्यन्त्र !

३१ बैशाख २०७५

banner

मुम्बइ। बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको विषयमा नयाँ खुलासा भएको छ । यो खुलासाले अहिलेसम्म भएका सबै अनुसन्धानलाई शंकाको घेरामा ल्याएको छ । भारतको राजधानी दिल्लीको एक अनुसन्धान एजेन्सीले श्रीदेवीको मृत्यु कुनै दुर्घटना नभएको बरु उनी सोचेर बनाइएको षड्यन्त्रको शिकार भएको दावी गरेको छ । 

दिल्लीका पूर्व एसीपी (असिस्टेन्ट कमिश्नर अफ पुलिस) वेद भूषणको जाँच एजेन्सी पुलिस सोल्युसन इण्डियाले यस्तो दावी गरेपछि अहिले सनसनी मच्चिएको छ । भूषणले आफूले श्रीदेवीको मृत्यु भएको दुबइको होटलमा गएर छानबीन गरेको दावी गर्दै यस्तो खुलासा गरेका हुन् । २४ फेब्रुअरीका दिन दुबइको जुमेराह इमिरेट्स होटलमा श्रीदेवीको मृत्यु भएको थियो । त्यसपछि गरिएको अनुसन्धान र पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु दुर्घटनावश बाथटबमा डुबेर भएको भनिएको थियो । 

वेद भूषणको एजेन्सीले आइतबार पत्रकार सम्मेलन गर्दै श्रीदेवीको मृत्युको विषयमा केही प्रश्न उठाएको छ । भूषणले दुबइ प्रहरीले अनुसन्धानमा लापरवाही गरेको र निकै छिटो निष्कर्ष निकालेको दावी गरेका छन् । उनले यस विषयमा पुनः अनुसन्धानको लागि सर्वोच्च अदालतमा आवेदन दिने संकेत गरेका छन् । 

वेद भूषणका अनुसार उनको टिमले होटल जुमेराह इमिरेट्स गएर कोठा नम्बर २२०८ मा श्रीदेवीको मृत्यु हुँदाको घटना जस्तै नमूना दृश्य बनाएको थियो । यसरी अनुसन्धान गर्दा टबको गहिराइ र लम्बाइ पनि नापिएको थियो । यद्यपि श्रीदेवीको मृत्यु भने कोठा नम्बर २२०१ मा भएको थियो । भूषणका अनुसार आफूहरुलाई २२०१ मा जान नदिइएपछि उस्तै डेकोरेसन भएको अर्को कोठामा नमूना दृश्य बनाइएको थियो । 

वेद भूषणले पत्रकार सम्मेलनमा दावी गरेअनुसार दुबइ प्रहरीले गरेको अनुसन्धान नाममात्रको छ । भूषणले दुबइ प्रहरीले जारी गरेको डेथ सर्टिफिकेटमा पनि प्रश्न उठाएका छन् । भूषणका अनुसार उनी होटलमा गएर त्यहाँ भएका व्यक्तिहरु, सिसिटिभी क्यामेराबारे सोध्दा कोही केही बताउन तयार नभएको बताए । उनले प्रहरीले समेत केही जानकारी नदिएको दावी गरे । 

भूषणका अनुसार श्रीदेवीको मृत्युपछि होटलले ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा आउने अधिकांश स्टाफ परिवर्तन गरेको छ । नयाँ आएका स्टाफलाई यस विषयमा केही नबोल्न निर्देशन दिइएको छ । होटल स्टाफलाई श्रीदेवीको मृत्यु भएको कोठा कसैलाई नदिन निर्देशन दिइएको छ । होटलमा व्यक्तिगत भिडियो खिच्न पनि प्रतिबन्ध लगाइएको छ । 

भूषणका अनुसार दुबइ प्रहरीले विश्वव्यापी रुपमा अनुसन्धानमा प्रयोग हुने वैज्ञानिक तरिका प्रयोग गरेको छैन । श्रीदेवीको फोनको कल डिटेल निकालिएको छैन । उनका पति बोनी कपुरको कल डिटेल समेत निकालिएन । उनले भने ‘ब्लड रिपोर्ट र फोक्सोको अवस्थाको बारेमा कुनै गहिरो जाँच भएको छैन । कोही पानीमा डुब्यो भने उसको फोक्सोमा पानी जान्छ । श्रीदेवीको शरीरभित्र कति पानी थियो भन्ने कसैले भनेकै छैन ।’ उनले श्रीदेवीको मृत्यु दुर्घटनावश डुबेर नभएको बताउँदै के कारणले मृत्यु भयो भन्ने अनुसन्धानको विषय रहेको बताए । 

भूषणले मृत्युको पछाडि धेरै कारण हुने बताए । उनले भने ‘पुलिसले जाँचमा यो पत्ता लगाउने कोसिस गर्छ कि मृत्युबाट कसलाई फाइदा हुन्छ ? श्रीदेवीको मृत्युपछि उनको सम्पत्तिको कानुनी दावेदार को हो ? उनको कसैसँग साझेदारीमा सम्पत्ति छ भने त्यो कसले पाउँछ ? मृत्युपछि बीमाको दावी कसले गर्छ ?’ केही दिनअघि सर्वोच्च अदालतमा फिल्म निर्माता सुनील सिंहको तर्फबाट यस विषयमा पुनः अनुसन्धानको माग गर्दै निवेदन दिइएकोमा यो निवेदन खारेज गरिएको छ । यो निवेदनमा सुनीलले ओमनमा श्रीदेवीको नाममा २४० करोडको बीमा भएको र यो बीमा रकम पाउन श्रीदेवीको दुबइमा मृत्यु हुनुपर्ने अनिवार्य शर्त रहेको दावी गरेका थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »