नियात्रा डायरी : जे देखियो पेरिसभित्र

३१ बैशाख २०७५

banner

डिल्ली राम अम्माई

बेल्जियम । अध्ययन भ्रमण नै मेरो सबैभन्दा ठुलो शोख हो । परिवारसंग घुम्दा दृष्यको आनन्द त लिन सकिएला तर त्यसको ऐतिहासिकता बुझ्न र संस्मरणको लागि तयारी नोट टिपोट गर्न अलिक झन्झटिलो हुने रहेछ । त्यसैले कान्छी छोरी पुजा र संगिनी तारालाई लिएर अप्रिलको पहिलो दिन घरबाट हिड्यौं । संसारको हिरा चम्काउने कारखाना भएको आन्त्वोनको सेन्ट्रल स्टेशन अगाडीबाट फिलिक्स बसबाट पेरिसतर्फ अगाडी बढ्यौ ।  

युरोपमा केवल रमाइलोको लागि घाम ताप्न डुल्ने धेरै हुन्छन । त्यो ठाउँको ऐतिहासिक महत्वबोध गरेर शैक्षिक भ्रमणको रुपमा अलिकति आँफैले तयारी गर्नुपर्छ । ति शेक्षिक महत्वका ठाउँबारे अध्ययन पनि गर्नुपर्छ र घुमिसकेका ठाउँबारे टिपोट समेत गर्दा यात्रा स्मरणको लेख वा पुस्तक लेख्दा ती टिपोट काम लाग्छन तर, मेरो घुमाइ आफ्नै आफन्त भेट्नुपर्ने भएकोले पेरिसमा डुलेका सबै क्षेत्रको एतिहासिक गहनतालाई पूर्णता दिन सकिन जस्तो लागेको छ । जति सके लेखमा समेट्ने प्रयास गरेको छु ।  

लेखकएक त घुम्दा पनि साइत जुराउनु पर्छ युरोपमा । युरोपको ब्यस्त समयमा सबैको फुर्सद मिलाएर डुल्ने दिन मुस्किलले पाइन्छ । कहिले बच्चाहरुको स्कुलको समय मिल्दैन भने कहिले अविभावकको। यो पटक पनि सबैको समय मिलाउन मुस्किल भयो ।  छोरी पुजाको स्कुल छुट्टी, मेरो र ताराको फुर्सद भएर पनि बाबु प्रकाशको कार चालक प्रमाणपत्रको प्रयोगात्मक परीक्षाको कारण छुट्टी मिलेन । त्यै पनि छोरालाई छोड्नु परेकोमा अमिलो मन बनाउदै  हामी पेरिसतिर हुइकियौ फिलिक्स बसमा सररर । 

सबै परिवारको रुचि आफ्नै रुचिभित्र खोज्ने म जस्ता बुज्रुक यो संसारमा धेरै होलान । तर युरोप वा अन्य बिकसित देशमा कसैले कसैलाई पर्खंदैन र लिएर हिड्ने जोड पनि गर्दैन । उनीहरुका आफ्ना–आफ्ना रुचि अनुशारका योजना हुन्छन । पेरिससंगै गएपनि आफ्नो रुचि अनुसार भ्रमण गर्छन । एउटा कलाकारले संगीत वा आर्ट्स म्युजियम वा त्योसंग सम्बन्धित बिसयबस्तुबारे अध्ययन गर्छ ।

एउटा इन्जिनियरले त्यसको संरचनाबारे अध्ययन गर्छ । उसलाई आर्ट्स र बेलुका नौ बजे पछिको रंगिन आइफलको शुन्दरताले भन्दा उज्यालोमा बिना नट बल्टुको त्यो बिशाल संरचनाले मन्त्रमुग्ध पार्छ । एउटै स्थान र संरचना भित्र सबैको रुचि अनुसारका शैक्षिक सामाग्री भएको संसारकै अत्यन्त महत्वपुर्ण शहर हो पेरिस ।   

गएको अप्रिलको पहिलो हप्ता हामीले पेरिसका केही भागहरुको पारिवारिक यात्रा गर्ने निर्णय गरेका थियौ । सामुहिक यात्रा त्यति सजिलो बिषय हैन । ताराको धेरै हिड्दा खुट्टा सुनिने । मौसम हेरेर भन्दा पनि छोरा छोरीको स्कुल छुट्टी हेरेर हिड्नु पर्ने । स्कुल एकदिन छुटे स्कुलले कारण देखाउ आदेश जारी गर्छ । उचित कारण भएनभने जरिमाना । तीन दिनभन्दा बढी गए भए मुद्धा अदालतमा पुग्छ । युरोपको जीवन नियममा हिड्नेलाई सरल छ तर अधिक स्वतन्त्रता खोज्नेलाई पीडादायी । 

समय मिलाउदा मिलाउदै निस्केको समय नै घुम्ने हो । निबन्धकार ताना शर्माको ‘पेरिस मुस्कुराउछ रंगेरंगमा’ भन्ने निबन्ध पढेर आइफलको रात्रीकालिन झिलिमिली हेर्ने धुनले कति नेपाली प्रयटक पेरिस पुगे होलान ? त्यसको अनुमान लगाउन मुस्किल पर्छ । हामी भने त्यो धुनले भन्दा पनि आफन्त भट्ने धुनले पेरिस जादै थियौ ।  तर त्यहाँ पुगेपछि त्यसको एतिहासिक र शुन्दरताको अवलोकन गर्ने धुन हामीमा पनि थियो । अप्रिल १ तारिक दिउसोको दुईबजे हामी बेल्जियमको गेण्ट हुँदै क्रमश बेल्जियमको सिमा काटेर  फ्रान्सको उत्तरी शहर लिले पुग्दा दिउँसोको ३ बजिसकेको थियो ।

रातको ८ बजे हामी पेरिसको ‘चार्ली द गौले’ अन्तराष्ट्रिय विमानस्थल हुदै फिलिक्स बसको अन्तिम स्टेशन बेर्शी सिनेमा उत्रियौं । त्यो ठाउँमा पहिलो पटक पुगेकोले लाकोर्नोभ जाने मेट्रोको खोजीमा केहीबेर भौतारिन कर लाग्यो । सिने इशा पूर्व ४० हजार वर्ष पुरानो मानब अस्थिपञ्जर भेटिएको एतिहासिक स्थल रहेछ । त्यहाँबाट युरोपको प्राय सबै ठाउँमा जाने बस मिल्ने । त्यसैको छेउ भएर बग्ने सिन नदीको माथि एउटा बिशाल काठे पुल छ । जुन पुलका १३ वटा फरक–फरक शाखाहरु छन् । त्यो अद्भुत पुल देखेर रोमाञ्चित हुदै केही तस्विर खिचेर हामी १४ नम्बर म्याट्रोबाट पेरिसको एतिहासिक स्थल सतलेमा पुगेर ७ नम्बर म्याट्रो चढी लाकोर्नोभ भान्जी मीनाको घर पुग्दा झन्डै १० बजेको हुंदो हो ।
  
राति भान्जीले बनाएको परिकारहरुको स्वाद लिदै घरायसी गन्थन गरेर केहि समय बिताइयो । धेरै कुराहरु भए र ज्वाई, नातिनीहरुको सत्कारमा बाटोको थकाई बिर्संदै त्यो रात त्यहि बितायौ । फ्रान्स आफैंमा इतिहासको अमुल्य बिरासत बोकेको देश हो । युरोपका रोम र ग्रीस पुराना सभ्यताको लागि संसारभर प्रख्यात छन् भने पेरिस आधुनिक सभ्यताको बिरासत बोकेको शहर हो । पेरिसको बारेमा जति हामीले पढेका छौं । जानेका छौ ति सबै कुरामा मात्र पेरिस सिमित छैन । बैज्ञानिकदेखि कलाका पारखीहरुसम्म, राजनैतिक अध्यतादेखि मानवताको पुनर्जागरणसम्म र सुन्दरतादेखि इन्जिनियर सम्मको लागि खोज अनुसन्धान र ज्ञानको भण्डार हो पेरिस । ज्ञानका पारखीहरुले खोज्न मात्र सक्नु पर्छ के पाइदैन पेरिसमा । 

भोलिपल्ट हामी श्रीलंकाका राजनैतिक शरणार्थीहरु बसेको मिनी सिटि ‘लासापेल’ तर्फ गयौँ । त्यहाँ केहि समय घुमेर हामी ‘प्लेस द स्टालिनग्राड’ पैदल नै गयौं । दोश्रो विश्वयुद्धमा रुसको स्टालिनग्राडमा हिटलरको सेनालाई सोभियत सेनाले हराएको सम्मान स्वरुप त्यो स्थानको नाम पनि प्लेस द स्टालिनग्राद राखिएको रहेछ । सिन नदीको एउटा क्यानल त्यहाँ पनि आउदो रहेछ र त्यसको दुवै किनारमा शुन्दर पार्कहरु बनाइएका रहेछन । त्यो हेरेर तीनजना केहीबेर पार्कमा सुस्तायौ । तर त्यति शुन्दर नदीको माथिल्लो किनारमा सयौ टेण्टहरु देखेर के रहेछ भनि बुझ्ने कौतुहलता जाग्यो । त्यहाँ त अफगानस्तान र मध्यपुर्बबाट आएका सयौ शरणार्थीहरुलाई अस्थाई रुपमा राखिएको रहेछ । पेरिस भित्रमात्रै त्यस्ता २८ स्थानमा शरणार्थीका अस्थाई टहरा भएको कुरा उनीहरुलाई खाना ख्वाउने रेडक्रसका एक कर्मचारीले बताए । 

त्यहि क्रममा सिरियाको एक शरणार्थीसंग पनि कुरा भो । उसका बाबु आमा दुवै युद्धमा मारिएका रहेछन । उसकी एक दिदी बाटोमा आउदा आउदै टर्कीको जंगलमा कसैले बलात्कार गरेर एउटा खुट्टा भाचेर छोडेछ । उनी हिड्न नसक्ने भएपछि छोडेर ग्रीस हुदै महिनौ लगाएर ऊ पेरिस आएको भन्थ्यो । उसकी दिदी मरिन कि कसैले उद्दार गर्यो ? उसले अनभिज्ञता जाहेर गर्यो । उसको कुरा सुन्दा अरुको देशको सम्पदा हडप्ने बहानामा युद्ध थोपर्ने शक्तिशाली भनाउदा देशहरु प्रति असिम घृणा जाग्यो । ताराको खुट्टा अलिक बढी दुखेकोले ‘टेक कियर’ भन्दै हामी त्यो सिरियन बन्धुलाई त्यहि छोडेर पुन भान्जिकै घर फर्कियौं । 

अर्को दिन संसारकै ठुलो आर्ट्स म्युजियम लुभ्रे पुग्ने धोको पुरा भयो । पेरिसको त्यो म्युजियम र पौराणिक कालमा भएको फ्रान्सको कला विकासको उत्कर्ष हेर्न संसारका हरेक कुनाबाट आउने पर्यटकहरू टिकट काट्ने लामो न लामो लाइनमा माला झैँ उनीएका थिए । यहाँ परापुर्ब कालदेखि अहिलेसम्मका लगभग ३८ हजार उत्कृष्ट तस्विरहरु छन् । जसमध्ये लियोनार्दोले बनाएको मोनालिसाको तस्विर सबैभन्दा धेरै हेरिने तस्विर हो । फ्रान्सका राजा लुइ चौधौंले बनाएको यो दरबारमा रहेको त्यो आर्ट्स म्युजियम हेर्न पत्रकारहरुलाई शुल्क लाग्दैन ।

फ्रान्सले पुराना सभ्यता र कलाको जतन गरेर अरबौ युरो प्रत्येक महिना आर्जन गरिरहेको छ तर हामीले हाम्रा पुराना सभ्यताका धरोहर, ताल तलैया, खोलानाला बन जंगल, मोठ मन्दीर, संस्कृति र ऐतिहासिक दरवार समेत जलाएर, फोरेर, पड्काएर पहिचान र आयआर्जनको श्रोत खोजिरहेका छौं । पेरिसका ति धरोहरहरुको अबलोकन गर्दा कताकता पेरिसले ‘तँ नेपालीलाई यी चिजको के महत्व ? आफ्नो स्याहार्न नसक्नेले अरुको सम्पदा हेरेर आनन्द लिने अधिकार छैन’ भनेर गिज्याएझै लाग्यो । 

पेरिससम्म पुगी सकेपछि संसारकै राजनीतिक बिद्यार्थीहरुको चाखिलो गन्तब्य ‘ला कम्युन दि पेरिस’ नपुग्ने कुरै भएन । कार्ल मार्क्सको समाजबादी दर्शनको पहिलो प्रयोग भएको ठाउँ । त्यो क्षेत्रमा पनि संसारभरीका माक्सबादी र समाजबादीहरु पुगेर अबलोकन गर्ने रहेछन । २८ मार्च १८७१ देखि २८ मे १८७१ सम्म पेरिसका मजदुरले पेरिसको सत्ता सैनिकबाट खोसेर लिएका थिए ।

त्यो क्रान्तिमा लुइस अगस्ते ब्लांकीले ति मजदुरहरुको नेतृत्व गरेका थिए । तर सत्ता हातमा लिएको ७२ दिन पछि पेरिसका पुराना सेनाहरुले मजदुरहरुको कत्लेआम गरि सत्ता खोसेका थिए । त्यो रक्तपातको अन्तिम हप्तालाई पेरिसबासीहरुले ‘ब्लडी उईक’ भनेर अझै सम्झने गर्छन । ति सबैको अबलोकनले मन स्तब्ध भयो । तिनै परिघटनाहरु आज संसारका राजनीतिज्ञहरुका लागि शिक्षा र अध्ययन सामाग्री बनाउन फ्रान्स सफल भएको छ ।

तीन दिनको लाकोर्नोभ बसाइपछि त्यो बेलुका ‘सिक्स रुट’ स्थित हरी सापकोटाको घर गयौं । उहाँ नेपालमा मेरै घर छिमेकी हुनुको साथै स्थानीय हाइस्कुलको प्रधानध्यापक पनि हुनुहुन्थ्यो । घरायसी कुराहरु नहुने कुरै भएन । राति अबेरसम्म कुरा गरेरै बस्यौ । सालिकराम सापकोटा दाई पनि त्यहि बस्नुहुदो रहेछ । निर्मलजीसंग पनि राती फोनमा कुरा भयो । भोलि पल्ट शुक्रबार उहाँको भाइको वार्षिक श्रद्धान्जली कार्यक्रम भएकोले उहाँ अत्यन्त ब्यस्त हुनुहुदो रहेछ । हामीले पनि आत्मैदेखि भाईको आत्माको चिर शान्तिको कामना गर्यौ । मिना भाउजुको सत्कारलाई नमन गर्दै त्यहि रात बितायौँ । भोलिपल्ट भाइ गोबिन्द रिज्याललाई साथमा लिई हामी आफ्नो अबलोकन गन्तब्यतर्फ लाग्यौँ । त्यहि दिन भाई चिरन्जिबीसंग पनि भेट भो ।

साहित्य र किताबमा पढिएको पेरिस आफैले छामेर हेर्दा छुट्टै आनन्द लाग्ने । गोबिन्द भाइसंगको यात्रा निकै आनन्ददायी बन्दै गयो । पहिलो पटक चढेको चालक बिनाको १४ नम्बर मेट्रो रेलले छुट्टै आनन्दको अनुभूति दिलायो । मेट्रोभित्र चढ्दै ओर्लदै गरेको मानब लहर देख्दा मलाइ मेजिको कुलोको याद आयो । २०४७ साल तिरको कुरा हो ।

हरि सर, म र गैह्राबारी जेठा पुसाजु मेजिमा पानि कुर्न गइयो । खडेरीले गहुँ सुक्ने लागेका । झहरे खोलाको बाँधबाट पानी चलायौ तर बिचबिचमा पानी चोर्नेले हैरानी पार्ने । बाख्रो बगाउने कुलोको पानि गन्तव्यमा पुग्दा मुसो बगाउने पनि छैन । बिहान उठेर कुलोमा पानि हेर्दै घर गएको त सबैको खेतमा थोरै थोरै पानि गैरहेको । आफ्नोमा छैन । पेरिसका मेट्रो पनि मान्छे बोक्ने कुला नै त हुन् । मेट्रो दिनरात बगिरहन्छ । हरेक बिसौनिमा झर्ने झर्छन चढ्ने चढ्छन । चोरेर बाँच्ने पाकेटमारहरुको लागि पनि म्याट्रोले रोजगार दिएकै छ । 

एक घण्टामा हामी पेरिसको मुटु ‘कंकर्ड’ पुग्यौ । यो ठाउँ पेरिस सहरको नहेरी नहुने ठाउँ हो । कंकर्डको तल ७७६ किलोमिटर लामो सिइन नदीको पानीमा डुंगा र पानीजहाज चलेका छन् । केहिँ तल डायनाको दुर्घटनामा भएको मृत्युको सम्झना स्वरुप स्तम्भ अनि स्वर्ण पुल, बिशाल चौराहा सबै नहेरी नहुने स्थान । हेर्दाहेर्दै आँखा अगाडी आइफल टावरको दृश्यले मन नै लोभ्याउने।

यो अद्भुत चौराहा, र बगैंचाको योजना अंगे ज्याक्कुइ गाब्रियलले सन् १९५५ मा गरेका रहेछन । टुइलिरिस बगैचाको ढिकमा बसेर त्यहाँको राजनैतिक इतिहासको भूमि बनाउन थालें । कंकर्ड स्तम्भ भएकै स्थानमा २१ जनवरी १७९३ को त्यो दिन फ्रान्सका राजा लुइ सोह्रौंलाई काटिएको थियो । उनको साथमा अन्य दरबारिया सहित रानी मारिया, राजकुमार, राजकुमारीहरुलाई पनि मृत्युदण्ड दिइएको थियो । सन् १८२६ मा त्यो चौराहाको नाम ‘प्यालेस लुइस १६औं’ राखिए पनि सन् १८३० को जुलाई क्रान्ति पछि त्यो चोकलाई ‘प्लेस द कंकर्ड’ भनेर नामाकरण गरियो ।

पेरिसलाई चिरेर दौडेको सिइन ‘नदीको पानि पेरिसबाहिर’ ले हाभ्रेबाट ल्याइएको हो । त्यो नदीको माथि पेरिस बाहिरमात्र दर्जनौं भिमकाय पुलहरू छन् भने पेरिस भित्र ३७ बटा पुलहरू छन् । यो नदीको मुहानको पुल संसारकै अग्लो पुल मानिन्छ । ‘ले हाभ्रे’मा रहेको त्यो पुल २१४.७७ मिटर अग्लो छ जसलाई ‘पोन्तदिनोर मादी’ भनिन्छ । यो सन् १९९५ मा बनेको हो । यो पुल तर्दा आकाश चुमेको अनुभब हुने बताइन्छ । जसको योजना मिखायल भिर्लो गेसले गरेका हुन् । पुग्नेहरु भन्छन ‘यो पुल अद्भुत छ ।’

यात्रा भनेकै परिबार, उनीहरुसंगको सामिप्यतामा भोजन र भ्रमणको उमङ्ग हो मात्र भनेर हुदैन । घुमाइ त एउटा अध्ययन पनि हो । त्यसमा अध्ययनको महत्वलाई बुझेको जिज्ञासु साथि हुने हो भने यात्रा खोजमुलक बन्दछ । सन् २०१६, २५ जुनमा फ्रान्सको आँजेमा भएको पत्रकारहरुको सम्मेलन सकिएपछि पनि नेपाली पत्रकारहरुसंग पेरिस घुमियो ।

तर हतारमा घुमेकोले खासै अध्ययनमुलक घुमाइ हुन सकेन त्यो बेला । सम्मेलनमा भाग लिन नेपालबाट आएका पत्रकार अग्रजहरुको अनुहार टोर्कादोरको ढिकमा उभिएर आइफल नियाल्दै सम्झें । पत्रकार नेतृत्व महेन्द्र बिष्ट, दिपेन्द्र, किशन, प्रकाशलगायत मित्रहरुसंग त्यहि स्थानमा पुगेर केहि तस्विर खिचेका थियौँ । अहिले पनि उनीहरुलाई ‘मिस’ गरेको अनुभब भैरहेको छ ।   

त्यो बेला पेरिसमा रहनु भएका मित्र बिनोद खकुरेलजीले हाम्रो यात्रालाई थप रोमाञ्चक र सहज बनाउन गरेको प्रयत्नलाई कहिल्यै बिर्सन सकिँदैन । फरक फरक देशमा पुगेर फरक स्वादका खानेकुरा खाँदा र भिन्न दृष्यहरुको अनुभब गर्दा किशन संगीत, प्रकाश र गणेशजीहरु कति रोमाञ्चित बनेका थिए, अझै सम्झना छ । तर उनीहरुले त्यो बेलाको भ्रमणबारे लेखे लेखेनन, अनुभूतिहरूको संगालो बनाए बनाएनन थाहा छैन । अन्तिम दिन हामी पेरिसको ‘आन्भर्स’मा अबस्थित ‘साक्युर पेरिस’ नामक चर्च अबलोकनमा निस्कियौं ।

माथि टाकुरामा अबस्थित ‘जिससको पबित्र मुटु’ सम्झिने त्यो अद्भुत क्याथोलिक चर्चले मोहित बनायो । प्रखात इन्जिनियर पाउल आवादीको योजनामा सन् १९१४ मा बनेको त्यो चर्चबाट अधिकांश पेरिस देखिन्छ । पर्यटकहरुले पबित्र हलमा पसेपछि केहीबेर मौन प्रार्थना गर्दा रहेछन । त्यहाँको घुमाइ सकेपछि २ नम्बर म्याट्रो चढेर ‘स्तालिनग्राद’ ‘सतले’ हुदै बेल्जियम फर्कनको लागि फिलिक्स बस भेट्न बेर्शी (सिने) आयौँ ।  

पेरिस पुगेपछि थाहा हुन्छ कृतिम निर्माण भित्र पनि कति कला र शुन्दरता लुकेको छ । कृतिम मोहनी भनेको केहो ? आइफलको धुरीबाट मात्र अनुभब गर्न सकिन्छ ।   सफा र सुन्दर जुनसुकै पेरिसका गल्लिहरुको दृश्यले प्रयटकहरुलाई मोहनी लगाउन बिर्संदैंन । ताना शर्माले घनघस्याको थाप्लोमा पुगेर कल्पनाको सौन्दर्यमा सिंगो नेपाल देखे ।

बिजय मल्लले नागार्जुनबाट आर्य सभ्यता देखे भने मैले आइफलको धुरीबाट राजनीति शास्त्रभित्र कला तथा शौन्दर्यको सिंगो संसार देख्न किन नहुने ? एक स्वाभाविक प्रश्न । घनघस्याको बिकटतालाई देखेर शर्माले जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबीसेसम्मको फराकिलो कालो बाटालाई सराप्तै उकालो चढ्न हुने मैले शुन्दर काठमाडौंलाई नर्क जस्तो बनाउने नेता र उपत्यकाबासीलाई सराप्न किन नहुने ? फेरी अर्को प्रश्नले बोलायो ।

आइफलको टुप्पोबाट युरोपको निलो आकाश चुम्दै विश्व सभ्यता, मानबता र राजनीतिको नर्सरी पेरिसमा रहेको कल्पनामा के सत्यता छैन र ? मानाबशास्त्र, दर्शनशास्त्र, राजनीतिशास्त्र, भौतिकशास्त्र, शौन्दर्यशास्त्र, पाकशास्त्र लगायत ज्ञानका सबै कुन्जहरुमा पेरिस कहिल्यै तल हुन सक्दैन । यी सबै कुञ्जहरुको प्रतिबिम्ब पेरिसको आकासमा कोरिदिंदा विश्वलाई अन्याय हुँदैन किनकि पोपहरुको धार्मिक शासनदेखि समाजबादी, पुंजिबादी र, फाँसीबादी र धार्मिक राजनीति सत्ताको प्रयोग कहिँ भएको छ भने त्यो देश फ्रान्स हो ।

अमेरिका बेलायतको गुलाम हुँदा अमेरिकालाई बेलायती गुलामीबाट मुक्त गराई ‘स्टाच्यु अफ लिबर्टी’ उपहार दिने अन्य कुनै देश नभएर फ्रान्स नै हो। त्यसैले भनिन्छ, आधुनिक भौतिक विकास भित्रको उदार सुन्दरता पेरिसमा पुगेपछि मात्र देखिन्छ । पेरिसका प्रत्येक गल्लीहरुमा इतिहासका  त्यस्ता धेरै परम्परागत र साँस्कृतिक बिरासतहरु लुकेको भेटियो । 

कसैले लेखेका थिए, संसारभरी सुगन्धित फुल जति फुले पनि निचोरेर बेच्ने सहर पेरिस हो । संसारमा राजनीतिका जति पनि फूलमा कोपिला लागेका छन् आफ्नो नर्सरीमा उमारेर वितरण गर्ने देश फ्रान्स हो । आधुनिक मानबीय शुन्दरता र स्वतन्त्रता जति लोकप्रिय छ, आफ्नो अन्जुलीमा भरेर दिने शहर पेरिस हो । दर्शन, इतिहास र बिज्ञान भित्र सौदर्य र कला हुँदैन भन्नेहरुलाई ‘एक पटक पेरिस आऊ र हेर’ भनेर बोलाउने देश फ्रान्स हो । 

सकेसम्म साथीहरुलाई भेट्यौ। किरण गिरीजी, तप्तजी, बिक्रम भाई, गोबिन्द, शिब, प्रकास, लगायत साथिहरुसंग भेट भयो । केहि साथीहरु भेट्न चाहेर पनि छुटे । भेट्न छुटेका मित्र तथा आफन्तहरु निर्मलजी, हरिहर बुबा, बिनोदजी, हमाल भाइसंग माफी मनमनै माग्दै पेरिस छोड्दै गर्दा केहि वर्ष अघि आतंककारीहरुबाट मारिएका चार्ली आब्दो ब्यङ्ग पत्रिकाका पत्रकारहरुको याद आयो । दिबंगत १३ जना पत्रकारहरुलाई श्रद्धान्जली अर्पण गर्दै हामी तीन यात्रुहरु पुन बेल्जियम फर्कियौं । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »