माधव नेपालसँग नजिकिँदै प्रचण्ड

१ जेठ २०७५

banner

फाइल फोटो

काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग निकै चरणमा ‘वान टू वान’ वार्ता गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेकै अर्का नेता माधव नेपालसँग पार्टी एकताका विषयमा छलफल गरेका छन्। पार्टी एकताले गति नलिइरहेका बेला अध्यक्ष दाहाल र नेता नेपालबीच मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा लामो छलफल भएको हो। पछिल्लो समयमा पार्टी एकताका विषयमा माओवादी नेताहरुले सशंकित हुन थालेका छन्।

प्रधानमन्त्री ओलीले एकलौटी ढंगले सरकार संचालन गरेको, आफ्ना मन्त्रीलाई वाइपास गरेको र एकताका विषयमा पनि एमाले अध्यक्ष ओलीले पेल्न खोजेको भन्दै माओवादी सशंकित बन्न पुगेको छ। दुई नेताबीचको छलफलमा छिटोभन्दा छिटो एकता संयोजन समितिको बैठक बोलाएर एकता प्रक्रियालाई अगाडि बढाउन छलफल भएको एमाले नेता माधव नेपालका स्वकीय सचिव मोहन गौतमलाई उद्धृत गर्दै राससले जनाएको छ।

एमालेभित्र माधव नेपाल पक्षलाई कुनै बेला केपी ओलीपक्षधरले कर्नरमा बनाएपछि दाहाल र नेपाल नजिएिका थिए। तर, अहिले फेरि ओली र नेपाल नजिकिएपछि दाहाल थप सशंकित भएका छन्। एमाले र माओवादीबीच एकताकालागि धेरै विषयमा सहमित भइसकेपनि माओवादीले बराबरी हैसियतमा एकता गर्नुपर्ने अडान राख्न थालेपछि एकता प्रक्रियाले गति लिन सकेको छैन।

पार्टीको संगठन संरचना र वैचारिक विषयमा सुझाव दिन गठित कार्यदलहरुले केही विषयमा बाहेक सहमतिका साथ सुझाव दिएका छन्। माओवादीले एकीकरण बराबरीको हैसियतमा मात्रै हुने स्पष्ट पारिसकेको छ। नेतृत्व व्यवस्थापनमा अझै सहमति भइसकेको छैन।

पार्टी एकीकरणबारे एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच हुँदै आएको छलफल केही दिनदेखि पातलिएको छ।  निरन्तर छलफल नहुनुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई कारण देखाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वैशाख २६ गते भेटघाट भए पनि एकीकरणका विषयमा खासै छलफल भएन।

दाहाल र नेपालबीच भएको छलफलमा  साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »