अधिकमासः विशेष कामनाका कर्म नगरौँ

१ जेठ २०७५
banner

पूर्णप्रसाद मिश्र 

काठमाडौँ। जेठ महिनामा अधिकमास परेको छ। जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ। मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ। जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु हुने र औँसीको अन्त्यसम्म अर्थात् जेठ ३० गते राति २ बजेसम्म रहने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। 

“ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ, यो महीनामा नित्य र नैमित्तिक कर्म गर्नुहुन्छ र कुनै कामना राखेर गर्ने कर्म गर्नुहुँदैन”, उनले भने। 

ज्येष्ठ कृष्ण औँसीमा गरिने वट सावित्री व्रत भने गर्न हुने समितिले जनाएको छ। गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम यस महीनामा गर्न शास्त्रीय रुपमा निषेध गरिएको छ। एक वर्षभित्र विवाह भएका पतिपत्नीले समागम गर्नुहुँदैन। एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने भनिए पनि शास्त्रीय आधारमा समागम गर्न निषेध गरिएको अध्यक्ष गौतमले बताए। 

“एक वर्षभित्र विवाह भएका पतिपत्नीबीच समागम भए पतिको आयु क्षीण हुन्छ, यसबीचमा गर्भ रहे स्वस्थ सन्तान जन्मदैन, आयु पनि थोरै हुन्छ भन्ने धर्मग्रन्थमा उल्लेख गरिएको छ”, उनले भने। अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महीनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्न पनि शास्त्रीय रुपमा बन्देज छ। यस महीनामा मन्दिर निर्माण र कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि मनाही गरिएको छ। 

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ। तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन्। कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुन पुग्छ। त्यस्तो समयमा एकै चान्द्रमास दुई पटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ। त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई बताउँछन्। 

“सूर्यसङ्क्रान्तिदेखि गतेका आधारमा मानिने, हामी सबैले बुझेको र व्यवहार गरिरहेको मास नै सौरमास हो, सूर्य र चन्द्रमाको अन्तर नै तिथि हो, यी दुईको अन्तर १२ अंश हुँदा एक तिथि हुन्छ, १५ तिथिको एक पक्ष हुन्छ, शुक्ल पक्ष (शुक्लप्रतिपदाबाट पूर्णिमासम्मको पक्ष) र कृष्णपक्ष (कृष्णप्रतिपदाबाट औँसीसम्मको पक्ष) गरी दुई पक्ष वा तीस तिथिको मास नै चान्द्रमास हो”, उनले भने। 

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन्। एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ। यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ। दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ। तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ। त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो। तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्छ। 

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन। एउटा पनि सूर्यसङ्क्रान्ति नभएको चान्द्रमास नै अधिकमास हो। धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ। 

त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुई सूर्यसङ्क्रान्ति पनि पर्छ। त्यस्तो दुई सूर्यसङ्क्रान्ति परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुई अधिकमास पर्छन्। दुई वर्ष, आठ महिना, सोह्र दिन र चार घडी पुगेपछि अधिकमास पर्ने सम्भावना बढी हुन्छ भन्ने शास्त्रमा व्याख्या गरिएको छ। 

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा । 
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।। 

सूर्य र चन्द्रमाको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ। अधिकमासमा स्नान, सन्ध्योपासन, जप, तर्पणजस्ता शरीर एवं चित्तशुद्धिका लागि सधैँ गरिने कर्म गर्नुपर्छ। यसैगरी न्वारान, पास्नी, क्रियाकर्मजस्ता निमित्तले गरिने कर्म र रक्षाका लागि गरिने आतुरकालीन शान्ति कर्म अधिकमासमा पनि गर्नुहुन्छ। 

विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नुहुँदैन। पुराणवर्णित पुरुषोत्तम भगवान्को पूजाराधना, व्रतोपवास र अपुङ्गो दान आदि कर्म भने अधिकमासमा गर्नुपर्ने शास्त्रीय मान्यता छ। 

अधिकमास भनेको एक प्रकारको विकार भएकाले मलमास भनिएको हो। ज्योतिषका फलित विशेष गरी ‘संहिताग्रन्थ’मा अधिकमासको प्रायः अशुभ फल नै बताइएको उपप्राध्यापक भट्टराईको भनाइ छ। 

अधिकमासको शुभाशुभ फल महिनाका आधारमा निर्धारित हुन्छ। यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट भय, चोरीडकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुको मूल्यवृद्धिजस्ता फल प्राप्त हुने ज्योतिषका संहिताग्रन्थमा उल्लेख गरिएको छ। 

जेठ महिनाको अधिकमासले शासक र शासित वर्गबीच वैमनश्यता बढाउँछ । शासक वर्गबाट जनता त्रसित हुने उपप्राध्यापक भट्टराई बताउँछन्। करीब एक हजार ५०० वर्षअघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ। रासस

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।