वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

२ जेठ २०७५
banner

फाइल फोटो

चितवन। विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ। 

आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ। आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ। 

उनका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ। जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अण्डरपास निर्माण गरिएको हो। 

ती अण्डरपासमा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ। सिसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालो लगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन। सोही क्षेत्रमा एक किलोमिटर तीनसय मिटर सडक क्षेत्रमा तारबार गरिँंदै छ, जसका कारण जनावरले जथाभावी सडक पार नगरी अण्डरपास प्रयोग गरुन र दुर्घटना नहोस् भन्नका लागि तारबार गरिएको विज्ञ पाठकले बताए। 

यस्तै सोही क्षेत्रमा चार ठाउँमा जंगली जनावरलाई लक्षित गरी पोखरी खनिएको उनले जानकारी दि। समिढाप, साउनेपानी, ढ्याङ्ग्रेखोलामा पोखरी खनिसकिएको छ भने जलदेवीमा खन्ने तयारीमा रहेको छ। वन्यजन्तुले पानी पिउन र पौडी खेल्न सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरी खनिएको उनले बताए। 

आयोजनाले सडक क्षेत्रमा काटिएका रुखको क्षतिपूर्ति बापत पदमपुर सामुदायीक वनमा पाँच हेक्टर जमिनमा आठ हजार बिरुवा लगाएको जनाएको छ। विज्ञ पाठकका अनुसार एक रुख काटिएबापत २५ बिरुवा लगाउनुपर्ने हुन्छ। सोही अनुरुप टाँकी, बकाइनो, रक्तचन्दन लगायतका बिरुवा रोपिएको उनले बताए। ती बिरुवा हुर्काउने काम पनि आयोजना गर्नेछ। 

विश्व बैंकको सहयोगमा सडक विस्तार भइरहेकाले यसबाट वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिने गरिन्छ। नारायणगढ–मुग्लिन सडकको आँपटारीदेखि भतेरीसम्म दुबैतर्फ वन रहेको छ। ती क्षेत्रमा रहेका वन्यजन्तु प्रभावित नहुन भन्नका लागि आयोजनाले विशेष ध्यान पु¥याउँदै आएको छ। रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l