सन्दिप लामिछानेलाई अर्को सफलता, आइसीसी वल्र्ड ११ मा परे

२ जेठ २०७५

banner

काठमाडौं । आइपीएल खेल्ने पहिलो खेलाडी बनेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई फेरी अर्को सफलता हात परेको छ । सन्दिप लामिछाने वेस्ट इण्डिजविरुद्ध हुने टि–ट्वान्टि च्यारीटी खेलमा आइसीसीको वल्र्ड ११ मा पर्न सफल भएको आइसीसीले जनाएको छ ।

बंगलबादेशका सकिब अल हसनले वेस्ट इण्डिजविरुद्धको खेलमा आइसीसीबाट नाम फिर्ता गरेपछि नेपाली सन्दिप आइसीसी ११ मा पर्न सफल भएका हुन् । आइसीसी ११ र वेस्ट इण्डिजविरुद्ध यसै महिनाको ३१ तारिखका दिन हुने खेल सन्दिपका लागि ऐतिहासिक रहने छ ।

किनभने उनले विश्वका स्टार खेलाडीहरुसँगै रहेर खेल्ने मौका पाएका हुन् । वेस्ट इण्डिज क्यारेबियन क्षेत्रको मुख्य क्रिकेट स्टेडियम गतवर्ष विनाशकारी आँधीले भत्काएपछि यस सहयोगार्थ खेलको अयोजना गरिएका आइसीसीले जनाएको छ । स्टेडियम पुननिर्माणका लागि आइसीसी ११ र वेस्ट इण्डिजको खेल महत्वपूर्ण मानिएको छ । 

सन्दिप लामिछानेले खेल्ने आइसीसी टोलीबाट इंगल्याण्डका स्टार इयोन मोर्गनले कप्तानी सम्हाल्ने छन् । यसैगरी टोलीमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची परेका छन् ।

यसैगरी वेस्ट इण्डिजका तर्फबाट स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् । वेस्ट इण्डिज २०१६ को टि–ट्वान्टि विश्वकप विजेता टोली हो । 

सन्दिप लामिछानेले आइपीएलमा अहिलेसम्म एकमात्र खेल खेलेका छन् । सन्दिपले दिल्ली डेयर डेभिल्सका तर्फबाट १३ औं खेलमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स वैंगलौर विरुद्ध डेब्यू गरेका थिए ।

सन्दिपले पहिलो खेलबाटै प्रशंसा बटुल्नपनि सफल भएका छन् । उनले त्यस खेलमा २४ बलगर्दा २५ रन दिएर १ वीकेट लिएका थिए । उनी त्यस खेलकै किफायती बलर बनेका थिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »