प्रदेश ७ को दोस्रो अधिवेशन शुरु

२ जेठ २०७५

banner

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ। 

आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५/७६ का लागि ल्याइने बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। 

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गर्नुभएको प्रस्तावमा जनताको विकासप्रतिको चाहना र सरकारको नीतिबीच तादम्यता कायम गर्ने, संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने, पूर्वाधारको विकास, प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य समाहित छन्। 

यसअघि बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले प्रदेशमा केही दिनअघि उत्पन्न भीषण हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट पुगेको क्षतिको विवरण संकलन गरी पीडितलाई राहतको व्यवस्था गर्न माग गरे।

सदस्यहरूले हावाहुरीमा परी मृत्यु भएकी कैलालीकी चारुमति बुढाका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेका उपचारमा सहयोग गर्नुपर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराए।

उनीहरूले देशमा नाकाबन्दी लगाउने पक्षलाई नागरिक अभिनन्दन गरिएको र भारतीय सांसद किर्ती आजादले जनकपुरलाई भारतमा मिसाउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

शून्य समयमा प्रदेशसभा सदस्यहरू वीरभान चौधरी, चुनकुमारी चौधरी, कर्णबहादुर मल्ल, अम्बिकुमारी थापा, शान्ति नेपाली, रतन थापा, देवकी मल्ल, लालबहादुर खड्का, सुशीला बुढाथोकी, नन्दबहादुर साउद, नेपालु चौधरी र महेशदत्त जोशीले बोलेका थिए।

 प्रदेशसभाको अर्को बैठक यही जेठ ४ गते अपराह्न ३ बजे बस्नेछ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »