इतिहासको पानामा जनरल खड्ग शम्शेर

२१ चैत्र २०७३

banner

सनातन धर्माबलम्बीहरुले अक्सर उपनिषद्, गीता आदि ग्रन्थहरुका पंक्तिहरुलाई जीवनको हरेक पक्षमा उतारने प्रयत्न गर्ने गर्छन्। यस पंक्तिमा पनि सोही प्रथा अवलम्बित भएको छ। कठोपनिषद्मा नचिकेताले भनेका छन् : 
‘अनुपश्य यथा पूर्वे प्रतिपश्य तथा˜परे
सस्यमिव मर्त्यः पच्यते सस्यमिवाजायते पुनः’
यो विश्वमा खरबौं मानिसले जन्म लिन्छन्, जन्मेर केही काल यस वसुन्धरालाई भोग गरेर  अनन्तविश्राम लिन्छन्। जसरी अन्न बीउ उम्रन्छ, फसल तयार हुन्छ, उपभोग हुन्छ फेरि माटो, घाम र जलको सम्पर्कले फेरि उम्रन्छ। कुमालेको चक्रसरी निरन्तर घुमी रहने यो भवसागरमा आउने जानेहरुको गणना हुँदैन तर ती मध्ये जसले यो विश्व, देश र समाजलाई केही दिएर गएका हुन्छन्, तिनीहरुलाई इतिहासले सम्झने गर्छ। 

श्री ३ महाराज जङ्ग बहादुर राणाका कान्छा भाई कमाण्डिङ जनरल धीर शम्शेरका तेस्रो रानी जौहर कुमारी देवी को कोखबाट १९१७ साल माघ १ गते तदनुसार १८६० जनवरीमा द्वितीय पुत्रको रूपमा खड्ग शम्शेरको काठमाडौंमा जन्म भएको थियो।


‘आस’ धातुमा ‘इति’ र ‘ह’ उपसर्ग लागेर बनेको ‘इतिहास’ शब्दको अर्थ ‘इति’ले ‘यस्तो’, र ‘ह’ले ‘निश्चय नै’, ‘आस’ले ‘भएको थियो’ भन्ने बोध हुन्छ। अमुक देशमा, अमुक कालमा, अमुक व्यक्तिले, अमुक कार्य गरेको थियो भन्ने लेखा जोखा नै इतिहास हो। विगतमा हाम्रा पूर्वजहरूले के के गरे? तिनका देनहरू के के छन्? भनेर पुनरावलोकन गर्नु नै इतिहासको पाना पल्टाउनु हो। 

श्री ३ महाराज जङ्ग बहादुर राणाका कान्छा भाई कमाण्डिङ जनरल धीर शम्शेरका तेस्रो रानी जौहर कुमारी देवी को कोखबाट १९१७ साल माघ १ गते तदनुसार १८६० जनवरीमा द्वितीय पुत्रको रूपमा खड्ग शम्शेरको काठमाडौंमा जन्म भएको थियो। खड्ग शम्शेरको शैशवकालको बारे ज्यादा थाहा नभए पनि उनले कलकत्ताको ‘डसन कलेज’ मा म्याटि्रक तहसम्म शिक्षा हासिल गरेका थिए। त्यससमयमा खड्ग शम्शेर र चन्द्र शम्सेर दुईजनालाई भारतको कलकत्तामा पढ्न पठाइएको थियो। पछि चन्द्र शम्शेर प्रधानमन्त्रीमा नियुक्त हुँदा पहिलो म्याटि्रक पास गरेको प्रधानमन्त्री भएको कुरा सर्वविदितै छ। 

वि.सं. १९४५ मा पाल्पा बस्ने अनुमति पाए तापनि वि.सं. १९४८ सालमा मात्र खड्ग शम्शेरलाई पाल्पा गौंडाको तैनाथी र पश्चिमतर्फको प्रधान सेनापतिको पद समेत दिई बुटवल चार टप्पा अर्थात् तराई तर्फ भैरहवा, तौलिहवासम्म एवम् पहाडतर्फ बागलुङ, पर्वतसम्मको अख्तियारी समेत दिइएको थियो।


जनरल खड्ग शम्शेरको पेशाको बारेमा भन्नुपर्दा श्री ३ महाराज जङ्गबहादुर राणाकै पालामा लेफ्टेनेन्ट कर्णेलको दर्जामा रहेर जङ्गी सेवामा तैनात थिए भन्ने तथ्य वि.सं. १९३० को कम्पु पल्टन रेकर्डबाट देखिन्छ। हालाकी त्यस अघि के कस्तो पदबाट उनले आफ्नो सेवा शुरु गरेका हुन् भन्ने कतै प्रष्ट रूपमा नदेखिएकोले यहाँ उल्लेख गरिएको छैन। वि.सं. १९४२ मा श्री ३ रणोद्दिपको मृत्यु पश्चात् श्री ३ महाराज तथा प्रधानमन्त्री वीर शम्सेरको कार्यकालको पूर्वार्धमा २४ वर्षको उमेरमा सन् १८८५ मा उनले नेपाल अधिराज्यको प्रधान सेपनापतिको कार्यभार सम्हालेको थिए। केही समयपछि श्री ३ वीरको हत्याको षड्यन्त्र गरेको आरोपमा कमाण्डर इन चीफको ओहदा सम्हालेको १६ महिना बित्दा नबित्दै तानसेनबाट करिब सोह्र कोस पश्चिममा पर्ने ‘ठाडा’को रजिया भन्ने ठाउँमा उनलाई निर्वासित गरिएको थियो। वि.सं. १९४३ फाल्गुन २० गते कर्नेल नयनसिंह घले, लेफ्टिनेन्ट कर्णेल देवीबहादुर सिजापति र माहिला पण्डित काशीनाथ आचार्य दीक्षितहरूको साथ पहाडको बाटो पोखरा भएर ठाडा गएको उल्लेख छ। पछि वि.सं. १९४५ मा पाल्पा बस्ने अनुमति पाए तापनि वि.सं. १९४८ सालमा मात्र खड्ग शम्शेरलाई पाल्पा गौंडाको तैनाथी र पश्चिमतर्फको प्रधान सेनापतिको पद समेत दिई बुटवल चार टप्पा अर्थात् तराई तर्फ भैरहवा, तौलिहवासम्म एवम् पहाडतर्फ बागलुङ, पर्वतसम्मको अख्तियारी समेत दिइएको थियो। जनरल खड्ग शम्शेरको अंग्रेजी भाषामा राम्रो दखल थियो। श्री ३ रणोद्दिपको कार्यकालमा खड्ग शम्शेरले परराष्ट्र मामिला सम्बन्धी कार्यभार सम्हालेको देखिन्छ। साथै खड्ग शम्सेरले परराष्ट्र सचिव भई कार्यभार सम्हालेका पनि थिए। 

वि.सं. १९४९ मा उनकी प्रिय पत्नी रानी तेज कुमारीको देहावसान भए पछि उनै रानीको सम्झनामा कालीगण्डकी नदी उत्तरबाहिनी भएर बगेको ठाउँमा पाटी, पौवा, घाट, मन्दिर र दरबार निर्माण गरेका थिए। वि.सं. १९५० सालमा शिलान्यास गरी वि.सं. १९५४ मा सो दरबारको निर्माण कार्य पूरा भएको थियो। सो दरवार अद्यावधि ‘प्रेमको प्रतीक’को रुपमा रहेको छ। पाल्पा जिल्ला साविकको बौघागुम्हा गा.वि.स. वडा नं. २ अन्तर्गत कित्ता नं. ४६५ क्षेत्रफल ५–१०–१–२ मा दरबार क्याम्प कालीगण्डकी उत्तरतिर हानिने मोडमा विशाल चट्टान माथि निर्माण भएको छ। पश्चिमा कला कौशलको बेजोड नमूना खामिएको यस दरबारमा इम्बुस र इनकार्मिङ गरी ‘खड्ग शम्शेर’ कँुदिएको दुई मेलको ईटाहरु प्रयोग भएका छन्। दरबार परिसरको दाहिने पट्टि कित्ता नं. ४६६ क्षेत्रफल १७–१३–१–० मा फैलिएको फूलबारी रहेको छ। यसको साथै दरबार परिसरमा शिवालय र गंगाको मूर्ति स्थापना गरी लहरै तीनवटा मन्दिरहरुको निर्माण गरिएका छन्। मन्दिरहरुको बगलमा रानी तेज कुमारी नाम उत्कीर्ण गरिएको अज•को घण्टमा ‘स्वस्ति श्री गिरीराज चक्र चुडामणी नरनारायण श्री मन्महाराजधिराज...... पत्नी तेजकुमारी देवी बैकुण्ठलोक बास...... कामनया श्री परमेश्वरी प्रिति.....इति सम्बत् १९५५ साल शुभम्’ उल्लेख छ। दूरदृष्टि राख्ने क्षमता भएका खड्ग शम्शेरले शिवालय र गंगा मन्दिरको नियमित पूजाआजा चलाउन र दरवारको संभार र संरक्षणका लागि ‘श्री कृष्ण गण्डकी रानीघाट शिवालय गुठी’, ‘रानीघाट गुठी’ र ‘खड्गमुक्तेश्वर गुठी’ आदि गुठीहरु स्थापना गरी दिएका थिए।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनको मध्य भागमा पश्चिमा शैलीको एक सुन्दर स्मारक बनाएका छन्, जुन बर्षौको झंझावातलाई सहँदै ‘तानसेनको शीतलपाटी’ को नामले इतिहास बनी ठिङ्ग उभिरहेको छ।


ती गुठीहरुमा ‘श्री कृष्ण गण्डकी रानीघाट शिवालय गुठी’ मा पाल्पा जिल्ला साविक बल्डेङगढी गा.वि.स.अन्तर्गत क्षेत्रफल १३६–३–३–३ को दोयम खेत, क्षेत्रफल १११–०–२–१ को सीम खेत रहेको छ भने साविक मदनपोखरा गा.वि.स. अन्तर्गत क्षेत्रफल १७–१५–०–० को अवल खेत, साविक कसेनी गा.वि.स. अन्तर्गत क्षेत्रफल ३–४–२–२ को अवल खेत र क्षेत्रफल २३–८–१–२ को दोयम खेत ‘रानीघाट गुठी’मा रहेको छ। साथै ‘खड्गमुक्तेश्वर गुठी’ अन्तर्गत बराङ्दी गा.वि.स.मा ११–१४–०–२ को दोयम खेत, साविक खानीगाउँ गा.वि.स.मा १३–९–२–० को पाखाबारी र ता.न.पा बर्तुङमा ९–१५–२–० को दोयम खेत र क्षेत्रफल २१–२–३–१ ओगटेको पाखाबारी रहेको छ। खड्ग शम्शेरले यसको साथै पाल्पा जिल्लाको सदरमुकाम तानसेनको मध्य भागमा पश्चिमा शैलीको एक सुन्दर स्मारक बनाएका छन्, जुन बर्षौको झंझावातलाई सहँदै ‘तानसेनको शीतलपाटी’ को नामले इतिहास बनी ठिङ्ग उभिरहेको छ। जनरल खड्ग शम्शेरको पालामा बनेका यी दुई स्मारकहरु पाल्पाको पर्यटकीय गन्तव्य बनेको छ भने यस स्मारकहरुको वर्णनमा इतिहासकार र साहित्यकारहरुको थुप्रै मसी पाख्नुका साथै कलाकार र चलचित्र निर्माताहरुका पदचापले झंकृत पारेको छ। 

खड्ग शम्शेरकोे वैवाहिक जीवनलाई फर्केर हेर्दा रानी तेज कुमारीको अलावा दुई अरु पत्नीहरू भएको देखिन्छ। बुबा धीर शम्सेरले उनलाई पिट्दा उनको पहिलो पत्नी हाँसेकीले मन नपराएका थिए भन्ने भनाई छ। ती पत्नीको नाम अन्त कतै उल्लेख भएको पाइँदैन। उनको कोखबाट कुनै सन्तानको जायजन्म भएको देखिँदैन। रानी तेजकुमारी र नन्दकुमारीको नाउँ भने सबै ठाउँमा उल्लेख छ। रानी तेजकुमारी र नन्दकुमारीबाट नौ छोरा र आठ छोरी गरी जम्मा सत्र जना सन्तान भएको थियो।  ती मध्ये तेज कुमारीको कोखबाट जन्मेका पाँच छोरा पुण्य, जय, विक्रम, बहादुर र तुंग शम्शेर हुन् भने छोरीहरूमा गंगा, दिव्यश्वरी, हुसन दिव्यश्वरी, धन महारानी हुन्। नन्द कुमारीको कोखबाट जन्मेकाहरू चाहीँ हेम, हस्त, कुन्जर र लोक शम्शेर हुन् भने छोरीहरूमा अन्तरी, नयाँ कान्छी, कान्छी, जेठी कान्छी र ठूली कान्छी गरी पाँच जना हुन्। यहाँ छोरीहरूको बोलाउने घरायसी नामको मात्र जानकारीमा आएकोले सोही अनुसारको नाम उल्लेख गरिएका छन्। 

खड्ग शम्शेरकोे वैवाहिक जीवनलाई फर्केर हेर्दा रानी तेज कुमारीको अलावा दुई अरु पत्नीहरू भएको देखिन्छ। बुबा धीर शम्सेरले उनलाई पिट्दा उनको पहिलो पत्नी हाँसेकीले मन नपराएका थिए भन्ने भनाई छ। ती पत्नीको नाम अन्त कतै उल्लेख भएको पाइँदैन।


यस पंक्तिलाई अघि बढाउनु अघि हालैको विश्व रंगमञ्चमा घटेको एउटा घटनालाई यहाँ पस्कन उपर्युक्त होला जस्तो लाग्छ। संयुक्त राज्य अमेरीकाका राष्ट्रपति बराक ओवामाले आफ्नो पार्टीको राष्ट्रपति पदका उम्मेदवार हिलरी क्लिन्टनको समर्थनमा चुनाव अघि २७ जुलाइ २०१६ मा डेमोक्रेटिक नेशनल कन्भेन्सन मा ‘शी ह्याज मेड मिस्टेक्स, जस्ट लाइक आइ ह्याभ। वि अल डु। द्याट इज ह्वाट ह्यापेन्स ह्वेन वी ट्राइ’ भनेका थिए। भोलि हिलारी राष्ट्रपति पदमा निर्वाचित हुन्छिन् वा हुदिन यो भविष्यको कुरा थियो। अनि त्यो जीत वा हार पनि इतिहासको पन्नामा अऒ्ढित हुनु नै थियो। यहाँ मननीय पक्ष जीत वा हारको हैन, कर्म परायणता हो। जसले केही गर्छ त्यसैले सफलता वा असफलता प्राप्त गर्छ। कर्मठ व्यक्तिहरूले ‘भोलि इतिहासले मलाई कसरी सम्झन्छ भनेर चिन्ता गर्दैन अपितु युद्धमा होमिएको सिपाही सरी बेफिक्री अगाडि बढ्छ। कर्तव्य परायणता मात्र उद्देश्य हुन्छ।’

यस्तै व्यक्ति जनरल खड्ग शम्सेर पनि हो। इतिहास साक्षी छ उनले यदि आफ्नो कीर्तिलाई प्राथमिकता दिएको भए राणाहरूको इतिहास आजको भन्दा भिन्दै हुने थियो। कीर्ति र अपकीर्ति बीच बिल्कुल झिनो विभाजक रेखा हुन्छ भने कुनै पनि कार्य सही वा गलत हुनुमा देश, काल, परिस्थितिले ठूलो भूमिका खेलेको हुन्छ। किन भने समय नै त्यो राज–मराल हो जस्ले नीर–क्षीरको विवेकको क्षमता राख्दछ। श्री ३ रणोद्विपको हत्याको अपकीर्ति खड्ग शम्शेरको हिस्सामा आएको सर्वविदितै छ भने त्यसबखतको राजनीतिक दाव पेचको श्रेय पनि उनैको हिस्सामा रहेको भनाई समालोचकहरूको रहेको छ। उनलाई इतिहासले कुशल राजनीतिज्ञको रूपमा हेरेको छ भने सिकारु पुरातŒवविद् भनेर पनि सम्झेको पाइन्छ।

उनले लुम्बिनी मात्रको नभई श्रावस्थी, कपिलवस्तु, कन्चरीहवा, सिसौहवा, छोटी तौलिया, विकुलि, सकारहवा लहरी कुण्ड, गोथीहवा, कुवा, निगलिहवा, कुसिनरा, देवदवा, भेदावीवन, वैशाली, लुमी आदि ठाउँको ऐतिहासिक गरिमा विश्व सामु ल्याउने कार्य गरेका थिए भन्ने कुरा सन् १९०४ मा अलाहवाद भारतबाट प्रकाशित अंग्रेजी दैनीक ‘द पायोनियर’ मा प्रकाशित लेखबाट पुष्टि हुन्छ।


वि.सं. १९४८ देखि १९६० सम्म आफ्नो मुख्तियारीको कालमा इलाका भ्रमण गर्दा उनले अशोक स्तम्भको पत्ता लगाएर बुद्धको जन्मभूमिको पहिचानको लागि पत्रचार गरेर डा. फुलेर र डा. वाडेल जस्ता पुरातŒवविज्ञहरूलाई निम्त्याएर आफ्नै निगरानीमा उत्खनन् गराएका दस्तावेजहरू प्रशस्त छन्। उनले लुम्बिनी मात्रको नभई श्रावस्थी, कपिलवस्तु, कन्चरीहवा, सिसौहवा, छोटी तौलिया, विकुलि, सकारहवा लहरी कुण्ड, गोथीहवा, कुवा, निगलिहवा, कुसिनरा, देवदवा, भेदावीवन, वैशाली, लुमी आदि ठाउँको ऐतिहासिक गरिमा विश्व सामु ल्याउने कार्य गरेका थिए भन्ने कुरा सन् १९०४ मा अलाहवाद भारतबाट प्रकाशित अंग्रेजी दैनीक ‘द पायोनियर’ मा प्रकाशित लेखबाट पुष्टि हुन्छ। आज विश्व समुदायले खड्ग शम्शेरलाई लुम्बिनी बुद्धको जन्मभूमि हो भनेर पत्ता लगाउने व्यक्तिको रुपमा पहिचान गरे तापनि नेपालले यस विषयमा सम्पूर्ण दस्तावेजले प्रमाणित गर्दा पनि उचित सम्मान दिन सकेको छैन।

वि.सं. १९६० मा श्री ३ महाराज चन्द्र शम्सेर प्रधानमन्त्री भए पछि श्री ३ को पद र उपत्यका कब्जा गर्ने षडयन्त्र गरेको भन्ने आरोपमा श्री ३ महाराज चन्द्र शम्शेरले पाल्पामा सेना पठाई सेनाले तैनाथी आफ्नो हातमा लिए पश्चात आफू माथि खतराको छनक पाएर खड्ग शम्शेर भारत पलायन भएका थिए। उनले भारतको मध्यप्रदेशको सागर भन्ने ठाउँमा आफ्नो जीवनका बाँकी दिनहरु बिताएका थिए। उनी वि.सं. १९७८ पुस ८ गते तदनुसार सन् १९२१ जनवरी १९का दिन भारतको बनारस (काशी) मा ब्रह्मलीन भएका थिए। 

सुप्रसिद्ध लेखक डायमन शम्सेरले आफ्नोे उपन्यास ‘सेतो बाघ’को अन्तिम भागमा श्री ३ रणोद्दिप र जगतजङ्ग आदिको हत्या पछि शम्शेर दाजु भाइहरुले सम्पत्ति हात लिए पछि सम्पूर्ण गरगहना आफूले लगाएको उल्लेख गरेका छन् साथै उक्त गहनाहरु के कहाँ लगाउने भनेर ज्ञान नभएकाले तिनीहरूले उल्टो उल्टो ठाउँमा गहना लगाए भनिएको छ। अब एक पटक सोचौ कि जुन व्यक्तिहरूले त्यस जमानामा कलकत्ताको ‘डसन कलेज’मा अंग्रेजी माध्यमबाट शिक्षा हासिल गरेका थिए, तिनीहरूले गहना लगाउनु पनि जानेका थिएनन् होला र?


इतिहास र उपन्यासमा आभारभूत भिन्नता हुन्छ। इतिहास तथ्य घटनाको सङ्कलन हो भने उपन्यास लेखकको कल्पनाको अभिव्यक्ति हो। जनरल खड्ग शम्शेरकोबारे धेरै किम्बदन्तीहरू सुन्नमा आउँछ। किम्बदन्तीको आधारमा उनको बारेमा आजको समाजले जुन राय कायम गरेको छ त्यसलाई पुनर्विचार गर्नु पर्ने देखिन्छ। हुन त खड्ग शम्शेरले निर्माण गरेका रानीघाट दरबार र शीतलपाटी आदि पदयात्रा, क्यालेन्डर, ब्रोसर, पर्यटकीय गन्तव्य, प्रेमसँग स्पर्शित स्थलको रुपमा स्वीकार्य भई सकेको छ। यस्तै किम्बदन्तीहरुमध्ये कमसे कम एउटा कुरा यहाँ पस्कन मनासिब हुन्छ होला। सुप्रसिद्ध लेखक डायमन शम्सेरले आफ्नोे उपन्यास ‘सेतो बाघ’को अन्तिम भागमा श्री ३ रणोद्दिप र जगतजङ्ग आदिको हत्या पछि शम्शेर दाजु भाइहरुले सम्पत्ति हात लिए पछि सम्पूर्ण गरगहना आफूले लगाएको उल्लेख गरेका छन् साथै उक्त गहनाहरु के कहाँ लगाउने भनेर ज्ञान नभएकाले तिनीहरूले उल्टो उल्टो ठाउँमा गहना लगाए भनिएको छ। अब एक पटक सोचौ कि जुन व्यक्तिहरूले त्यस जमानामा कलकत्ताको ‘डसन कलेज’मा अंग्रेजी माध्यमबाट शिक्षा हासिल गरेका थिए, तिनीहरूले गहना लगाउनु पनि जानेका थिएनन् होला र? विश्वास गर्न सकिन्छ र? डायमन शम्शेरले जे लेख्नु भयो त्यो ऐतिहासिक पृष्ठभूमिमा लेखिएको एउटा उपन्यास हो। त्यसलाई नै खड्ग शम्शेरको इतिहाससँग विद्वान पाठकहरूले धारणा बनाउनु मनासिब हुँदैन होला।

पुनर्निर्माण गर्ने सम्बन्धित निकायले यो हेक्का राख्नु पर्ने थियो कि नीयो–क्ल्यासिकल स्थापत्यकलाको दिवाल सेतो हुन्छ। सबै कुरा पुरानोलाई नै यथावत राख्ने निकायले किन रानीघाट दरबारको रंग रोगनमा आकासी नीलो रंगको प्रयोगमा लालायित भयो ताजुवको कुरा छ। काठमाडौं खाल्डोमा राणाकालमा निर्मित सबै दरबारहरुको दिवाल सेतो रंगले नै पोतिएको पाउँछौ।


अर्को उल्लेख गर्नु पर्ने कुरा अलंकारयुक्त ग्रीकशैलीका खम्बा, त्रिकोणात्मक छाना भएको झ्याल, गुम्बज, सेतो चुनाले पोतेको दिवाल र लिउन/बज्र लगाइएको नीयो–क्ल्यासिकल स्थापत्यकला जुन श्री ३ जंगबहादुर सन् १८५० मा बेलायतबाट फर्कदासँगै ल्याएको स्थापत्यकलाबाट निर्माण गरिएको रानीघाट दरबार हो। पुनर्निर्माण गर्ने सम्बन्धित निकायले यो हेक्का राख्नु पर्ने थियो कि नीयो–क्ल्यासिकल स्थापत्यकलाको दिवाल सेतो हुन्छ। सबै कुरा पुरानोलाई नै यथावत राख्ने निकायले किन रानीघाट दरबारको रंग रोगनमा आकासी नीलो रंगको प्रयोगमा लालायित भयो ताजुवको कुरा छ। काठमाडौं खाल्डोमा राणाकालमा निर्मित सबै दरबारहरुको दिवाल सेतो रंगले नै पोतिएको पाउँछौ।

घटनाहरूलाई नियाल्दा जनरल खड्ग शम्सेर एक जना पढे लेखेका प्रबुद्ध, कुशल राजनीतिज्ञ, पुरातŒवविज्ञ, साहसी परिवारलाई सर्वोपरि ठान्ने व्यक्तिको रुपमा देखिन्छ। खड्ग शम्शेरको विषयमा कपोल कल्पित कहानीहरूको पछि नदौडी उन गरेका कार्यको सही मूल्याङ्कन गरी उनको उचित सम्मान भए नराम्रो हुँदैन, राम्रै हुन्छ होला। यस पंक्तिलाई बिट मार्दै तस यस पंक्तिलाई यस स्वरुपसम्म ल्याइपुर्यादउन सधाउनु हुने व्यक्तित्वहरुलाई सम्झनु कलमको ईमान्दारिता पनि हो। महत्वपूर्ण जानकारी र सन्दर्भ सामग्री उपलब्ध गरी दिनु भएकोमा आदरणीय दीपक शम्शेर ज.व.रा., डा. अजय शम्शेर ज.ब.रा. एवम् रानी साहेब सुशीला राणा धन्यवादका पात्र हुनु हुन्छ। साथै यस पंक्तिलाई कोर्ने क्रममा इतिहासका पात्रहरुको कामको कहीँ कतै तारिफ हुन गएको छ भने त्यो प्रासंगिक मात्र हो, ऐच्छिक भने होइन। इतिहासका कुरालाई निर्लोभ भावले जस्ताको तस्तै राख्न खोजिएको मात्र हो। इतिहास, इतिहास बोधका लागि हो। समयको अन्तरालसँगै नयाँ नयाँ अन्वेषणले इतिहासलाई ताजा बनाउँछ नै। थप कुराको अभिभारा नयाँ कलमहरुलाई सुम्पिँदै.....।  

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »