विदेशमा प्रेमको नाटक गरी केटीको भावना र जवानीसँग खेल्ने केटा

१९ जेठ २०७५

banner

विनेश खनाल

मस्कट, ओमान । हजारौं सपनामुखी अनुहारहरुको भिडमा सामेल हुँदै करिब ५ वर्ष अघि सुदूर पश्चिमकी अंकिता सापकोटा (नाम परिवर्तन) खाडी मुलुक ओमन छिरिन्। सानै उमेरमा क्यान्सरका कारण बाबु गुमाउनु परेकाले उनले धेरै पीडा भोग्नु पर्यो। पैतृक सम्पत्ति थुप्रै भएपनि घरमा नगद आम्दानी गर्ने व्यक्ति नहुँदा सबै पीडा उनीमाथि थुप्रियो।  घरकी जेठी छोरी भएकाले एक भाइ र बहिनीको जिम्मेवारी समेत उनले उठाउनु पर्यो। बाबुको निधन हुँदा  अंकिता जम्मा १७ वर्षकी मात्र थिइन्। 

आर्थिक आम्दानी गर्ने व्यक्ति कोही नहुँदा घरमा समस्या बढ्दै गए। घरको समस्याबाट छुटकारा पाउन उनी कक्षा दशको परीक्षा दिएर सन् २०१३ को अगस्टतिर गाउँकै एक जना एजेन्ट मार्फत दिल्ली हुँदै ओमान पुगिन्। मनभरी सपना, आँखाभरी आँसु पार्दै सानै उमेरमा उनले आफ्नो मातृभूमी छोड्नु पर्यो। १९ वर्षको उमेर १ कापी कलम बोकेर कलेज जाने उमेरमा गरिबीले उनलाई जबरजस्ती खाडीमा धकेल्यो ।   

ओमान पुगेपछि सुरुवातमा उनले धेरै समस्या भोग्नु पर्यो। सात समुन्द्र पारीको देश, नयाँ ठाउँ बेग्लै भाषा, भिन्नै परीवेशमा घुलमिल हुन उनलाई सजिलो थिएन्। त्यो पनि पहिलो पटक परिवारबाट टाढा हुनु पर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको थियो। उनलाई नेपालबाट दिल्ली हुँदै घरको काम हाउस मेडको रूपमा ओमान पठाईएको थियो। उनलाई हाउस मेडका रुपमा ओमानको वर्का शहर नजिकै रहेको सुक भन्ने ठाउँमा एक ओमानी नागरिकको घरमा पुर्याइयो। 

पहिलो वर्ष नयाँ हुँदा अप्ठ्यारो लागे पनि विस्तारै विस्तारै उनले यहाँको भाषा, रहनसहनसँगै काम पनि सिक्न थालिन्। त्यसपछि काम गर्न सजिलो हुन थाल्यो। उनले काम गर्ने घरको परिवार शिक्षित थियो। साहु, साहुनी दुबै पढेलेखेका थिए। अकिंताको परिवारको समस्या सबै उनीहरुलाई थाहा थियो। उनले सबै समस्या बताएकी थिइन्। केही कुरा लुकाएकी थिइनन्। त्यसैले पनि होला उनले त्यो घरबाट असाध्यै माया पाएकी थिइन्। नोकर भनेर कहिल्यै पनि हेपुवा व्यवहार गरेनन्। घरमा उनीहरुको एउटा मात्रै छोरा थियो। घरमा छोरी नभएका कारण होला छोरीको जस्तै माया गर्थे। 

ओमानमा उनका दिनहरु विस्तारै बित्दै गए। यदी उनले लिन चाहेमा हप्तामा १ दिन विदा मिल्थ्यो। तर उनले लिदैन थिइन्। किनभने त्यतिबेलासम्म अंकितालाई ओमनको बाहिरी वातावरण बाारेमा अनविज्ञ थिइन्। त्यहाँ भएका कुनै पनि नेपालीसँग उनको चिनजान थिएन्। समय बित्दै गयो। अंकिताले काम गर्ने घरका परिवार हप्तामा दुई तीन दिनबढी डिनर गर्नका लागि बाहिर रेस्टुरेन्टमा जाने गर्द्थे। उनीहरु घरको खाना सँगै बाहिर खान पनि उत्तिकै रुचाउँथे। परिवारसँगै अंकिता पनि सधै डिनरका लागि बाहिर जाने गर्थिन।

उनीहरु सधै खाना खान जाने रेस्टुरेन्टमा तनहुँका एक नेपाली युवक वेटरका रूपमा काम गर्थे। अंकिताले बताए अनुसार उनको नाम आरबाट आउथ्यो मानौँ उनको नाम रमेश थियो। रमेश अंकिता भन्दा करिब १ वर्ष जेठा थिए। कक्षा १२ समेत पास गर्न नसेका उनी पढ्न मन नलागेर ओमान पुगेका थिए। 

अंकिता उक्त रेस्टुरेन्टमा प्रायः पुग्ने भएकाले उनको अंकितासँग परिचय भयो। रमेश हेर्दा खुबै राम्रा देखिन्थे। कालो वर्ण भएका उनी भर्खरै २० वर्षमा पाईला टेकेका थिए। उनको बोली र मुस्कानले उनलाई झन् राम्रो देखाउथ्यो। विरानो देश भएकाले दुबै एक अर्कासँग नजिक भए। सुख दुखका कुरा एकअर्कामा बाड्ने गर्दथे । कहिले घर परिवारका सुखदुःख का कुरा गर्थे त कहिले प्रदेशमा भोग्नु परेको समस्या । अंकिताले काम गर्ने परिवार मुस्लिम भएपनि उनलाई भने केही समस्या भएन्। तर मुस्लिम समुदायमा अपरिचित युवकसँग युवतीहरु नजिक हुनु तथा बोलचाल गर्नु राम्रो मानिदैन्। तर उनलाई भने त्यो कुरामा छुट थियो।  रमेशले सधै उनीहरुको टेवलमा सर्भिस गर्ने भएर होला उनलाई पनि अकिंताका परिवारले रुचाएका थिए। वेला वेलामा उनीहरुबाट टिप्स पनि पाउने गर्थे। 

यसरी दिनप्रतिदिन नजिक हुँदै गएपछि विस्तारै उनीहरुबीच मायाका पालुवा पलाउँदै गए । खाडी मुलुकमा दुबैको प्रेम मौलाउँदै गयो। वृक्षका लता जेलिए जसरी उनी दुईको प्रेम झाँगिएको थियो।

एक दिनको कुरा हो, फोनमा कुरा हुँदै गर्दा रमेशले अंकितालाई प्रेम प्रस्ताव राखे । रमेशको प्रस्ताव सुनेपछि अंकिता मौन बसिन्। उनले कुनै जवाफ दिइनन्। हुन त उनलाई रमेश मन परेको थियो। तर उनले धेरै कुरा सोचेपछि रमेशको प्रेम अस्वीकार गरिन्। रमेशलाई धेरै सम्झाउने प्रयास गरिन्। 

समय बित्दै गयो। अंकिताको कमाई राम्रै हुन्थ्यो। पहिलेकोे सम्झौता भन्दा उनको तलब निकै बढेको थियो। उनलाई परिवारले धेरै माया पनि दिएका थिए। परिवार जहाँ गएपनि उनलाई साथमा लिएर जान्थे। विस्तारै विस्तारै अन्य युवतीहरुसँग चिनजान भयो। त्यसपछि अंकिता उनीहरुलाई भेट्न बाहनामा एक्लै बाहिर निस्किन थालिन्। त्यो बेला रमेश पनि आफ्नो विदा मिलाएर आउँथे। 
  
उनीहरु शुक्रबार गार्डेन, समुन्द्रको छेउँछाउ बसेर घण्टौ माया प्रेमका कुरा गर्थे, गाउँघरका सुख दुख आदानप्रदान गर्ने। 

यसरी उनीहरु दिनप्रतिदिन एक अर्काप्रती नजिक हुँदै गए। अन्ततः अंकिताले रमेशले राखेको प्रेम प्रस्ताव स्वीकार गरिन। अकिंता रमेशलाई अत्यन्तै माया गर्थिन। उनलाई पहिलो पटक विरानो मुलुकमा कसैले साथ र माया दिएको महशुस हुने गर्दथ्यो। रमेशले अंकिताको सुख दुःख भुलाइदिएका थिए। एक्लोपना हटाइदिएका थिए। सायद त्यही भएर होला उनले रमेशलाई असाध्यै माया गर्थिन। रमेशले पनि अंकितालाई उत्तिकै माया गर्थै।

अंकिता देश विदेश परिवारका साथ घुम्न जाँदा रमेशलाई पनि गिफ्टहरु लुकाएर ल्याउने गर्थिन। रमेश पनि आफ्नो तलब आउने समयमा महिनाको १ पटक केही उपहार दिने गर्थे । 

यसैबीच दुई वर्ष बित्यो । अंकिता बिदामा नेपाल फर्किन। बिदामा घर आएर उनलाई फेरि ओमान फर्किन मन थिएन्। तर घरको समस्या र भाइ बहिनीको पढाई पुरा गर्नका लागि बिदा सकेर उनी फेरि ओमान फर्किइन्। रमेश पनि पहिलोपटक विदा लिएर घर आए। त्यसपछि केही समय बसेर ओमान फर्किए।  

उनीहरुको प्रेम निकै गहिरो बनेको थियो। भविष्यका कुरा सम्झिन्थे । सँगै बसेर विवाहपछिका योजनाहरु तय गर्थे। समय वित्दै गएपछि रमेशले अंकितालाई शारिरीक सम्बन्धको प्रस्ताव गर्थे। सुरु सुरुमा त अकिंताले उक्त कुरा टारिन्। तर विस्तारै विस्तारै रमेशको जिद्धीका अगाडि उनको केही चलेन। 

समय वित्दै गयो । उनीहरु एक आपसमा अझ धेरै नजिक हुने मौका पाए। प्रत्येक शुक्रबारसँगै विताउँथे। खाडीमा काम गर्ने नेपालीका लागी शुक्रबार दशै जस्तै हुन्छ। साथी भेट्ने, बजार घुम्ने, महलहरु चहार्ने आदी। उनीहरुको पनि शुक्रबार यसरी वित्ने गर्दथ्यो। पछि यौन सम्बन्ध समेत भएपछि उनीहरु धेरै समय गेस्टहाउसमा विताउन थाले। रमेशले चिनेको १ जना साथीले काम गर्ने गेस्टहाउस रहेछ, त्यही कोठा लिएर घण्टौ बस्थे। कोठाको पैसा दुबै मिलेर तिर्थे। 

त्यती बेलासम्म उनले चार वर्ष जति ओमानमा विताईसकेकी थिइन्। अंकिता फेरि विदामा घर जाने भइन्। उनी नेपाल फर्किदा उनको घरमा विवाहको कुरा चलेको थियो। उनी त्यो बेला २३ वर्षकी थिइन्। अंकिताले आफ्नो विहे गर्ने उमेर नभएको भन्दै फेरी एक पटक ओमान गएर फर्केपछि मात्रै विवाह गर्ने प्रस्ताव राखिन्। उनको प्रस्तावमा उनका अंकल र मामा सहमत भए। तर अंकिताले आफ्नी आमा र बहिनीलाई आफ्नो विदेशमा प्रेमी भएको र उसैसँग विवाह गर्ने कुरा सुनाइन्। पहिले त आमाले उनको कुरा मान्नु भएन्। तर छोरीको खुसीका अघि आमाको केही लागेन्। त्यसपछि उनले आमालाई रमेशसँग कुरा गराइन्। अर्को पटक फेरि नेपाल आएर विवाह गर्ने बाचा गर्दै उनी फेरि ओमान प्रस्थान गरिन्। एक महिनाको विदा उनीहरुका लागि वर्षौ जस्तो लागेको थियो। घरमा भएका सबै कुरा अकिंताले रमेशलाई सुनाइन्। रमेशले पनि अर्को पटक विवाह गर्ने बचन दिएका थिए। त्यसपछि रमेश विदामा नेपाल फर्किए। 

रमेश जुन योजना बनाएर नेपाल फर्किएका थिए घरमा त्यसको ठिक विपरित भयो। उनको घरमा विवाहको कुरा पक्का भइसकेको रहेछ। घरका परिवारले केटी हेरेर रमेशको विवाह पक्का गरेका रहेछन्।  रमेशलाई विवाह गर्नुपर्ने दवाव आयो। उनले आफ्नो विवाह गर्ने ईच्छा नभएको भन्दै अहिले त्यो कुरा नगर्न आग्रह गरे। तर परिवारले उनले कुरा सुनेनन्। त्यसपछि उनले ओमानमा आफ्नो प्रेमिका भएको र उसैसँग विवाह गर्ने कुरा गरे। उनको कुरा भुइँमा खस्न नपाउँदै परिवारका सबै सदस्य रमेशमाथि खनिए। सुरुसुरुमा त रमेशले जे जस्तो भएपनि आफू आफ्नो प्रेमिकालाई छोड्न नसक्ने अडान राख्दै आए। तर रमेशको प्रेम असफल पार्न परिवार, छिमेकी र आफ्न्तले धेरै दवाब दिन थाले। ओमानमा प्रेमिका भएको थाहा पाएपछि परिवारले अर्को पटक ओमान नपठाउने निर्णय गरे। त्यसपछि परिवारको दबावमा रमेशको केही लागेन्। उनले अन्तत परिवारले खोजेकै केटीसँग विवाह गर्ने सहमति जनाए। उनको वैशाख २८ गते विवाह तय भयो।

रमेशले घरमा भएका सबै कुरा बताउँदै परिवारको दवाबमा आफूले विवाह गर्न लागेको र अब ओमन नफर्किने कुरा फेसबुकमार्फत अकिंतालाई पठाए। त्यसपछि रमेश एकाएक सम्पर्कविहिन भए। जुन कुरा रमेशले म्यासेजमा लेखे सुरुमा उनलाई पत्यार लागेन। उनले रमेशले आफूसँग मजाक गरेको भन्ने सम्झिन। तर दिन वित्यो हप्ता वित्यो रमेशको कुनै खबर आएन्। त्यसपछि उक्त कुराले उनलाई धेरै सताउन थाल्यो। सांच्चिकै रमेशले अरु सँग विवाह गर्यो की भन्ने सोच्न थालिन्। तर पनि उनले हृदयदेखि माया गरेको हुनाले रमेशका बारेमा धेरै नराम्रो सोंचिनन्। केही समस्या परेर सम्पर्कमा नआएको होला भन्ने आशंका थिए। 

दिनहरु वित्दै थिए। एकदिन रमेशको ईमो अकाउन्टमा उसको प्रोफाई तस्वीर बदलिएको देखिन। जुन फोटो विवाहको ईङ्गेजमेन्टको थियो। तस्वीरमा रमेशले विवाह गर्न लागेकी केहीलाई औंठी लगाईंदिंदै थिए। यो देख्नसाथ अंकिताको होस उड्यो। रुन थालिन्, कराउन थालीन, विचरा अंकिताको आफ्नो भन्नुनै को थियो र उनको रोदन सुनिदिने । उनलाई पश्याताप हुन थाल्यो। रङगीचङगी सपनाहरु खाडीको समुन्द्रमा बिलाए। क्यामेराको रील झै घुम्म थाले बिगतका क्षणहरु। मन, तन र धन सबै रमेशलाई सुम्पेकी थिइन् दिलवाली भएर। 

यो कुराले उनलाई अत्यन्त चोट पुग्यो । भूल्न खोज्ने धेरै प्रयास त गर्थिन तर सकिनन्। बाराम्बार एउटै कुराले सताउने गथ्र्यो। तनावका कारण उनी विस्तारै विस्तारै डिप्रेशनको शिकार बन्न थालिन्। डिप्रेशनले च्यापंदै गयो। उनलाई लाग्थ्यो यो संसारमा आफ्नो भन्ने कोही छैन र बाचेंर पनि केही हुँदैन्। यस्तै नकारात्मक कुराहरु बारम्बार उनको मनमा आउने गर्थे । एकदिन आफू सुत्ने कोठामै आत्महत्या गर्ने प्रयास गरिछन। तर उनको त्यो प्रयास असफल बन्यो। घरका मान्छेले देखेर उक्त घटना हुनबाट रोके। सोधपुछका क्रममा उनको व्यवहारमा पहिलेको भन्दा केही फरक देखेपछि अस्पताल पुर्याए। मेडिकलमा उनको चेकअप गर्दा डिप्रेशन भन्ने पत्ता लाग्यो। डाक्टरहरुले काउन्सिलङ गरेर उनलाई औषधि दिएछन्। 

उनी जुन हस्पिटलमा उपचारका लागि गएकी थिइन् त्यही हस्पिटलको फार्मेशी कक्षमा मेरो फ्लाटमासँगै बस्ने साथीले काम गर्दथ्यो, दक्षिण भारतको क्याराला घर भएको शिव । 

त्यही शिव मार्फत मैले अंकिता (नाम परिवर्तन) लाई भेटे। अंकिता आफ्नो उपचारका लागि मेडिकल आईरहने गर्थिन। उनलाई तिनै फार्मेशिमा काम गर्ने साउथ ईन्डियन साथी शिवले औषधि दिने गर्थे। एकदिन शिवले आफूले काम गर्ने हस्पिटलमा  एक जना नेपाली युवती डिप्रेसनको समस्या लिएर उपचारका लागि आउने गरेको बताए। नेपालको भनेपछि मलाई थप जान्न मन लाग्यो। त्यसपछि म शिवबाट धेरै कुरा जान्ने प्रयास गर्ने । ती युवतीलाई सकेको सहयोग गर्न मन लाग्यो । त्यसपछि शिवसँग अनुरोध गरेर ती युवतीसँग परिचय गराइदिन अनुरोध गरे। अर्कोपटक उनी औसधि लिए मेडिकल आएपछि मेरो बारेमा शिवले धेरै गुणगान गाएछ। तर उनी सबै कुरा व्यवास्ता गरिछन्। तर शिवले धेरै जिद्धी गरेपछि उनले आफ्नो नम्बर भने दिइछन। शिवले त्यो नम्बर मलाई दियो। 
 
मैले नम्बर पाएको अर्को दिन सांझ अउनलाई  फोन गरे। दुई पटक रिङ्ग गएपछि फोन उठ्यो। मैले आफ्नो बारे सिधा(सिधा कुरा उनलाई भने। उनले तपाईं के चाहान्छु भनेर सोधिन्। मैले सहयोग गर्न चाहेको बताउँदै आफ्नो समस्या नढांटी भन्न भने। तर उनले रिसालु स्वभावमा मेरोबारे किन भन्नु तपाईंलाई भन्दै गाली गर्न लागिन। सायद डिप्रेसनका कारण होला, उनमा रिसाउने स्वभाव निकै थियो। मैले त्यसलाई सरल रुपमा लिदैं सम्झाउन थाले। उनका बारेमा सबै सोधपुछ गर्न लागें। विदेशमा बस्ने केटाहरु धोखेबाज हुने र कसैको विस्वास नगर्ने भन्दै रिसाइन्। त्यसपछि मैले उनलाई सम्झाउँदै  सबै केटा धोखेबाज नहुने र म पनि त्यस्तोगलत प्रवृतीको केटा नभएको बताए। मेरो आफ्नो ब्यक्तिगत जिवनसंग सम्बन्धित सबै कुरा भनें, मेरो विवाह भइसकेको कुरा बताए। विवाहको तस्वीर पठाए। धेरै कुरा गरेर अन्तत उनलाई विस्वात दिलाए। उनले मेरो कथा लामो छ भन्दै थिइन्। मैले लामो नै भए आउने शुक्रबार बिदाको दिन भेटेर भन्न प्रस्ताव गरें। त्यसपछि उनले मार्च १६ तारिखमा शुक्रबार म सँग भेटिन्। 

हामी ओमनको वर्का सहरस्थित लुलु मार्केट नजिकैको एउटा सानो गार्डेनमा भेटेका थियौँ। उनी साह्रै चिन्तित देखिन्थिन। मैले उनका बारे सबै घटना एक(एक गर्दै सोधे। उनले रुदै सबै कुरा सुनाइन्। जुन कुरा मैले माथि उल्लेख गरेको छु। 

अंकिताका सबै कुराले मलाईसम्म दुखि बनायो। उनलाई धेरै सम्झाउने प्रयास गर्दै उसको त्यो विवाह रोकेर जसरी भए पनि तिमीहरुको फेरि मिलन गराईदिन्छु भन्ने आश्वासन दिए। मैले यसो भन्दै गर्दा उनी रिसाईन र मलाई गालि गर्दै अरुको जोडी विगार्ने कुरा नगर्न आग्रह गरिन्। किनभने उनले रमेशको खुसी चाहान्थिन।  तर उनको भाव देख्दा आकलन गर्न सकिन्थ्यो उनका आँखाले रमेशलाई नै खोजिरहेको थियो। 

मेरो घर जाने कुरा थियो मार्च २२ तारिखमा दिल्ली हुँदै। उनलाई यो कुरा बताउँदै जसरी भएपनि रमेशलाई भेटेर उसले नेपालमा गर्न लागेको विवाह रोकेर तिमीहरुको मिलन गराइदिने वाचा गरे। 

अंकिता डिप्रेसनमा थिइन्। सायद मैले गरेका कुरा सुनेर पनि होला। रिसाउँदै भन्दै थिइन् ूविदेशमा मायाको नाटक गर्दै  केटीको भावना र जवानीसँग खेल्दा रहेछन् केटाहरुू । हुन् पनि त्यत्ति वेला उनलाई यही भैरहेको थियो। रमेशले यथार्थमा नै धोका दिंदै थिए। ३/४ पटक सम्म उनले यो कुरा दोहोर्यामईइन। मैले पनि उनले भनेको यही भनाइलाई उनको यो सत्य कथाको शीर्षक बनाएको हुँ। 

लामो समय कुराकानी भएपछि आमी त्यहाँबाट छुट्टियौँ। त्यसपछि म सांझ कोठामा पुगेर रमेशलाई अंकिताले भने अनुसार उसको सही नाम  खोजें  फेसबुकमा। मैले भेटाए, सायद अंकितालाई ब्लक गरेर हुनुपर्छ उनले फेसबुक चलाउन छोडेको छ भन्थिन। रमेशले मेरो रिक्विस्ट एसेप्ट पनि गर्यो। म सिधा तरिकाले अंकिताका बारेमा कुरा गर्दै किन यस्तो गरेको भनेर सोधपुछ गरे। मैले अंकिताको अवस्था एकदमै नाजुक भएको हुँदा त्यस्तो नगर्न उसलाई अनुरोध गरें। त्यसपछि उसले आफ्नो ईच्छा विपरीत परिवारको दवाबमा त्यस्तो गरेको बतायो। रमेशले त्यतिबेला म सँग अंकितालाई माफ गर्न  भन्दिनु र मलाई भुल्न भनिदिन आग्रह गर्यो। मैले उसलाई धेरै गाली गरें, बिहे रोक्नु पर्छ इङेजमेन्ट केही होइन अझैसम्म केही बिग्रेको छैन भनेर सम्झांए पनि। उसले सम्भव नभएको बतायो। 

उसले त्यस्ता कुरा गर्दा मलाई रिस उठ्यो, मैले पनि रमेशलाई कुनैपनी हालतमा नछाड्ने, अरुको जीवनमा खेलवाड गरेको मुद्दामा कानुनी कार्वाही अगाडि बढाउने निर्देशन दिए। जे गर्ने हो गर, के रहेछ तेरो हिम्मत भन्दै फेसबुकबाट मलाई ब्लक गरिदियो। मैले अंकितासंग प्रतिवद्दता व्यक्त गरेको थिए । तर मैले हिम्मत हारिन्।   किनभने मैले उसलाई भेटेर कुरा गर्न चाहेको थिए। मलाई थोरै भए पनि आशा थियो उनले मेरो कुरा मान्छन् र विहे रोकिदिन्छन भन्ने कुरा। 

मलाई नेपाल जानु थियो विदामा। दिल्लीमा केही काम थियो म २२ तारिख दिल्ली हिंडे मस्कटबाट। दिल्लीमा करिव १० दिन जति बसें। त्यो बीचमा पनि रमेश अनि उसको परिवार लाई खोज्ने प्रयास गरें। उता अंकिताको पनि चिन्ता लाग्थ्यो वेला वेला ईमोमा फोन गरेर सान्त्वना दिन्थे।
  
१० दिनको दिल्ली बसाई सकेर म नेपाल फर्किए। म नेपालको कपिलवस्तुमा थिए । मलाई मेरो वन्दिपुरको १ जना साथीले फोन गरेर भन्यो त्यो केटाको बारेमा मैले पत्ता लगाए । केटाको दाई, वुवा अनि केटिको नम्बरसम्म लिएको छु। मैले पठाईदिन्छु है भन्यो। म खुसी भए। वन्दिपुरको त्यो साथी मेरो एकदमै मिल्ने साथी हो । हामी काठमाडौँमा पहिले संगै बस्थेयौँ। सहयोग गरेकोमा धन्यवाद टक्र्याए। 

त्यसपछि मैले रमेशको जेठो दाजुलाई कल गरेर सबै कुरा गरें तर उनले उल्टै मलाई गाली गर्दै दुनियाँको बारे चिन्ता भए आफै जिम्मा लिनु भन्ने जवाफ दिए। म आफूले  कुरा गर्दा संयमित भएर कुरा गरिरहेको थिए। मैले थुप्रै प्रयास गरें तर उनले मानेन। त्यसपछि केही उपाय नलागेपछि मैले अंकितालाई काठमाडौँ। बोलाएर प्रहरीमा मुद्दा हाल्न लगाउने कुरा गरें । उनीहरुका विरुद्धमा आफू पनि उनलाई मुद्दा लड्न सहयोग गर्ने बताए। आफू मिडिया क्षेत्रमा नै काम गर्ने पनि बताए। मैले यति भन्दा उनी केही डराएर र भन्न थाले भाइले गल्ति गरिहाल्यो माफ गरिदिनुहोस्। मुद्दा मामिलाका कुरा नगर्नुहोस् यता विवाह हुने निश्चित भैसकेको छ भन्ने जवाफ आयो।

यहा दुई वटा चेलीको जिन्दगीको सवाल जोडिएको थियो। एक अंकिता जसलाई म न्याय दिलाउंछु भन्दै रमेशको परिवारसम्म पुग्ने चेस्टा गरेको थिए। अनि अर्को रमेशले विहे गर्ने वाला नयाँ दुलही। यी दुबै चेली बराबर थिए मेरोलागि । उनी दुबै निर्दोष थिए। म कुनै एक चेलीको खुशी फर्काउन अर्की चेलिको जिवन वर्वाद पार्ने करा लिएर अगाडि बढिरहेको थिए। भर्खर विहेको लागी ईंग्जेम्न्ट गरेकी केटी गाउँमा जताततै थाहा थियो, वैशाख २८ गते विवाह हुने भनेर। म उनी र उनको परिवारलाई पनि चोट पुर्याउन हुन्न भन्ने  पक्षमा थिए। त्यसैले समस्या समाधानको उपाय खोज्दै  उनलाई कल गरें, उनी अर्थात रमेशले नेपालमा विवाह गर्न लागेकी केटी । उनले फोन उठाईन, मैले मेरो बारेमा बताउँदै जसरी हुन्छ मसँग १ पटक भेट हुन् आग्रह गरे। उनले मलाई भेट्न चितवनको नारायणघाट अप्रिल २५ तारिख अथार्त वैशाख १२ गते बोलाइन्। ।  मैले उनलाई सबै कुरा बताए । जुन ओमानमा अंकिता र रमेशबीच भएको थियो। उनी शुरुमा त अचम्म परिन्। उता आफ्नो गर्ल फ्रेन्ड हुँदाहुँदै पनि किन रमेशले यता म संग विहे गर्न आंटेको भनेर। मैले पनि उसलाई पारिवारिक दवाव थियो भने  । जुन रमेशले मलाई बताएको थियो। मैले उनीसँग भने अब के गरौं ? तपाईंहरु त विहे गरेर सुखसाथ बस्नुहुन्छ, उता अंकिताको हालत के होला ,बिकल्प के ? भनेर उनी माथी प्रश्न तेर्साए। उनी सम्झदार रहिछन् सायद पढेलेखेकी केटी भएर होला । हांस्दै जवाफ दिईन के को विकल्प नि अब अंकिता र रमेशको विहे गरिदिने। उनले ईङेजमेन्ट भनेको केही होइन, अझैसम्म विवाह नभएकोले यसलाई तोड्दा केहि नहुने बताईन। उनले आफ्नो घरमा सबै कुरा सम्हाल्ने बताईन। मेरो ईच्छाको कुरा हुन्छ मैले हुँदैन भने पछि हुँदैन।तपाईं चिन्ता नगर्नु म रमेशको परिवारलाई पनि सम्झाउंछु भनिन्। 

उनले गएर घरमा कुरा गरिछन, अचम्म परेछन सबै जना तर के गर्नु विहे गर्नेले गर्दैन भनेपछि कस्को के चल्थ्यो र, उनले रमेशलाई दिल्लीमा फोन गरेर अंकिताको बारेमा सबै थाहा पाएको कुरा बताउँदै अंकितासँग नै विवाह गर्न सल्लाह दिँईन, धेरै सम्झाईन प्रेम गरेर कहिल्यै पनि धोका दिन हुँदैन भनिन्। अन्ततः रमेशले अंकितासंग नै विहे गर्ने भएका छन् । बैशाख २८ को विवाह स्थगित गरेर अंकिता ओमानबाट आईसकेपछी अर्को लगन जुराएर विहे गर्न राजी भए।  रमेशलेपछि मलाई फोन गरे तपाईं दिल्ली फर्कदां यतैबाट आउनुहोस् भने मेरो पनि दिल्लिमा काम थियो। रमेश, उसको दाई, म अनि मेरो साथि भरत पौडेल दिल्लिको गाजियाबादमा मे ११ तारिखको दिन भेट भयौं। हामीबीच धेरै कुरा भयो। रमेशले माफी माग्यो, मसँग पहिला कुरा हुँदा केही नराम्रो शब्द वोलेकोमा। उनले त्यो वेला पनि आफुले अंकितालाई  चाहेर होइन धोका दिन खोजेको भन्दै थिए, त्यसै वेला मेरो साथि भरतले हांसो गर्दै भन्दै हुनुहुन्थ्यो डिप लभ गरेपछि त अरुको कुराको प्रवाह गर्नु भएन नि त केटा १

मैले त्यहीँबाट ओमन भिडियो कल गरेर अंकिता रमेश र उसको दाइसँग कुरा गराईंदिए। त्यत्ती वेला उनी निकै खुशी थिइन्। अनि म दिल्लीवाट ओमान फर्के। अकिंता अबको केही दिनमा नेपाल जांदैछिन । रमेश पनि दिल्लीबाट नेपाल फर्किसकेका छन्। अब उनीहरुको विवाह आउँदो लगनमा हुनेछ। 

यो काल्पनिक कथा नभइ रमेश र अंकिताबीचको वास्तविक कथा हो। जुन अंकिता र रमेशबीच टुटिसकेको प्रेमसम्बन्धलाई जोड्न सहयोग गर्ने विनेश खनालले शब्दमा उतार्नुभएको हो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष