काठमाडौंको मच्छेनारायण मन्दिरमा महायज्ञ (फोटो फिचर)

१९ जेठ २०७५

banner

सृजना अर्याल  

काठमाडौ । काठमाडौको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिरमा लागि रहेको मत्स्य नारायण मेलाकै अवसर पारेर पुरुषोतम आराधनात्मक सर्व सिद्धि श्रीमद्भागवत् महायज्ञको शुक्रवार उद्घाटन गरिएको छ।

मेला परिसरमा नै लगाइने सो महायज्ञको राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले उद्घाटन गरेका हुन्। महायज्ञको उद्घाटन गर्दै महानिरीक्षक पौडेलले मत्स्यनारायण मन्दिर मानव विकाससंग पनि जोडिएको भन्दै मेलालाई राष्ट्रिय स्तरकै मेला बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै पूर्व सांसद डिवी कार्कीले पूर्विय दर्शनमा आधारित धार्मिक शास्त्रहरु वैज्ञानिक दृष्टिकोणले पनि शशक्त रहेको बताए। उनले यस्ता धार्मिक शास्त्रहरु आफैंमा नियम र कानून हो भन्दै धार्मिक शास्त्रमा उल्लेख मठ मन्दिर सस्कृति र धरोहरको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे।

समाजसेवी धर्मराज गौतमले मत्स्यनारायण क्षेत्र राष्ट्रकै सम्पदा भएको भन्दै यस्ता मेला, अनुष्ठानले सो क्षेत्रको महत्व उजागर हुने बताए। सोही वडा ९ का वडा सदस्य सुरेन्द्र केसीले वडाकै सम्पदाको रुपमा रहेका यस्ता ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनमा लागिरहेको बताए।

जेष्ठ २५ गतेसम्म लाग्ने सो महायज्ञको प्रमुख वाचक पण्डित ठाकुर प्रसाद सुवेदी भारद्धाज र उपवाचक पण्डित आलोक निरौला भारद्धाज रहेका छन् । प्रमुख वाचक सुवेदीले पुरुषोतम मासमा गरिने पुजा स्नान, दान, पुराण श्रवणको शास्त्रमा ठूलो महत्व उल्लेख भएको बताए।

ज्योतिष, पण्डित डा. रुद्धनाथ अधिकारीको तत्वावधानमा आयोजित महायज्ञको उद्घाटन समारोहमा मच्छेगाउँमा नै रहेको शान्ति योग आश्रम तथा दिव्य योग गुरु कुलका छात्राहरुले स्वस्ती वाचन गरेका थिए।

कार्यक्रमको अध्यक्ष समेत रहेका महायज्ञ संकल्पकर्ता अधिकारीले मच्छेयनारायण क्षेत्रको महत्व उजागर गर्दे पुरुषोतम महिनाको महत्व जनजनमा पुर्याउन महायज्ञ आयोजना गरेको बताए।

महायज्ञमा उठेको सहयोग रकम मच्छेनारायण क्षेत्रको सरक्षण र सम्बद्धनमा नै लगाउने भनाई राखे । मच्छेनारायण मेला व्यवस्थापन समितिका प्रचार प्रसार संयोजक अच्युत अधिकारीले यस्ता यज्ञ अनुष्ठानले धार्मिक क्षेत्रको महत्व बढ्ने बताए।

वैदिक सनातन धर्मका अनुसार भगवानको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ।

पृथ्वीको शुरुवातसंगै भगवान नारायणले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि  दिव्य स्वरुपको दर्शन दिएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । २ वर्ष ८ महिना २४ दिनको अन्तरालमा मलमास (पुरुषोतममास) शुरु भएदेखि १ महिनासम्म सो मत्स्यनारायण मेला लाग्ने गर्दछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »