कुकुरको पुच्छर र नारानेहरुको बाह्र बर्ष

२५ जेठ २०७५

banner

अनुप न्यौपाने

टोरोन्टो क्यानडा । गत साता मेरा एक आदरणीयले कुनै कार्यक्रमको निम्तोको जवाफमा लेखेको इमेलले साह्रै घत लाग्यो। इमेलको प्रकृति यस्तो छ।

फलानो ज्यु, निम्तोको लागि धन्यवाद। यस्तो कार्यक्रम बेलाबेलामा हुनु हामी सबैको लागि खुसीको बिषय हो। आयोजकलाई धन्यबाद र मेरा केहि रचनात्मक फिडब्याक :

हामी यस्ता कार्यक्रममा जति उत्साह बोकेर जान्छौ, अन्त्यमा त्यति नै निरास भएर फर्किन्छौ, कारण ...

– आफ्नो विकेन्डको अमुल्य समय खर्च गरेर, पैसा तिरी तिरी कार्यक्रम हेर्न जाने तर आयोजकको भाषण, खादा, सम्मान जस्ता निरर्थक काममा धेरै समय खर्च गर्ने चलनको निरन्तरताले हाम्रो आउने रुचि घट्दै गएको हो । दुःख लाग्छ हामी क्यानडा आएर पनि फेरिएका छैनौं।

–सिट रिजर्व गर्ने चलन ः जसको लागी भनेर सिट रिजर्व गरिएको हुन्छ, के उनीहरुले बढी पैसा तिरेका हुन्छन र ?

– मनोरञ्जनमूखि कार्यक्रम भनेर बोलाउने र मुख्य अतिथि जस्तो फाल्तु बिषय कार्यक्रममा समावेस गरिनु सहि हो र ?

– समयमा कार्यक्रम आयोजना नहुनु र अरुको समयको महत्व नबुझ्नु ?

उपरोक्त कारणहरुले गर्दा यस्ता कार्यक्रम बहिस्कार त नभनौ, हेर्न जाने जाँगर भने सेलाएर आएको छ । आयोजकहरुले कार्यक्रमको फर्म्याट चेन्ज गरेर देश काल परिस्थिति अनुरुप बनाउन सफल भएको सुन्न पाइयो भने टाउकाले टेकेर पनि हेर्न आउला, बिग्रिएको त के नै छ र ?

नोरन्जनात्मक कार्यक्रम हेरेर आनन्दित हुने र नयाँ पुस्तालाई आफ्नो संस्कृति सिकाउन पाउदा रमाइलै हुन्छ । कार्यक्रमको सफलताको कामना गर्दछु । स्नेही,डट डट डट 

माथिको यो छोटो इमेलले हामी नारानेहरुको ‘बाह्र बर्ष के को पुच्छर के मा राख्दा के नहुने’ भन्ने उखान मज्जैले चित्रित गरेको छ।

नेपालीहरुको हरेक कार्यक्रममा यी समस्याहरु रोगकै रुपमा फैलिएको छ। स्वनाम धन्य समाजसेवीहरु लाम लागेर खादा लाउन र भाषण छाट्न उभिरहेका हुन्छन। खै कुरीकुरी पनि किन नलागेको होला, आफू त यिनको लाम र बेमौकाको भाषण गर्ने उत्साह देखेरै भुतुक्कै हुन्छु। कार्यक्रम ढिलो शुरु गर्ने त यिनीहरुको नैसर्गिक अधिकार नै भैसक्यो। ङिचिक्क दाँत देखाई निर्लज्ज पाराले ‘नेपाली टाइम’ भन्न खासै अप्ठ्यारो नहुने भैसक्यो। यो हामी नेपालीहरुको बैश्विक रोग हो कि मात्र क्यानेडियन मैड काउ डिजिज, बुझ्न गाह्रो भो। ढुक्क छ दुबै पक्ष, संघ–संस्थाका आयोजकहरु र हामी आम मानिसहरु।

आयोजकहरु, नेपालीहरु ढिलासुस्ती, खादा, भाषण र आसनको त्यति सारो बिरोध गर्दैनन भन्ने दुषित मानसिकताले ग्रस्त छन्। अनि हामी आम मानिस, नेपाली संस्थाको कार्यक्रम कहिले समयमा शुरु हुदैन किन भनेकै बेलामा पुग्ने ? आफूलाई धेरै पढ्यालेख्या भन्नेदेखि लिएर क्यानडाको पुरानो नेपाली संस्था भनी गर्व गर्ने सबै सबैमा यो रोग डर लाग्दो महामारी को रुपमा बिद्यमान छ।

केही बर्ष पहिले टोरोन्टो नगरपालिकाले आफ्नो आँगन अगाडी गर्न दिएको कार्यक्रम त्यस्तै खादा/आसन र भाषणका कारण ढिलो सुरु भएपछि नगरपालिका कर्मचारीले प्रोग्राम नसिद्धिदै बन्द गरिदिएको र पछि हामी आफू आफूमै बाझेको कुरा ताजै छ यो मनमा। स–साना नानीहरुलाई दिनभरी तयारी राखेर अन्त्यमा तिनका प्रस्तुति प्रस्तुत हुन नदिदा ति कलिला मनमा कस्तो भाव पैदा भए होलान ? रुग्ण आयोजकको सरोकारको बिषय होला यो कहिले ?

एउटा तितो अनुभव : एउटा विश्व शान्तिका पुजारीको कार्यक्रमको लागि आफ्नो १० बर्षे छोरोलाई कविता लेख्न लगाए तर कार्यक्रमको ढिलो सुरुवात र आपसी झै झगडाले त्यो बच्चो जो दिनभरि जसो कविता वाचनको तयारी गरिरहेको थियो, अन्त्यमा आयोजकहरुको सुस्तता र झैँ झगडाका कारण बाचन नै गर्न नपाई फर्कनु पर्यो । तत् पश्चात मेरो छोरोले कहिले कविता लेख्ने रुचि देखाएन ।

उ भित्र भर्खर भर्खर टुसाउन थालेको कवित्वरुपि टुसा केहि चेतनशुन्य प्राणीहरुद्वारा यतिकै निमोठ्ने कार्य भयो । हे के जातिका पुच्छरहरु हो, तिमीहरुलाई पो त्यो समयको, त्यो बाल्य भावको महत्व भएन तर म जस्ता अन्य कतिपय त जरुरी काम छाडेर पो आएका छौ नि ? अनि तिम्रा रोग्य मानसिकताको सिकार हामी किन हुने ?

अर्को रमाइलो प्रसंग, केहि समय पहिलेको कुरो हो एक जना भाईले फोन गरे, आउदो शनिबार कुनै खेलकुद सम्बन्धि पत्रकार सम्मेलन हुँदैछ दाई आइदिनु पर्यो भनि। एकछिन त अलमल्लै परे, पत्रकार त म होइन किन प्रेस कन्फ्रेन्समा बोलाएछन भनि ? सोधे, उनि भन्न थाले ‘दाई समाजका अरुपनि प्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रण गरेका छौं त्यसैले दाईलाई पनि निम्तो गरेको हो कृपया जसरी पनि आइदिनु होला।’ जिउ त्यसै त्यसै गजक्क गजकेर आयो, प्रतिष्ठित व्यक्तिको सूचिमा नाम परेको सुनेर यद्यपि प्रतिष्ठितहरुकै सूचिमा पर्नुपर्ने गरी त्यस्तो खासै कुनै काम गरेको जस्तो लाग्दैन तैपनि समाज विकासमा युवाहरुको योगदानलाई होस्टेमा हैसे गर्नुपर्छ भन्ने मान्यताले निम्तो स्वीकार गरे। 

खेलकुद पत्रकार सम्मेलन हुनु २/४ दिन अगावै मैले ती सञ्चालक भाईलाई ‘भाई, कार्यक्रम चाहिँ समयमा नै सुरु गर्नुहोला’ भनि सुझाव दिएको थिए । ‘तपाईंहरु युवा हुनुहुन्छ र केही नयाँ गर्दै हुनुहुन्छ, पहिलो कार्यक्रम समयमा र खेलकुदकै परिवेशमा रही सुरु गर्नुभयो भने यो कुरा आउदो पुस्ताको लागि एउटा उदाहरण हुनेछ’ सम्म भन्न भ्याएको थिए। खेल सम्बन्धि कार्यक्रम (जस बारे मलाई धेरै ज्ञान छैन) रहेकोले अन्य सर–सुझाव दिने त कुरै भएन, बढी जान्ने भै टोपलेको आरोप लाग्ला भन्ने डर।

माथि इमेलमा भन्या झैँ म अचेल यस्तो सामाजिक कार्यक्रमहरुमा धेरै जादिन, अथवा जानै मन लाग्न छाडेछ। कारणहरु धेरै छन । कार्यगत ब्यस्तता र पारीवारिक जिम्मेवारी र यस्ता कार्यक्रमहरुको सञ्चालन प्रक्रियाप्रति बिमती रहेरपनि जान कम गरेको हुँ। यति हुँदाहुदै पनि कहिलेकाही आफू पनि यस समाजको अभिन्न अङ्ग हु, जब गर्नेले यत्रो मिहिनेत र समय दिएर गरिरहेको छ भने नगर्ने वा गर्न नभ्याउने म जस्ताले उपस्थित मात्र भैदिएर भएपनि आयोजकको हौसला बढाउनु जरुरी छ भन्ने सोचले त्यस तर्फ डोर्याउछ।

त्यस माथि झन युवाबर्गले गरेका कार्यक्रमहरुमा अवश्य जानुपर्छ भन्ने सोचाई राख्दछु । हो, केही यस्तै सोच्दै त्यस दिन पनि यथा समय र स्थानमा पुगेको थिए। दिन थियो शनिबार, छोराको ट्युसन कैन्सील गरी, शहर बाहिर जाने प्लान पनि पछिलाई सारेर भनेको समयमा ११ बजे ट्याक्राक्कै कार्यक्रम स्थल पुगेको थिए ।

अचम्मै त लागेन तर पुग्नासाथ खल्लोपना महसुस भयो। आयोजक भर्खर भित्तामा पोस्टर टाङ्ग्दै रहेछन। छिन मै ती आयोजक भाई म सामु आएर ‘दाई, हेर्नुस न प्रमुख अतिथि नै आइपुग्नु भएको छैन त्यसैले ढिलो भयो भनी क्षमा माग्न थाले। मैले सम्झाए, केही छैन भाई प्रमुख अतिथि समयमा आएनन भने यहाँ उपस्थित मद्धे सबैभन्दा उमेरमा ठुलोलाई वा एउटा सानो नानीलाई भएपनि प्रमुख अतिथि बनाएर कार्यक्रम समयमा सुरु गर्ने परम्परा बसाउनुस र हेर्नुस अर्को पल्ट ती प्रमुख अतिथि कसरी समयमा न आइपुग्दा रहेछन । तर बिचरा ती युवा भाई । साह्रै टिठ लाग्यो, पुनः असमर्थता देखाउदै दाई म कसैलाई रिसाउने बनाउन चाहदिन बरु दाईले नै कुरा बुझिदिनु पर्यो भनि उल्टै मलाई कुरा बुझाउन थाले।

जेनतेन २० मिनट जति ढिला गरेर भएपनि प्रमुख अतिथि आईपुग्नु भयो र अब त कार्यक्रम सुरु हुने भो भनी ठानेर बसे। उदघोषकले माइकमा अब खेलकुद सम्बन्धि कार्यक्रम चलाउलान भनि पर्खेका म जस्ता फिस्टेहरुलाई त पुनः अचम्मित पार्दै अर्को आधा घन्टा आसन ग्रहण र भाषणको शिलशिला पो सुरु हुन्छ । ए भैरे । यो खेलकुद सम्वन्धी कार्यक्रमको निम्तोमा आएको म यो के देख्दै छु भन्दै तु कुलेलाम ठोके।

अब यहाँनेर प्रश्न के उठ्छ भने, के साच्चै त्यो कार्यक्रम सन्चालनको तरिका सही थियो त ? माफ गर्नुस म यहाँ ति बिचरा युवा भाई र उनको टिम, जो खेलकुदको क्षेत्रमा आउदो पुस्ताको लागि केही हुन्छ कि भनि लागि पर्याछन् लाई दोष दिन खोजिरहेको छैन, न नै व्यक्ति वा संस्था बिशेषको कुरा गर्या हो, मेरो अप्रसन्नता त ति १२ बर्षे कुकुर पुछ्रे नारानेहरुसित हो जो यतिका बर्ष बिदेश बसि सक्दापनी सुधारिन चाहदैनन्।

हाम्रो आफ्नै प्रबृति प्रति मेरो चित्त दुःखाइ हो। ढिलो आउने हामी नेपालीहरुको रोग र कुनै कार्यक्रममा हुने यस्ता अनुत्पादक कार्यहरुको म कुरा गर्दैछु । वर्षौ विदेशी भूमिमा बिताइसकेका हामीले कहिले समयको महत्व बुझ्ने? त्यस्तै जुन कामको लागि सर्व साधारण बोलाइएको हो, होस्टेमा हैसे गर्नको लागि उपस्थित गराइएको हो ती सबै सम्मानित पात्र हुन भनी हामीले कहिले बुझ्ने? कनेडियन सिस्टममा जसरी समयको महत्त्व छ अब त सिकौ समयको सम्मान गर्न र अर्काको महत्व बुझ्न।

उसै त कार्यक्रम ढिलो शुरु हुन्छ् तैपनी बल्लतल्ल सुरु भयो भनि बस्यो अनि सुरु हुन्छ लम्बे चौडे आसन ग्रहणको शिलशिला। यसै त ढिला सुस्ती, आसन ग्रहण र भासणबाट आजित म जस्ताहरुको उपस्थिति धेरै कम भैसकेको छ तर फेरि कुरा उहि कुकुरको पुच्छर । गनेर ३०/४० जना जति उपस्थित हुन्छन त्यसमा आधा भन्दा बढी उहीँ आसन पाउने आशामा आएका हुन्छन्। अनि मुर्कट्टो आयोजक यति पनि बिचार गर्दैन कि त्यहा आएका सबै सम्मानित र केही गरौ भन्ने उद्देश्यले उपस्थित भएका छन्।

म मान्छु ती संस्थामा बस्नेले आफ्नो समय र उर्जा म भन्दा केही बेँसि खर्च गरेका होलान त तिनलाई सम्मान पूर्वक नाम बोलाई उपस्थित भै दिनुभएकोमा धन्यवाद दिदै जहाँ हुनुहुन्छ त्यही आदरपूर्वक आसन ग्रहण गराइदिए त भै हाल्यो, किन अगाडी बोलाई कुकुर तिहार नै मनाउनु पर्यो र ? सम्झना रहोस् तिमी संस्था विशेषले गरेको कुनैपनि कार्यक्रममा जबसम्म जनसाधारणको उपस्थिति बाक्लो बनाउन सक्दैनौ ‘कार्यक्रम गरे’ भन्नू बाहेक केही हुदैन। अस्ति एउटा भाई सुनाउदै थिए, कुनै राहत कार्यको लागि रकम संकलन गर्ने कार्यमा सम्मानित भएर नाकका पोरा फुलाउदै अगाडि मञ्चमा बस्नेले एक सुको दिएनन् बरु एक सहभागीले चुपचाप राम्रै रकमले मद्दत गरे।

कहिलेकाही त लाग्छ हामी नारानेहरु त अलिक पढ्यालेख्या र जान्ने बुझ्ने मुर्खहरुको जमात त होइन ? एक विद्वान भन्दै थिए, माइक समाउन र आसन ग्रहण गर्न नदिने कार्यक्रममा त खासै जान रुचाउदिन । भो अब ? यद्दपि म स्वयम पनि अलिअलि त्रुटिहरु हुन्छन, मिलाउदै जाने हो भन्नेमा मान्यता राख्दछु तर अति गर्नु अत्याचार नगर्नु भन्नेमा पनि बिश्वास राख्दछु।

यति सब हुदाहुदै पनि यस्ता कार्यक्रममा सहभागी हुने म जस्ता आम मानिस सबैलाई हार्दिक नमन र आयोजकहरुको चेत पलाओस भन्ने कामना । धन्यबाद।

Leave a reply

HTML Tags are not supported

Post My Comment »