त्यसको परिणाम हो, ‘धर्ती अझै जीवित छ’

२८ जेठ २०७५

banner

डिल्ली राम अम्माई

बेल्जियम । आज मानव मानवताको सुन्दरकलालाई बिर्सेर मेसिनजस्तै एकल नृत्यमा व्यस्त भैरहेको छ । भाषामा मिठास भर्न सिपालु देखिए पनि व्यवहारिक संस्कार र नैतिक आचरणलाई अलिक विर्सदै गएको हो कि आधुनिक मानवले प्रश्नहरु निरन्तर जन्मिरहेका छन् । आधुनिक मानब बुद्धिले मानव मस्तिष्कलाई जडताबाट पर हुत्याई दियो र समबेदना सहितको भावनालाई जन्म गराईदियो।

त्यसैको अन्तर कुन्तरबाट मानवताको जन्म भयो र मानब जनावरको परिधिबाट उम्किन सफल भयो। जनावरको परिधिबाट निस्केको मानवले आफ्नो पहिचानलाई व्यापक बनाउदै लग्यो र विस्तारै आफ्नो बस्ती, आफ्ना कविला र आफ्नो सभ्यताको जगेर्नाको साथै सुरक्षा गर्ने हदसम्म विकसित गर्दै लाग्यो। यो नै मानब विकासको छोटो इतिहास हो।

हुन त जनावरहरुले पनि आफ्नो वुद्धि र विवेकको प्रयोग सीमित रुपमा प्रयोग गरिरहेका हुन्छन् । उनीहरु पनि आफ्नो समूहको कुनै सदस्य विपद्मा प¥यो वा म¥यो भने सके जति उपाय अपनाउँछन् वा शोक व्यक्त गर्दछन् । तर उनीहरुको यो कलाको अभ्यासले गुणात्मक विकास गर्न सकेको देखिदैन । गल्तीबाट शिक्षा लिदै आफूलाई विवेकशील प्राणीको रुपमा विकास गर्न सकेको देखिदैन तर, डार्विनको खोज अनुसार बाँदरको एउटा कविलाबाट त्यसको क्रमभंग भयो र त्यसले निरन्तर विवेक र बुद्धिको उचित संयोजन गर्दै मानवताको अहम् महासमरमा गुणात्मकताको पहिचान बनाइसकेको छ।

त्यसैले मानवले आफ्नोमात्र नभएर सम्पूर्ण जगतको उचित सुरक्षा, न्यायोचित प्रवन्ध, सम्पूर्ण जगतको संरक्षण सहित मानवीय नियन्त्रण कायम गर्ने बाटोलाई समात्न कोशिस गर्दै गैरहेको छ।

हामीले अहिलेसम्म त्यहि संयोजनको कारणले हाम्रो धर्तीलाई जीवित देख्न सकेका हौं । यो धर्तीलाई वालुवाको थुप्रोमा परिणत गर्ने हतियार पनि मानवको बुद्धिले निर्माण ग¥यो। धर्तीको सम्पूर्ण संरचनालाई ध्वस्त पार्ने स्तरका युद्धहरु पनि मानव बुद्धिको दुरुपयोगले निम्तिन नखोजेका हैनन्। तर विवेकको फ्यूजनले फेरि पनि त्यो आवेग उन्मुख बुद्धि र त्यसद्धारा निर्मित भयलाई सन्तुलनमा ल्याउन सफल भयो । मानवताका नाराले संसार गुञ्जायमान भयो।

भियतनाममा एउटा वस्ती जल्दा अमेरिकन जनता रोए, चिच्च्याए। कोरियनद्धीपमा मजदूरहरुको कत्लेआम हुँदा सिंगो यूरोप साथै विश्वले उत्पीडक राष्ट्र प्रमुख विरुद्ध आवाज घन्काए । इराकी जनतासँगै लण्डन रोयो, पेलिस्टाइन पोलिँदा विश्वका जनताले राष्ट्रिय पहिचान मागे र ऐक्यवद्धता जनाए । सिक्किम बेचिदा नेपाल र छिमेकीहरुले न्याय र सम्प्रभुताको आवाजलाई मजबूद वनाए । १२ वर्षे जनयुद्धकालमा पेल्ने र पेलिनेबीचको दर्द देख्न नसकेर सिंगो विश्वका मानवतावादीहरुले व्यवस्थाको सन्तुलित समायोजन, विवेकपूर्ण न्यायनिरुपणको आवाजलाई संसारको कुनाकुनाबाट एउटै आवाज बनाएर सम्वन्धित पक्षहरुलाई दवाव दिए । क्रमश शान्तिको स्थापनामा नयाँ आशाहरु पलाए। कोरियन प्रायद्विपमा पनि त्यसको अभ्यास हुँदै छ। यी र यस्तै आस्थाले नै मानवताको जन्म भएको हो र त्यसको सार्थकतालाई हाम्रो बुझाईको व्यापकताले समेट्न सक्छ कि सकिदैन हामीले समिक्षा गर्न जरुरी छ।

मानवताको सार्थकता र त्यसभित्र नीहित व्यापकताको विकास केवल मानव वा अझ भनौं कविला युगबाट आफ्नो क्षेत्रको असीमित विकासक्रमको बाटोलाई प्रष्ट्याउदै प्रारम्भिक चरणबाट प्रवेश गरेको हो । त्यो यु्गभन्दा अगाडि त्यसको उत्तर आधुनिक वा भनौ परिवारिकतामा सीमित बुद्धि र विवेक केवल भोजन र सुरक्षा चिन्तामा सीमित थियो र त्यसले धेरै युगहरुसम्म आफ्नो गन्तव्यलाई यथास्थितिबाट माथि उठाउन सकेको थिएन।

तर अहिले त्यसको व्यापकताले मावनता भित्रका सम्पूर्ण क्षेत्रहरुलाई हिजोको परिभाषाभित्रबाट बाहिर निकाल्न प्रयासरत छ । त्यसले आफ्नो क्षेत्रलाई मानव जगतबाट क्रमश पशु जगत, प्राणी जगत, प्रकृति, पर्यावरणीय क्षेत्रबाट पनि अझ पर ब्रमाण्डीय परिघटनाबाट यस धर्तीमा पर्न सक्ने प्रभावहरुको सुक्ष्म अध्ययन र त्यसबाट यो धर्तीको सुरक्षा चिन्तातर्फ निर्दे्िशत गर्न प्रेरित गरिरहेको छ । मानवताको श्रृजनाका प्रमुख तत्वहरु नै वुद्धि, विवेकलाई भावनाको लेपले सिंगारिएको कलाभित्रका कलाहरु हुन् भन्ने कुरा आधुनिक मानब जागरणले प्रमाणित गर्दै लागेको देखिन्छ। 

भनिन्छ, ‘विवेक नभएको मानिसलाई उत्कृष्ट प्राणी मान्नु हुदैन । दावी गरेपनि तिनीहरुलाई जनावरकै श्रेणीमा राख्नु पर्दछ ।’ यो भनाईले प्रष्ट हुन्छ कि सम्पूर्ण मानवहरुमा धेरथोर वुद्धि हुन्छ नै तर सवैमा विवेक हुदैन अर्थात् बिबेकको दायरा पनि समाज बिकास अनुशार फराकिलो हुदै जानु पर्छ । त्यसमा कर्मको महत्वपुर्ण स्थान हुन्छ। सवै मानिस कर्मले नै आफ्नो चरित्रको निर्माण गर्छ । हिजो आफ्नो वर्ग, समाज र देश भित्रको चिन्ता गर्ने मानिसलाई विवेकशिल नागरिकको दर्जा दिइन्थ्यो।

सवैले त्यसैलाई विवेकशिल मानवको रुपमा चिन्दथे । तर अहिले त्यसको परिभाषामा व्यापक फेरवदल आएको छ । उसले वर्गको मात्र हित हैन, आधारभूत र वहुमतको हितलाई ध्यान दिनुपर्छ । देश मात्रको हैन सम्पूर्ण राष्ट्रहरु विशेषगरी उत्पीडनमा परेका राष्ट्रहरुको हितलाई ध्यानदिनु पर्छ । अझ अगाडि वढेर आधुनिक परिवेशमा मानवताले सम्पूर्ण जगत र त्यहाँ रहेका प्रकृति प्रदत्त जीव, जन्तु जनावर र पर्यावरणको चिन्ता गर्दै त्यसको सुरक्षा र हितलाई सम्बोधन गर्नु जरुरी हुन्छ । त्यसैले भन्न सकिदैन कि मानवताको विकासले आफ्नो क्षेत्रलाई कहाँसम्म पु¥याउने हो ?

रुसो, अरिस्टोटल, प्लेटोदेखि गान्धी, माक्र्स र लास्कीसम्मका दर्शनहरु मानवताको विकासको दौरानमा इतिहासको समिक्षा गर्दै अगाडि बढेका दर्शनहरु हुन् । हुन त त्यस शिलशिलामा आफ्नो व्यक्तिगत समिक्षा, अनुभव, तर्क र भावनाहरु पनि समेटिएका छन् । दर्शनको सम्पूर्ण क्षेत्रप्रति रुचि राख्ने मावनताको विद्यार्थीहरुलाई एउटा विशाल क्षेत्र प्रदान गरी दिएको छ । मावनताको विकासको लागि इतिहासको समिक्षात्मक सांकेतिक बाटो दिएको छ।

कतिले त्यसको अंशलाई समातेर आफूलाई शहिद बनाए तर सम्पूर्णतालाई समात्न सकेनन् । कतिले भावनाबाट दार्शनिक सारलाई निचोड निकाल्ने प्रयत्न गरे तर झन् अध्यारो गुफा भित्र पसि गुमनाम भए । तर कतिपयले सारको समालोचनासहित इतिहासले दिएको जिम्मेवारीलाई महसुस गरी आफ्नो रुचिलाई मानवताको यज्ञकुण्डमा समाहित गराउदै आएका छन् । त्यसको परिणाम हो धर्ती अझै जीवित छ । आशा छ, अझै धर्ती यहि बुद्धि र विवेकको द्धन्दबाट खारिएर नयाँ नयाँ अभ्यासहरुको उद्घोषसहित अगाडि र अझै चीरकालसम्म रहिरहनेछ । बैज्ञानिक स्टेफन हकिंगको सुरक्षित संसार प्रतीको चिन्ता त्यसैको परिणाम थियो।

यहि आभाषसहित महान् दार्शनिक प्लेटो, लास्की र माक्र्सले आर्थिक आधारमा वर्गबिहीन समताबादी र आदर्श समाजको सुन्दर परिकल्पना गरेका हुन् । ति उच्च मावनताबाट निर्देशित दर्शन र विचारहरु हुन्। उनीहरुको विश्लेषण अनुसार समस्त जनता, यो धर्ती र यसको परिचक्रलाई समबेदित अवधारणा अनुसार विश्लेषण गरेका छन्।

साथै भोलिका सुन्दर समाजको श्रृजनालाई अन्तिम लक्ष्य बताउँदै सम्पूर्ण विश्व, ब्रमाण्ड, सम्पूर्ण विश्वका नागरिकहरुको सामुहिक हितको लागि हुनुपर्छ भन्ने धारणा वैज्ञानिक र दार्श्िनकहरुले आफ्नै किसिमले लिपिवद्ध गरेका छन्।

उनीहरुको समान धारणा के छ भने, एउटा इजिप्टको नागरिक रसियाको बाटो काट्दा दुर्घटनामा प¥यो भने पहिलो पटक उक्त दुर्घटना देख्ने मानिसको मनमा कुन विचारले मनलाई तरंगित बनाउँछ, त्यो नै मानवता हो । अथवा त्यसपछि त्यो दुर्घटना देख्ने मानिसको मनमा यो कुरा धर्मको हो ? कुन वर्गको हो? कुन देशको हो ? आदि कुराहरु मन आउँछ कि त्यसलाई कसरी वचाउने भन्ने कुरा मनमा आउँछ ? त्यहि नेर भेटिन्छ मानवता । त्यहि मानब भावना भित्रको पहिलो तरंग हो मानवता।

हाम्रा मान्यजनले हाम्रो सत्कारलाई आत्मसात गर्दै भन्ने गर्दछन, ‘भाग्यमानी भए, बुद्धिमान भए आदि....।’ उनीहरुले बुद्धिभित्र विवेक समाबेश होस् भनेर त्यसो भनेको हुनुपर्छ । खाली बुद्धि त चोरको पनि हुन्छ । फटाहाले पनि बुद्धिले नै धन जम्मा गर्न सक्छ । एउटा आतंकवादीको पनि बुद्धि हुन्छ र कट्टरपन्थी धार्मिक गुरुहरुको पनि धर्म विस्तार गर्ने सम्वन्धमा बुद्धि हुन्छ तर विवेक भएन भने त्यो बुद्धिले रचनात्मक दिशा लिन सक्दैन र त्यसले सभ्यताको बाटोबाट मावनताको अन्तिम बाटोतर्फ आफ्नो भावी दिशा तय गर्न सक्दैन।

त्यसैले एउटा सृष्टिको सवैभन्दा चेतनशील प्राणीले बुद्धिलाई विवेकबाट निर्देशित गराउने जमर्को गर्नेपर्छ। आफ्नो कार्यको जिम्मेवारी सामुहिक वोधका साथ आफ्नो काँधमा लिनै पर्छ । नकरात्मक टिप्पणीलाई सकारात्मक अभ्यासमा बदल्ने चेष्टा गर्नैपर्छ । आफ्नो बाटोलाई विकल्प रहित भनेर अन्तत्वगत्वा निरपेक्ष र निर्विकल्प दिशातर्फको एकल यात्रालाई रोक्नै पर्छ।

आवेगले संसार ध्वस्त हुने थियो दोश्रो विश्वयुद्धमा। किनकी ६ पटक संसार ध्वस्त पार्ने हतियार वनिसकेका थिए। तो आवेगलाई एउटै चीजले बचाएको थियो, त्यसैको नाम हो विवेक । यो आधा जति भावजन्य हो र आधाजति कर्मजन्य कला । यसको प्रयोग श्रृजनात्मक, विकासशील र उज्यालोतर्फ उन्मुख छ । साराशंमा भन्नुपर्दा मानवताको भु्रण नै विवेक हो जसको सीमालाई वाद वा धर्मले घेरावन्दी गर्न सक्दैन । बिबेकपूर्ण मानबता नै सवै विभेदिकरणको विलोपिकरण हो । यो बुद्धिको बिबेकसंगत ढंगले प्रयोग गर्ने कलाहरुको पनि कला हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »